कास्कीमा राष्ट्रिय परिचयपत्र वितरण दर्ता शुरू


न्युज अफ नेपाल, पाेखरा ।

नागरिकलाई बहुउद्देश्यीय राष्ट्रिय परिचय नम्बर र राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक स्मार्टकार्ड प्रदान गर्ने उद्देश्यसहित राष्ट्रिय अभियानका रूपमा चलेको राष्ट्रिय परिचयपत्र वितरण दर्ता कास्कीमा समेत शुरू गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा भएकाले कास्कीबाट परिचयपत्र वितरण शुरू गर्न लागिएको हो ।

कास्की जिल्लामा राष्ट्रिय परिचयपत्र वितरणका लागि स्थल कार्यालय स्थापना तथा विवरण दर्ता शुभारम्भ गरिएको छ ।  जिल्ला प्रशासन कार्यालयमार्फत वितरण गरिने उक्त परिचयपत्रको लागि जिल्ला प्रशासन कार्यालयमै विवरण दर्ता कार्यालय स्थापना गरिएको हो ।

नेपालको संविधान को धारा ५१ को (च) मा एकीकृत राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली विकास गरी नागरिकका सबै प्रकारका सूचना र विवरण एकीकृतरूपमा व्यवस्थापन गर्ने तथा यसलाई राज्यबाट उपलब्ध हुने सेवा–सुविधा र राष्ट्रिय विकास योजनासँग आबद्ध गर्ने संवैधानिक व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुरूप कास्कीमा समेत राष्ट्रिय परिचयपत्र विवरण दर्ताको शुभारम्भ गरिएको हो ।

शान्ति सुरक्षा तथा अपराध नियन्त्रण एवं न्यूनीकरण । सरकारी कामकाज तथा सार्वजानिक सेवाहरूलाई पेपरलेस बनाउँदै जाने लक्ष्यका साथ उक्त अभियान अघि बढेको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए । आइतबार एक कार्यक्रमका बीच अभियानबारे जानकारी दिँदै उनले राज्यलाई डिजिटलाइज्ड गर्नतर्फ उन्मुख भएको बताए ।

उक्त परिचयपत्रमा हरेक उमेर पुगेका नागरिकको सम्पूर्ण विवरण राखिएको हुन्छ । परिचयपत्रले कागजी कामकाजको झन्झटको समाधान गर्ने उनले बताए । ‘यो एयटा स्मार्ट परिचयपत्र हो, यसमा हरेक नागरिकको व्यक्तिगत तथा बायोमेट्रिक विवरण राखिएको हुन्छ । कार्ड भएपछि नागरिकता वा कुनै पनि कागज लिएर हिँड्न पर्दैन । सबै विवरण स्मार्ट कार्डमै राखिएको हुन्छ ।’ –प्रमुख जिल्ला अधिकारी ढकालले भन्नभयो । उक्त कार्डको प्रयोगबाट सार्वजानिक सेवा प्रवाह (सामाजिक सुरक्षा कार्यक्रम, गरिबी निवारण कार्यक्रम, सामाजिक बिमा, पेन्सन, राजस्व संकलन, भूमि व्यवस्थापनलगायत सार्वजानिकस्थानहरूबाट हुने सेवा प्रवाह छिटो–छरितो, चुस्त तथा पारदर्शी हुने ढकालले बताउनुभयो ।

मतदाता परिचयपत्र व्यवस्थापन, नागरिकता तथा राहदानी वितरण, घटना दर्ता एवं विपद् व्यवस्थापनसम्बन्धी विभिन्न कार्यसम्पादनमा समेत सहजीकरण हुने उहाँको भनाइ छ । परिचयपत्र नेपाली नागरिक, सेवा प्रदायक निकायहरू, अनुसन्धान र न्यायिक निकायहरू तथा कानुनले तोकेका अन्य व्यक्ति यसको प्रयोगकर्ता रहेका छन् । उक्त परिचयपत्रमा व्यक्तिगत विवरण, औंठा छाप (१० वटै औंलाका), फोटो, हस्ताक्षर र आँखाका रेटिना समावेश हुनेछन् । परिचयपत्र विवरण दर्ताका लागि नयाँ वा नागरिकताको प्रतिलिपिसहित फारम भर्नु पर्नेछ ।

आवेदन फारम अनलाइन विधिबाट समेत भर्न सकिनेछ । अभियान अवधिभर नेपाल सरकारबाट तोकिएका स्थानबाट निःशुल्क भर्न सकिनेछ । प्ररम्भिक चरणमा पाँचथर जिल्ला र सिंहदरबारका विशिष्ट व्यक्ति तथा कर्मचारी गरी करिब १ लाख ७० हजारभन्दा बढी विवरण दर्ता संकलन गरिएको थियो । पहिलो चरणमा १५ जिल्ला तथा तेस्रो चरणमा भने कास्कीसहित सबै जिल्लामा विवरण दर्ता गरिने उहाँले बताउनुभयो ।