दुर्घटनाको संघारमा राजनीतिक जेट



  • बालकृष्ण मैनाली

नेपालमा २०४६ सालपछिको दलीय इतिहासलाई हेर्दा कुनै पनि दलमा सामान्य विवादको जन्म हुनासाथ सो विवादलाई आपसमा मिलाउनुको साटो टुक्रा गराइछाड्ने प्रवृत्ति हाबी भएको प्रत्येक जनसँग अनुभव छ । चाहे त्यो जुनसुकै दलीय नामधारी किन नहोस्, धुजाधुजा हुन र टुक्रिन कतै माथापच्ची गर्नै पर्दैन । एक–आपसमा स्वार्थ बाझिने खालको विषय कसैले पस्किदिने र बाझिएको स्वार्थलाई आफ्नो अनुकूल खेलाउन चाहने स्वदेशी वा विदेशी शक्तिले सामान्य चलखेल गर्नासाथ दलहरु टुक्रिन केही बेर पनि लाग्दै लाग्दैन । वर्तमानमा नफुट्ने सवाललाई लिएर भएका फरक–फरक माथापच्चिसीहरु थुप्रै पटक मञ्चन भैसकेका छन्, तथापि मञ्चन अभैm जारी छ । अभैm जनजनको इच्छा एकढिक्का भएर जनजनको वास्तविक समस्यालाई सम्बोधन गर्न वार्ता सार्थक बनोस्, जनजनको कामना रहिआएको नै छ ।

अढाइ वर्षअघि भएको वामएकताले पुनः यस्तो नियति भोग्नु नपरोस् भनी प्रायः सबै जनजनको शुभेच्छा देखिएको थियो र सो अझ पनि कायमै छ । विगतको एकताले आजको दिनसम्म आइपुग्दा देशमा अनुभूति हुने गरी केही परिवर्तन हुने कुरामा जनजन विश्वस्त देखिएका थिए । कम्तीमा देशमा भ्रष्टाचार गरिने कार्यमा धेरै प्रतिशत कमी आयो । तस्करहरुको मनोबल गिरेको छ । गैरकानुनी सिन्डिकेटको अन्त्य भएको छ । कानुनको शासन स्थापना भएको छ । लगानीकर्ताहरुको लगानी डुब्दैन ।

अवसर पाउँदा र दिँदा पनि पाइलटद्वयले जेटलाई सफल अवतरण गराउँदैनन् भने एकातिर जहाजभित्रै रहेका यात्रुहरुमध्ये कोही पाइलटको रुपमा प्रकट भएर जहाजलाई अवतरण गराउनेछन् । यदि जहाजभित्र अन्य पाइलटको उपस्थिति रहेनछ भने पनि यात्रुका परिवारका सदस्यहरु फाइटर जहाजसहित आउनेछन् र धर्मराइरहेको राजनीतिक जहाजलाई चुम्बकीय औजार प्रयोग गरी अवतरण गराउनेछन् ।

वैदेशिक सहयोगको पूरापूर पारदर्शितासहित सदुपयोग हुन थालेको छ आदी भन्ने खालका परिवर्तनको अभिलाषामा जनजनहरु थिए । विडम्बना, स्थानीय निकाय निर्वाचन भएको साढे तीन वर्ष र संघीय निर्वाचन भएको तीन वर्ष बित्न लाग्दासमेत यस किसिमका कामको संकेतसम्म देख्न पाइएको छैन । वडा–वडामा वा गाउँपालिकामा टाँगिएका नागरिक बडापत्रको सूचना र प्रतिबद्धताहरु ट्वाँ परेर नगरिक र सेवाग्राहीलाई गिज्याइरहेका छन् । नागरिक बडापत्रमा उल्लेख भएका कुराहरु अक्षरशः पालना भएका छन् भन्ने कुराहरु प्रायः कुनै पनि सेवाग्राहीको मुखबाट विरलै सुन्न पाइन्छ । अहिलेदेखि स्थानीय निकायमा अब टिकट कसले पाउने, कसले नपाउने भन्नेमा बहस शुरु भैसकेको छ ।

