अटोमा गए भोलि, हिँडेर गए आजै


नेपाल समाचारपत्र, हेटौंडा

गाडी चल्न बाटो नभई हुँदैन । बाटो भएपछि गाडी । तर, गाडी गुड्न पनि त बाटो राम्रो हुनुप¥यो नि ! नत्र दुर्घटनामा परिएका भन्ने डर ।

मकवानपुरको अतिविकट राक्सिराङ–२ सुनारीसौराका नरेन्द्र मुक्तान ती एक पात्र हुन्, जसलाई वर्षा लागेपछि गाडीको सम्झनै आउँदैन । भन्नुहुन्छ– ‘सडकमा पानी परेर पूरै हिलाम्य भएपछि गाडीमा भन्दा हिँडेरै छिटो पुगिन्छ ।’ मुक्तानलाई गाउँमा कच्ची सडक पुगे पनि काम विशेषले सदरमुकाम हेटौंडा आउ–जाउ गर्न पैदलयात्रा नै उचित लाग्छ रे । ‘हिउँदमा पानी नपरेको बेलामात्र गाडी चल्छ । घुमाउरो बाटोमा गुडेरभन्दा सीधा छोटो बाटो हिँडेर छिटो पुगिन्छ ।’ –उहाँ भन्नुहुन्छ ।

स्थानीयहरू वर्षा लागेपछि ट्याक्टर, अटो, मोटरसाइकलमा यात्रा गर्ने गर्दछन् । तर, अधिकांश हिँडेर नै गन्तव्यमा पुग्छन् । गाडी चढ्दा कहिलेकाहीं त भोलिपल्टसम्म लाग्ने तर हिँडेर चार घन्टामै मेनरोड आइपुगिने उहाँको अनुभव छ ।

‘गाडी चल्ने कुरा सपना जस्तै भयो’, उहाँ भन्नुहुन्छ– ‘ट्याक्टर चल्न पनि राम्रो मौसम कुर्नुपर्छ ।’ चुर्लिङ खोला हुँदै खरंगासम्म पुगेको सडक विस्तार गरेर भावर पु¥याउन पहिला करोडौं लगानी गरिसकिएको छ । तर, हाल उक्त सडकमा हिउँदमा मात्र मुस्किलले ट्याक्टर, अटो, मोटरसाइकल चल्छन् ।

सर्वसाधारण चुर्लिङ खोला, हात्तीखोल्चा हुँदै भावरबाट खरंगा जोड्ने सडक प्रयोग गरेर आवात–जावत गर्छन् । दुर्गम क्षेत्रमा पर्ने हात्तीखोल्चा र चुर्लिङले सडक सञ्जालसँग जोडिएको ९ वर्ष भए पनि स्थानीयले सुविधा पाएका छैनन् । कच्ची सडकको वनौट कमजोर, मर्मत अभाव र पहिरोको समस्याका कारण उपयोगमा आउन नसकेको हो ।

२०६७ सालमा चुर्लिङखोलाबाट भावर हुँदै खरंगाको सिमानासम्म जोड्ने लगभग ३८ किलोमिटर सडक निर्माण भएको थियो । सडकमा नियमित सवारीसाधन गुड्न सकेका छैनन् । चुर्लिङ, सुनारीसौरा, भावरका बासिन्दा हेटौंडा बजार आउजाउ गर्न भीरपाखा, जंगल र खोल्सा हुँदै पैदल हिँड्नपर्ने बाध्यता रहेको वडा–२ अध्यक्ष सूर्यबहादुर मोक्तानले बताउनुभयो ।

सामान ढुवानी गर्न ट्याक्टर रिजर्भ गर्नुपर्छ । खरंगाबाट चुर्लिङ रिजर्भमा ट्याक्टरबाट ढुवानी गर्दा ११ हजार जति त भाडै लाग्ने स्थानीय व्यवसायी सन्तवीर ब्लोनले बताउनुभयो । बाटो हिलैहिलो भएकाले पैसा दिँदा पनि ट्याक्टर जान मान्ने नगरेको उहाँको भनाइ छ ।

‘सामान ढुवानी गरिरहेका बेला चिप्लिएर ट्रयाक्टर भिरबाट खस्न थालेपछि ट्याक्टरमा चढेका १२ जनाको भागभाग भएको थियो’, ट्रयाक्टर चालक सोमलाल घलानले स्मरण सुनाउँदै भन्नुभयो–‘जंगलको बाटो, हिलैहिलो, मान्छेले धकेल्नुपर्ने, पुग्ने र फर्किने सडक जोखिमपूर्ण छ । एक्लै त जानै सकिँदैन । दुई÷तीन वटा ट्याक्टर सँगै जान्छौं । किनकि, बाटोमा फस्यो भने अर्को ट्याक्टरले तानेर निकाल्नुपछ ।’ सुनारीसौरा भावरमा ५ सय बढी घरधुरीको बसोबास छ ।

गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले पुरानो सडक असफल भएकाले चुर्लिङ खोला, भावर हुँदै खरंगा सडक निर्माणमा प्राथमिकता दिइएको बताउनुभयो । उक्त स्थानमा खनिसकेको सडक विस्तार गर्न यस वर्ष बाग्मती प्रदेश सरकारबाट १ करोड र गाउँपालिकाबाट ५० लाख बजेट विनियोजन भएको वडा अध्यक्ष मोक्तानले बताउनुभयोे ।