ज्यानमारा बन्दै तुइन : जसले घच्घच्याए, उनैको गयो ज्यान


न्युज अफ नेपाल,हेटौँडा ।

उनी राप्ति खोलापारि लालझाडीमा रहेको खेतमा जान लागेका थिए । तुइन चढ्न खोज्दा चिप्लिएर उनी करिब १५ फिट तल खसे, ढुंगामा बजारिएपछि बृद्ध शरीर गम्भीर घाइते भयो । तुइन सररर… गुडेर पारि पुग्यो ।

तुइनबाट मानिस लडेको देखेर पारिपट्टिका स्थानीय युवाहरु दौडिएर आइपुगे । त्यहाँ उनको दाहिने खुट्टामा लगाउने चप्पलमात्र थियो । ती युवाहरु हतारहतार तुइनबाटै वारि आए । घाइते उनलाई बोकेर सडकसम्म उकाले ।
नजिकै रहेको नेपाली सेनाको एम्बुलेन्स त्यति नै खेर त्यहाँ आइपुग्यो ।

उनलाई उपचारका लागि हेटौंडा अस्पताल पु¥याइयो । त्यहाँ उपचार सम्भव हुन सकेन । त्यसपछि हेटौंडा–११ मा रहेको चुरेहिल अस्पताल लगियो । त्यहाँ पनि सम्भव भएन । भरतपुर लैजाने क्रममा उनको मनहरी पुग्दानपुग्दै ज्यान गयो ।
तीन दिनदेखिको अविरल वर्षासँगै बाढी आएपछि हेटौंडा–१, चौकीटोलका ७७ वर्षीय कृष्णप्रसाद पराजुलीले यसरी ज्यान गुमाउनु परेको हो ।

राप्तिखोला तर्न नसकेपछि लालझाडी पुग्न उनी चौकीटोल र मैनटार जोड्ने तुइनकै सहारा लिन पुगेका थिए ।२०४८ सालमा उक्त स्थानमा तुइन राखेर स्थानीयलाई राप्तिखोलाबाट वारपार गर्न सहज बनाउन हेटौंडा सिमेन्ट उद्योगलाई घच्घच्याउने र त्यसको नियमित मर्मतसम्भार गर्ने कार्यमा पराजुली सक्रिय रहँदै आएका थिए । बिडम्बना, त्यही तुइनले उनको ज्यान लियो ।

तीन दशकदेखि स्थानीय तुइनकै भरमा छन् । विद्यालय आवतजावत गर्न बालबालिकाले पनि त्यही तुइन नै चढ्नुपर्छ । उक्त स्थानमा २०६७ सालमा झोलुङ्गेपुल बनेपछि केही सहज भए पनि पक्की पुल नभएर सवारी आवागमन सहज नहुँदा कतिपय अबस्थामा एम्बुलेन्स उपलब्ध गराउन नसकिँदा बिरामीले अकालमै ज्यान गुमाउनुपर्ने अबस्था आएको स्थानीय बताउँछन् ।

‘भन्नलाई हेटौंडा उपमहानगरपालिका वडा–१ भनिन्छ । तर, सहज आवागमन गर्न यातायात साधन जानसक्ने अबस्था छैन,’ वडाध्यक्ष सबिन न्यौपानेले उक्त स्थानबाट मैनटार, लालझाडी, नकौली, घ्याङ्सिङ्टारलगायत १९ नम्बर वडाहुँदै सरिखेतसम्म जोडिने हुँदा पक्की पुल राख्दा धेरै जनता लाभान्वित हुने बताउनुभयो । तर, वर्षौैदेखि पक्की पुल माग गर्दै आए पनि हालसम्म बन्न नसकेको उहाँको गुनासो छ ।

‘यस वर्ष बागमती प्रदेश सरकारले वहुवर्षीय ठेक्का लगाउने गरी पुलका लागि एक करोड विनियोजन गरेकोमा हामी खुशी छौं,’ वडाध्यक्ष न्यौपानेले उक्त स्थानमा चाँडै पक्की पुल बनाउनुपर्ने माग गर्नुभयो ।उक्त स्थानमा पुल बनाउन भौतिक पूर्वाधार मन्त्रालयले डिजाइन गरिसकेको छ । तर, हालसम्म पुल निर्माण अगाडि बढेको छैन ।

गत वर्ष तुइन हटाउन प्रदेश सरकारले जोड गरे पनि स्थानीय विकल्पबिना तुइन हटाउन नदिने अडानसाथ तुइनबाटै यात्रा गर्दै आएका थिए ।तर, मंगलबार उक्त दुर्घटना भएसँगै वडाध्यक्ष न्यौपानेले बुधबार विहान आफैं गएर तुइनको बकेट झिक्नुभएको छ । उहाँले तुइनको बकेट झिकेर तारसमेत निकाल्न प्राविधिक टिमलाई जिम्मा दिनुभएको छ ।

तारसमेत झिकेर सुरक्षित तरिकाले राखिने वडाध्यक्ष न्यौपानेले बताउनुभयो ।मंगलबार दिउँसोसम्म प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेल र भौतिक मन्त्री रामेश्वर फुयाँल विभिन्न मिडियालाई अन्तर्वार्ता दिएर बुधबार रातिसम्म तुइन हटाउने निर्देशन दिन व्यस्त देखिनुहुन्थ्यो ।

नेपालका ३८ औं प्रधानमन्त्री केपी शर्माओलीले अघिल्लो पटक प्रधानमन्त्री पदमा बहाली गर्दा २०७२ असोज २५ मा दुुई वर्षभित्र तुइन विस्थापन हुने गरी मन्त्रिपरिषद्बाट निर्णय गराएर सम्बन्धित निकायलाई निर्देशन दिाुभएको थियो । प्रधानमन्त्री ओलीले आफ्नो एक महिनाको तलब थप गरी तुइन विस्थापन कोष स्थापना गर्ने घोषणा गर्नुभएको थिए । तर, मंगलबार तुइनबाट लडेर पराजुलीले ज्यान गुमाउनुभएको छ ।

२०७२ माघ १७ गते प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको अध्यक्षतामा सम्बद्ध निकायका प्रमुखसहित बैठकले तुइन भएका ठाउँमा झोलुङ्गेपुलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) २०७३ असारसम्म तयार पार्ने र २०७४ असारसम्ममा निर्माण गरिसक्ने निर्णय गरेको थियो ।