वामएकताले जुराइदिएका दुई अध्यक्षमध्ये एक अध्यक्षले त्यति बेला वामएकता हुनुअघि कथंकदाचित वामएकताका लागि केही गरी जुत्ता सानो भएर खुट्टा छिराउन समस्या देखा परेमा आफ्नै खुट्टालाई ताछेर भए पनि जुत्ता लगाइछाडनुपर्ने अभिव्यक्त सार्वजनिक गरेका थिए । सो अनुसार जनजनले पक्कै पनि अध्यक्षद्वयले आ–आफ्नो खुट्टा ताछेरै जुत्ता लगाएका छन् भन्ने कुरोलाई सार्थक कार्यको शुरुवात हो भन्ने बुझेका थिए । विडम्बना, आजको दिनसम्म आइपुग्दा जतिसुकै ताछेको खुट्टामा केही भाको छैन भन्दाभन्दै पनि त्यति बेला ताछिएको खुट्टामा लागेको सामान्य घाउ वर्तमानमा आइपुग्दा क्यान्सरको अवस्थामा पुगेको देखेर जनजन आश्चर्यचकित बन्न पुगेका छन् । एकताका नाउँमा दुवै दलमा रहेका केही अहंवादी काँडाहरुले घोच्दा–घोच्दा यो अवस्थामा पुगेको भन्ने कुरामा जनजन विश्वस्त छ ।

यातायातको सिन्डिकेट, वैदेशिक रोजगारसम्बन्धी सिन्डिकेट र तस्करीका सिन्डिकेटहरु मास्न त्यति बेला सरकार जसरी लागिपर्ने प्रयासमा तल्लीन देखा परेको थियो, ती सबै ढोंग र अभिनय मात्र रहेछन् भन्ने कुरा आज आइपुग्दा प्रमाणित भएको छ । सुन तस्करी प्रकरण र गठित समितिले दिएका प्रतिवेदन कुन दुलोमा हराए, अत्तोपत्तो छैन । जनताको हितका निमित्त केही कदमा चाल्दा यदाकदा ताछेको खुट्टामा काँडाले कोर्ने प्रयास गर्न सक्छ । यसर्थ कथंकदाचित काँडाले कोतरिहालेमा मलहमपट्टी लगाउन बेलैमा आवश्यक मलहमपट्टी पनि व्यवस्थापन गरेर यथास्थानमा राख्नु उपयुक्त हुन जान्छ भनेर उति बेलै थुप्रैले सुझाएका थिए । काँडाहरुले कोतरेको बेलामा बेलैमा मलहमपट्टी नलगाई त्यत्तिकै छोडियो भने पछि गएर क्यान्सरको रुप धारण गर्न सक्छ भन्ने कुरालाई हृदयंगम गरी बेलैमा सचेतता अपनाउनु बुद्धिमानी हुनेछ भन्ने सल्लाहलाई पनि विरोध गरेको ठानी वास्ता नगर्नाले आजको दिन देख्नुपरेको जनजनको ठम्याइ छ ।

त्यति बेला सुझाव वा विरोधकै रुपमा भए पनि खुट्टा ताछेरै उडाइएको जेटसम्बन्धमा पक्ष–विपक्षमा विभिन्न धारणाहरु सार्वजनिक भएका थिए । जेट विमान भए पनि इन्जिनचाहिँ टेम्पुको रहेको धारणा पनि सार्वजनिक भएका छन् । यी यस्ता विषयहरुलाई गम्भीरतापूर्वक पाइलटद्वयले विचार पु¥याउनुपर्ने कुरालाई जोड दिइएको थियो । जेटकै इन्जिनबाट जेट उडाउन के गाह्रो भयो र ? गाह्रो त टेम्पुको इन्जिनले जेट उडाउनु हो भन्ने कुराको व्यापक बहस भएको थियो त्यति बेला । पाइलटद्वयले के विचार गर्नुपर्छ भने कथंकदाचित जेट दुर्घटनामा प¥यो भने पाइलटद्वयलाई मात्रै आघात पुग्ने होइन, त्यो जेटमा अरु पनि सवार भएका छन् । तसर्थ दुर्घटना भएमा अरु पनि आघात हुन्छन् । टेम्पुकै इन्जिन प्रयोग गरेर उडाइएको जेट भएको भए तापनि सफलतापूर्वक उडान भरी सफल अवतरण होस् भन्नेमा मुरी–मुरी सफलताको कामना प्राप्त भएका थिए त्यति बेला ।

