निरीक्षण गर्न जाँदा पहिरोले लियो ज्यान


भूपराज बस्याल, स्याङ्जा

‘बम पट्केजस्तो आवाज आयो । माथि हेरेको त सबै रुख खस्दै गरेको देखेपछि सबै बाँचौं है भनेर भाग्न थालियो । भाग्दाभाग्दै माथिबाट आएको पहिरोले भेटिहाल्यो ।’ यो भनाइ हो साउन ३० गते स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ खहरेमा गएको भीषण पहिरोमा पुरिएर बाचेका होमनाथ पाण्डे ‘किसान’ को ।

गाउँको बस्तीदेखि माथिबाट खनिएको मोटरबाटोको माटोले बस्तीमा पारेको असर र त्यसको रोकथाम तथा बस्ती व्यवस्थापनका लागि के गर्न सकिन्छ भनेर निरीक्षण गर्न किसानसहितको टोली त्यहाँ पुगेको थियो । अवलोकनकै क्रममा माथिबाट ठूलो पहिरो खसेपछि भागाभाग हुँदा दुई जना घाइते भए, तीन जना मृत भेटिए, एक जना अझै बेपत्ता छन् । आलमदेवी, चण्डीभञ्ज्याङ हुँदै रिडी जाने बाटोले यो अवस्था सिर्जना गरेको घाइते किसानको भनाइ छ ।

‘पहिले पनि बेला–बेला माटो खसिरहन्थ्यो, राति अत्यधिक वर्षा भएका कारण बस्तीमा केही असर प¥यो कि भन्दै अवलोकन गर्न गएका थियौं । त्यही बेला माथिबाट पहिरो खसेपछि भागाभाग भयो । सबै साथीहरूलाई भाग्नुस् भन्दै म पनि भागें । भाग्दाभाग्दै मलाई भेटिहाल्यो पहिरोले करिब १० मिटर जति तल लग्यो र रोकियो त्यति बेलासम्म मलाई घाँटीसम्म पुरिसकेको थियो ।

पहिरो रोकिनासाथ अब अर्काे पहिरो आएन भने त बाँचिन्छ भन्ने सोचेर चिच्याउन थालें । एक जना सँगै भागेका साथी आए उनलाई देखेपछि एक्लैले हँुदैन अरूलाई पनि बोलाउन भनें । त्यति बेलासम्म पुरिएको म मात्रै होजस्तो लागेको थियो । करिब १०/१५ मिनेटमा कुटो कोदालो लिएर गाउँलेहरू आए । मेरो अवस्था देखेर कोही रुन थाले ।

मैले यो रुने बेला होइन यहाँबाट छिटो झिक भनें । केही समयपछि मलाई झिकेर केही युवाले बोकेर तलसम्म ल्याए । त्यसपछि बल्ल थाहा भयो अन्य साथीहरू पुरिए भन्ने कुरा’, उपचारपछि घर फर्कंदै गर्दा बाटोमा नेपाल समाचारपत्रसँग कुराकानी गर्दै किसानले भने– ‘एउटा साथी अहिलेसम्म भेटिएन भन्ने सुनेको छु । अब उक्त स्थानमा जान्छु र हेर्छु । सँगैको साथी गुहारका लागि आउँदा सबैको अवस्था ठीकै होला भन्ने ठानेको तर उक्त साथी अलि छिटो दगुरेका कारण बाँच्न सफल भएको मैले पछिमात्रै थाहा पाएँ ।’

‘म सबैभन्दा पछाडि थिएँ । अचानक आएको पहिरोले अगाडिका साथीहरूलाई लगिसक्यो म पछाडि भाग्दै जाँदा केही चोटपटक लाग्यो, केही माटोले मलाई पनि पुरे पनि बाँच्न सफल भएँ’, पहिरोमा घाइते भएर उपचारपछि घर फर्किएका अर्का घाइते वीरबहादुर रानाको कथन छ– ‘त्यसपछि साथीहरू खोज्दै जाँदा किसान सरलाई देखेपछि गाउँलेलाई खबर गरेर उद्घार गर्नतिर लागियो ।’

पहिरोका कारण ६ घर विस्थापित भएका छन् भने तीन जनाको मृत्यु भएको छ भने एक जना हराइरहेका छन् । पहिरोका कारण सोही वडाकै वर्ष ६५ का इमानसिं राना, वर्ष ६० का जिमानसिंह थापा र वर्ष ५० का टीकाबहादुर थापाको मृत्यु भएको हो भने सोहि वडाकै वर्ष ६० का प्रेमचन्द्र पाण्डे अहिलेसम्म पनि फेला परेका छैनन् ।
मोटरबाटोका कारण करिब ४०/४५ घर भएको गाउँ नै जोखिममा परेको हुँदा बेलैमा यसको रोकथाम गर्न नसके स्थिति अझै भयभय हुने भन्दै गाउँले गुनासो गरेका छन् ।