लकडाउन नहुँदाको डर


सरकारले दुई दिनअघि अर्थात् साउन ७ गतेदेखि लकडाउन अन्त्य भएको घोषणा गरेको छ । घोषणा गरेकै भोलिपल्ट बुधबार चिनियाँ व्यापारी र रौटहटका एक गरी दुई जनाको मृत्यु भएको छ । प्रदेश–२ को वीरगन्ज र प्रदेश–१ प्रहरी कार्यालयका चार प्रहरीलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ । राजविराजमा अनिश्चित्कालीन निषेधाज्ञा जारी भएको छ । पछिल्लो अवस्था हेर्र्दा सरकारले हतारमा लकडाउन अन्त्य गरेको हो कि भन्ने देखिएको छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्णरूपमा लकडाउन अन्त्य गर्न नहुने भन्दै ट्विट गर्नुभएको मननीय छ । मुलुकको आर्थिक अवस्था कमजोर हुँदै गएको र ज्याला–मजदुरी गरेर खाने वर्गलाई रोगले भन्दा भोकले मर्ने अवस्था आएको सन्दर्भमा लकडाउन हटाउनु स्वाभाविकै देखिए पनि आम नागरिकमा एक प्रकारको गलत प्रभाव परेको देखिन्छ, कोरोना भाइरस समाप्त भइसकेको अनुभूतिका साथ सर्वसाधारण सडक–बजारतिर दिनचर्यामा लागेका देखिन्छन् । कतिपय विज्ञले अहिले नै लकडाउन अन्त्य गर्न नहुने बताइरहेका बेला भएको सरकारको यस निर्णयले असन्तुष्टि पनि सिर्जना गरेको छ ।

सरकारले भदौ १ गतेदेखि हवाई यातायात सञ्चालन गर्ने घोषणा पनि गरिसकेको छ । १ गतेबाटै लामो दूरीका सवारीसधान सञ्चालन हुने भएका छन् । विद्यालयको भर्ना प्रक्रिया सोही दिनबाट शुरू हुँदै छ । परीक्षा लिने र सबै शिक्षालयले पढाइबाहेकका गतिविधि सञ्चालन गर्ने अनुमति पाइसकेका छन् । भोज–भतेर नगर्ने गरी होटल सञ्चालनमा आएको छ । यसरी भीडभाड हुने स्थानहरू सञ्चालनमा आएपछि राजधानीलगायत देशभर पुनः कोरोना संक्रमितको संख्या बढ्न सक्ने आशंका बढेको छ ।

सरकारले विदेशको सिको गरेर लकडाउन हटाए पनि स्वाथ्यसम्बन्धी तयारी शून्य छ । उपत्यकामा ह्वात्तै संक्रमित बढेमा उनीहरूलाई राख्ने अस्पताल छैन । स्थानीय तहले अहिलेसम्म क्वारेन्टाइन बनाउन सकेका छैनन् । स्वास्थ्य सामग्री र आश्यकताअनुसारको भेन्टिलेटर छैन । यस्तो अवस्थामा विदेशीको देखासिकीमा लकडाउन हटाउनु घातक हुन सक्ने अवस्था छ । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा हालसम्म १८ हजार २ सय ५० कोरोना संक्रमित छन् । तीमध्ये झन्डै १२ हजार ८ सय जना निको भएर घर फर्किसकेका छन् । दैनिक झन्डै १ सय ५० को हाराहारीमा संक्रमित देखिन थालेको छ । यता, हरेक दिन उपत्यकामा संक्रमितको संख्या बढ्दै गएको छ ।

तथ्याङ्कलाई हेर्दा पूर्वतयारी नगरी हतारमा लकडाउन हटाउनु खतरा हुन सक्ने देखिएको छ । विश्व स्वास्थ्य संगठनले सन् २०२१ अघि कोरोना भाइरसविरुद्धको खोप बन्ने सम्भावना नभएको जनाइसकेको छ । अनुसन्धानकर्ताहरूले खोप निर्माणमा सफलता प्राप्त गरिरहे पनि तत्काल यो आम प्रयोगमा आउने सम्भावना छैन ।

यस्तो भयावह अवस्थामा किन लकडाउन हटाइएयो भन्ने विषय सर्वत्र चासो देखिएको छ । त्यसैले लकडाउन हटाउनुअघि सम्बन्धित मन्त्रालय, सरोकारवाला, विज्ञलगायतसँंग छलफल गरी निर्णय गरेको भए हतारमा गरेको निर्णयले पछि पछुताउन पर्ने थिएन । अब, सरकारले निर्णय लिइसकेको अवस्थामा नागरिकले त्यसको पालना गर्ने तर साथमा मास्क, सेनिटाइजर, सामाजिक दूरी आदिको कडाइका साथ पालना गर्नुको विकल्प छैन ।