सयाँै यात्री बोकेका अन्तर्राष्ट्रिय उडानहरुमा ३५ हजार फिटभन्दा माथि प्रायः हवाईजहाजहरु उड्दैनन् तर राजनीतिका धुरन्धर विद्वान् कहलिएका दुई पाइलट मिलेर चलाएको राजनीतिक जेट ३५ हजार फिटभन्दा पनि माथि उडेर कुइरिमण्डलमा हराइरहेको छ । जति तल हेरे पनि सफल अवतरणको लागि स्थान नै भेट्टाउनै गाह्रो भैरहेको छ पाइलटद्वयलाई । अरु व्यावसायिक जहाजहरुमा जहाँ अवतरण गर्नुपर्ने हो त्यहाँ आवश्यकताअनुसार दरिलो नियन्त्रण कक्ष (कन्ट्रोल रुम) हुन्छ तर हाम्रो राजनीतिक जेटका चाहिँ विशेषरुपमा निर्माण गरिएका थरी–थरीका नियन्त्रणकक्षहरु छन्, जसले गर्दा एउटा नियन्त्रण कक्षबाट मौसम सफा छ, तिमीहरु बिस्तारै झरेर अवतरण गर भनेर निर्देशन प्राप्त हुन्छ । प्राप्त निर्देशनअनुसार ५० औं हजार फिटमाथि उडिरहेको जेट १० हजार फिट पनि तल झरेको हुँदैन, अर्को नियन्त्रण कक्षबाट भागवण्डा र स्वार्थ नमिलेर राजनीतिक कुइरिमण्डल भयो, अवतरण गर्ने प्रयास नगर, दुर्घटना होला भन्दै तर्साइन्छ ।

इमानदार नियन्त्रण कक्षहरुको अभावमा ५० हजार फिटभन्दा माथि राजनीतिक जेट उडाउन बाध्य भैरहेका छन् पाइलटद्वयहरु । दुईजना पाइलटमध्ये कहिले कसले, कहिले कसले यसो बादल फाटेको बेलामा अवतरणको लागि स्थान भेटिएको महसुस गरी अवतरणको प्रयास गर्दा पत्तै नपाई कुन नियन्त्रण कक्षले के सन्देश पठाउँछ कुन्नि, सफा देखिएको अवतरण गर्ने स्थान फेरि अदृश्य हुन्छ । पुग नपुग तीन वर्ष हुन लाग्यो राजनीतिक जेट उडेको । तेल कति बाँकी छ भन्ने मात्र होइन तेल सकिएर दुर्घटनाको संघारमा पुगिरहेका कुरा अवगत भइरहँदा पनि जेट उडान भर्ने दुई पाइलट आ–आफ्नै धन्दामा मस्त छन् ।

पछिल्लो अवस्थाले दूई राजनीतिक पाइलटको जहाजभित्रै घम्साघम्सी भएको तथ्य बाहिरिएको छ । सो कुराको जहाजभित्र रहेका यात्रुहरुले पनि अनुभूति गरिसकेका छन् । तैपनि यात्रुहरुलाई दुर्घटना हुँदैन, हामी सफल अवतरण गराउँछौं भन्दै थरी–थरीका पुरुष तथा महिला एयरहोस्टेजमार्पmत थुमथुम्याउने प्रयास भैरहेको छ । पटक–पटकको थुमथुम्याउने कार्यले मात्र यात्रु निराश भैसकेका छन् । जहाजभित्र रहेका यात्रुहरुलाई खुवाउने खानेकुरा सकिइसकेको छ । जहाजको तेल भण्डारण सूचकले विमानमा तेल सकिएको भन्दै रातो चिह्न देखाइसकेको छ । तैपनि पाइलटद्वय थरी–थरीका नियन्त्रण कक्षबाट आएका सूचना र आधारलाई विश्वास मान्दै आपूm–आपूmमा जाहाजभित्रै पौंठेजोरी खेल्नमा मस्त छन् । जहाज धर्मराएको अभैm अनुभूति भएको छैन पाइलटहरुलाई ।

