मिडियाको मर्म


विश्वव्यापीरूपमा फैलिएको कोरोना संक्रमणका कारण कैयन पत्रकार र प्रकाशन गृहहरू आर्थिक संकटमा छन् । खास गरी व्यक्तिगतस्तरको सानो लगानीमा सञ्चालित मिडिया बन्द भएका छन् भने ठूला भनिएका प्रकाशन गृहले पनि आफ्ना प्रकाशनहरू सदाका लागि बन्द गरिदिएका छन् ।

कतिले तत्कालको घाटालाई मात्र हिसाब गरेर कोरोनाको महामारी चीनमा फैलिएसँगै नेपालका पत्रकारका सुविधा कटौती गर्न थाले । असहज परिस्थिति सहेर प्रकाशनलाई निरन्तरता दिने र विगतको ठूलो लाभलाई बिर्सेर पत्रकारको रोजीरोटी खोस्दै मिडिया नै बन्द गर्ने दुई थरी प्रकाशन गृहलाई विवेकशील पाठक–स्रोता–दर्शकले पहिचान गर्नैपर्छ ।

यस अवस्थालाई प्रत्यक्षरूपमा नियालेका तर हाल विदेशमा बसेका नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल, इन्जाले कोरोना महामारीका कारण आर्थिक संकटमा परेका नेपाली पत्रकारलाई सहयोग गर्न विश्वव्यापी अभियान शुरू गरेको छ, विश्वव्यापीरूपमा चन्दा उठाउँदै छ ।

इन्जाले अभियान थालेको दोस्रो दिनसम्ममा २ हजार ४ सय ११ डलर जम्मा गरेको समाचार सार्वननिक हुनुले पीडित पत्रकारप्रति सहानुभूति राख्नेको समूह ठूलै रहेको प्रस्ट हुन्छ । इन्जाको अल्पकालीन अभियानअन्तर्गत खोलिएको गोफन्ड खातामा सो रकम जम्मा भएको छ ।

तर, यो सहयोगका लागि सबै पीडित पत्रकारले फाराम भरेर सार्वजनिकरूपमै इन्जासम्म पुग्न सक्ने अवस्था अझै देखिँदैन । किनभने सबै पत्रकारले खुलेर पीडा देखाउने र बाहिर आउन सक्ने अवस्था छैन । इन्जाको अभियान सराहनीय हुँदाहुँदै पनि पत्रकार आफ्नो खरायसी समस्या बाहिर ल्याउन चाहँदैनन् ।

विपद्मा परेका पत्रकारका लागि नेपाल पत्रकार महासंघले इन्जालगायतका मिडियासँग सम्बद्ध संघ–संस्थाबाट सहयोग जुटाउँदै कोष खडा गर्ने घोषणा गरिसकेको छ । मुलुकका १३ हजारभन्दा बढी पत्रकारको छाता संगठनमा असहज परिस्थितिमा परेका पत्रकारका लागि कोष खडा हुनु स्वागतयोग्य छ ।

तर, महासंघले राज्यको नीतिगत व्यवस्थामै सुधार ल्याएर पत्रकारको पक्षमा निर्णय गराउनु अझ बढी दीर्घकालीक र असरदार उपलब्धि हुने थियो । पत्रकारलाई सुविधा दिने विषयमा राज्यका निकायहरू किनारामा उभिए पनि कारबाही चलाउने प्रक्रियाले भने तीव्रता लिएको छ । यसैबीच, नेपाल प्रेस काउन्सिलले सूचना दिने संयन्त्र तय गर्ने र सूचना तोडमोड भयो भन्दै सयौं मिडिया र मिडियाकर्मीलाई कारबाही चलाएको छ । कारबाहीकै कारण केही सञ्चार संस्था बन्द भएका छन् ।

कोभिड महामारीले नेपालमा मिडियाले व्यावसायिक स्वरूप ग्रहण गर्न नसकेको प्रमाणित भएको छ । केही मात्रामा व्यावसायिक विकासका छनक देखिन थालेका बेला अखबार र पत्र–पत्रिका डिजिटल माध्यमका कारण धराशयी बनिरहेका थिए, प्रविधिको परिवर्तनले पुरानो विकास संयन्त्र कमजोर हुँदै थियो । यसैबीच, कोरोना भाइरसको महामारीले प्रेस जगत्को व्यावसायिक विकासमा तगारो लगाउने काम ग¥यो ।

पत्रकारले जे–जति तलब सुविधा पाउने गरेका थिए, त्यसमा कटौती हुन पुग्यो भने हजारौं पत्रकारको जागिर नै समाप्त भयो । यस्तो अवस्थामा सहयोगी हातहरू बाहिरबाट जति देखिएका छन्, आवश्यकताको दाँजोमा यो अत्यन्त न्यून छ । राज्य पक्षबाटै लोकतन्त्रका प्रतिरक्षक पत्रकारको सुरक्षाका लागि ठोस कदम नचालिने हो भने राजनीतिक व्यवस्थाको सफलतामा समेत नकारात्मक असर पर्नेछ ।