कोरोना महामारीमा कुस्मामा लाखे नाँच प्रर्दशन,बन्द गर्न स्थानिय प्रशासनको निर्देशन


दुर्गाप्रसाद शर्मा,पर्वत ।

कोरोना महामारीका कारण भिडभाड हुने कार्यक्रम, जात्रा, पर्व रोकिएका बेला कुस्माबजारमा नेवार समुदायले शनिबार लाखेनाँच प्रर्दशन गरेका छन । नेवा साँस्कृतिक समुह कुस्माले हरेक बर्ष जस्तै यस बर्ष पनि नाँग पञ्चमीका दिन देखि बजारमा लाखे नाँच प्रर्दशन गरेको हो ।

कुस्माको बड्गाउँबाट शुरु भई बजार परिक्रमा गरेको नाँच हेर्न ठुलो संख्यामा स्थानियबासी र बालबालिका सहभागी भएपछि स्थानिय प्रशासनले प्रर्दशन गर्न रोक लगाएको छ । लाखे नाँचेको हेर्न कुस्माबजारका चोकचोकमा ठुलो संख्यामा मानिसहरु जम्मा भएका थिए ।

बिगतका बर्षहरुमा जस्तै बालबालिका र अन्य समुदायको समेत सहभागिता भएपछि भोली देखि प्रर्दशनमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताउनुभयो ।

नेवाँ साँस्कृतिक समुहका सल्लाहकार बिष्णु नेवारले स्थानिय प्रशासनलाई जानकारी दिएरै जात्रा देखाइएको उहाँले बताउनुभयो । भीड बढेका कारण आइतबार देखि शुरु गरेर सोही ठाउँमा अन्त्य गरिने बताउनुभयो । ‘एकोहोरो मेट्नका लागि शुरु गरेकै ठाउँमा सक्छौ, भीड हुँदैन।’ उहाँले भन्नुभयो ।

पर्वत सदरमुकाम कुस्मा बजारमा बसोबास गर्दै आएका नेवार समुदायले आफ्ना परम्परागत र सांस्कृतिक ७ प्रकारका जात्राहरु भुते औशीदेखि सुरु गरेका छन्। भूते औँसीको दिनबाट जात्रा प्रारम्भ भई कृष्ण जन्माष्टमीमा समापन हुने गरी हरेक बर्ष जात्रा निकाल्ने परम्परा रहेको नेवा सांस्कृतिक समूहका अध्यक्ष शिव श्रेष्ठले बताउनुभयो ।

‘हामीले मान्ने भूते औँसी कहिले साउनमै पर्छ कहिले भदौमा पनि पर्छ। भूते औँसीकै दिनबाट हाम्रा सांस्कृतिक जात्रा र भगवानका चरित्र देखाउने गरेका छौँ।’ उहाँले भन्नुभयो

कुस्मामा वर्षौँदेखि भूते औँसी, लाखे नाच, रोपाईँजात्रा, गाईजात्रा, बाघजात्रा, हनुमानजात्रा र कृष्णलीला देखाउने गरिएको छ। भूते औँसीमा भूतलाई बजारमा डुलाएपछि साँझ नदी वा खोला किनारमा लगेर सेलाउने गरिन्छ। लाखे नाच नागपन्चमीबाट सुरु भई जनै पूर्णिमामा सकिन्छ।

जनैपूर्णिमाको भोलिपल्टबाट रोपाइँजात्रा, गाईजात्रा, बाघजात्रा, हनुमानजात्रा र कृष्णलीला क्रमिक रुपमा देखाउने गरिन्छ। अन्तिम दिन कृष्ण जन्माष्टमीको दिनमा झाँकीसहित कृष्णलीला देखाउँदै बजार परिक्रमा गरेपछि जात्राहरु सकिन्छन्।

नेवारका प्राचीन कला र संस्कृतिको संरक्षण गर्न कुस्मामा नेवा सांस्कृतिक समूह सक्रिय रहँदै आएको छ । समूह मार्फत नै नेवार समुदायका बालबालिकालाई जम्मा पारेर आफ्ना परम्परागत कलाका बारेमा जानकारी गराउँदै जात्रा तथा अन्य नाच प्रदर्शन गर्न पनि सिकाउने गरिएको समुहका सदस्य तथा शिक्षक राम श्रेष्ठले बताउनुभयो ।