यो आलेख तयार पार्दासम्म पछिल्लो घटनाक्रमले थप आशंका सिर्जना गरिएको जनजनले बुझेका छन् । आगामी मंसिरमा महाधिवेशन गर्ने गरी छलफल टुंग्याइएको समाचार सार्वजनिक भएको छ । यसमा तत् दलका नेताहरुले देश र दल दुई पाइलटको मात्र पेवा होइन भन्दै आ–आफ्नो असहमतिलाई छरपस्ट गरिसकेका छन् । अर्कोतिर दलीय विवादमा देशको राष्ट्रपति प्रत्यक्षरुपमा पुनः साक्षी बस्ने कार्य भएको छ । यस्तो कार्यलाई जनजनले पचाउन सकिरहेका छैनन् । विशेष र आकस्मिक मात्र होइन, पटक–पटक राष्ट्रपति र राष्ट्रपति कार्यालय विवादमा तानिनु किञ्चित उपयुक्त होइन र मानिदैन । यस अवस्थालाई दृष्टिगत गर्दा के भन्न सकिन्छ भने, अब आगामी निर्वाचनमा राष्ट्रपति छनौट प्रक्रियामा पुनर्विचार गर्नै पर्छ पर्ने सन्देश प्रवाह भएको छ । यसको लागि अब जनजन तयारी अवस्थामा रहनै पर्दछ ।

छोटो समय छ तर अन्तिम अवसर अभैm पनि छ आकस्मिक अवतरणको लागि । नियन्त्रण कक्षहरुको कुरा नसुनी आफ्नो सुझबुझले अगाडि आएको कुइरिमण्डलहरुलाई जहाजमा रहेको विशेष उपकरणले पन्छाउँदै बिस्तारै अवतरणको लागि उडान उचाइ कम गर्दै ल्याउने हो भने अवतरणको लागि स्थान देखिन सक्छ । पाइलट र चालकको धर्म हो आफू बिलाएर भए पनि यात्रुहरुलाई जोगाउनु । संसारमा कैयौं राजनीतिक पाइलट र चालकहरुले आफू बिलाएर भए पनि आफ्ना यात्रुहरुलाई जोगाएर आफ्नो नाम इतिहासमा अम्मर राखेका छन् । पाइलटद्वयलाई यो अवसर अभैm प्रदान गरेका छन् यात्रुलगायत यात्रुका आफन्तहरुले ।

त्यति अवसर पाउँदा र दिँदा पनि पाइलटद्वयले जेटलाई सफल अवतरण गराउँदैनन् भने एकातिर जहाजभित्रै रहेका यात्रुहरुमध्ये कोही पाइलटको रुपमा प्रकट भएर जहाजलाई अवतरण गराउनेछन् । यदि जहाजभित्र अन्य पाइलटको उपस्थिति रहेनछ भने पनि यात्रुका परिवारका सदस्यहरु फाइटर जहाजसहित आउनेछन् र धर्मराइरहेको राजनीतिक जहाजलाई चुम्बकीय औजार प्रयोग गरी अवतरण गराउनेछन् । चुम्बकीय औजार प्रयोग गरी अवतरण गराएपश्चात् भने यात्रुहरुलाई अनाहक समस्यामा पार्ने चालकद्वय कारबाहीको भागिदार हुनै पर्दछ । पछि भूल भयो भनेर पश्चात्ताप गरेर माफीको याचना गरे पनि कारबाहीबाट उन्मुक्ति प्राप्त गर्ने अवसर प्राप्त हुनेछैन ।
(लेखक मैनाली अधिवक्ता हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्