पर्यटन क्षेत्रमा कोरोना कहर: इलाम आउने पर्यटक पाँच हजारले घटे


नेपाल समाचारपत्र, इलाम

विश्वव्यापी महामारीका रूपमा चीनबाट शुरू भएको कोरोना भाइरसको प्रभाव प्रत्यक्षरूपमा नेपालको पर्यटन क्षेत्रमा परेको छ । नेपालका पर्यटकीय जिल्लाहरू यतिखेर सुनसान छन् । देशको पर्यटन क्षेत्र तङ्रिन निकै समय लाग्ने देखिएको छ ।

देशकै अर्थतन्त्रको मुख्य हिस्सा ओगट्ने पर्यटन क्षेत्र डामाडोल बन्न पुगेको छ । यता कोरोना र देशभर जारी लकडाउनका कारण इलामको पर्यटन क्षेत्रमा पनि नराम्ररी असर परेको हो । इलाम घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटक शून्य छन् । जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यहरू कन्याम, श्रीअन्तु, सन्दकपुर, माइपोखरी सुनसान रहेको छ ।

अघिल्लो आर्थिक वर्ष ०७५÷०७६ मा भन्दा गत आर्थिक वर्ष ०७६/०७७ मा इलाम आउने पर्यटकको सङ्ख्या निकै घटेको एक तथ्याङ्कले देखाउँछ । इलामसहित पाँचथर र ताप्लेजुङ जिल्ला प्रवेश गर्ने इलाम–झापा सीमावर्ती जोरकलशमा रहेको पर्यटन सूचना केन्द्रका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ५ हजार ५७ जनाले इलाम आउने पर्यटक घटेको तथ्याङ्क सार्वजनिक गरेको छ । कोरोना र लकडाउनको विश्वलाई त्राही–त्राही बनाएको अवस्थामा इलामको पर्यटन क्षेत्रमा यसले नराम्ररी प्रभाव पारेको तथ्याङ्कले देखाएको छ ।

पर्यटन सूचना केन्द्रका सूचना अधिकारी गगन घिमिरेका अनुसार गत आर्थिक वर्षमा इलाम भ्रमण गर्ने पर्यटकमध्ये १ लाख २८ हजार ६४ जना आन्तरिक र ९ सय ५६ जना बाह्य पर्यटक रहेका छन् । त्यसमा बाह्य देशबाट आउनेमा अमेरिकाका १२ जना, क्यानडा र चीनका १–१ जना, दक्षिण कोरीयाका ७ जना र भारतका ९ सय ३५ जना रहेका छन् ।

यता कोरोनाका कारण प्रत्यक्ष प्रभाव पारेको इलामको पर्यटन क्षेत्र रिकभर हुन अब कम्तीमा २÷३ वर्ष लाग्न सक्ने होटल एसोसिएसन इलामका अध्यक्ष देवी पौडेलले बताउनुभयो । यसका लागि पर्यटन उद्योग बचाउका लागि सबैभन्दा बढी ध्यान आन्तरिक पर्यटनमा दिनुपर्ने उहाँको भनाइ छ ।

आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा रहेको पर्यटन क्षेत्र धराशयी बनेको अवस्थामा पर्यटन क्षेत्रको ठूलो लगानी र त्यससँग आश्रित हजारौंको रोजगारीसमेत गुमिसकेको छ । पर्यटन उद्योगलाई उकास्न र रोजगारीको सिर्जना गर्न सरकार, निजी क्षेत्रको साझा प्रयत्न आवश्यक रहेको पर्यटन क्षेत्रमा काम गर्ने सरोकारवालाहरू बताउँछन् ।

पर्यटन क्षेत्रमा लगानी गरेका व्यवसायीका लागि एक वर्षसम्म ब्याजदर र किस्ता तिर्न नपर्ने र किस्ता तिर्ने अवधि लम्ब्याउनुपर्ने पर्यटन व्यवसायीहरू बताउँछन् ।