पहिरोको कारण गोरखा-आबुँखैरेनी सडकखण्ड अवरुद्ध


गोरखा ।

गए राति खसेको पहिराका कारण गोरखा–आबुँखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । गोरखा नगरपालिका–१२ स्थित अबुवा नजीकै माथिबाट खसेको ठूलो पहिराले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मित्रलाल ढकालले जानकारी दिनुभयो ।

“सडकदेखि करीब ७०/८० मिटर माथिदेखि पहिरो खसेको छ”, उहाँले भन्नुभयो, “पहिरोले सडक पूरै पुरिएकाले पूर्ण रुपमा आवातजावत रोकिएको छ ।”

अवरुद्ध सडक खुलाउन डोजरको सहायताले पहिरो हटाउने काम शुरु भइसकेको प्रमुख ढकालको भनाइ छ । केही दिनदेखि लगातार परेको ठूलो वर्षाका कारण नजीकै रहेको इँटाभट्टा छेवैमा रहेको खोल्सीबाट पहिरो सडकमा खसेको हो ।

“अहिले छिटो पहिरो हटाउन दुवैतर्फबाट सफा गर्ने काम भइरहेको छ”, प्रमुख ढकालले भन्नुभयो, “आँबुखैरनीतर्फबाट सडक डिभिजन कार्यालयको मेसिनले काम शुरु गरेको छ भने गोरखा सदरमुकामपट्टिको खण्डबाट पनि अर्को मेसिन लगाएर पहिरो हटाउने प्रयास भइरहेको छ ।” ठूलो पहिरो खसेकाले हटाउन करीब तीनदेखि चार घण्टासम्म समय लाग्ने जनाइएको छ ।