बैंकिङ प्रणालीमा निक्षेप १३ प्रतिशतले वृद्धि


नेपाल समाचारपत्र, काठमाडौं
आर्थिक वर्ष २०७६/७७ को ११ महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन १३ दशमलव ३ प्रतिशतले वृद्धि भई ३६६६ अर्ब ६२ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा ३१०५ अर्ब ७४ करोड रहेको थियो ।

आर्थिक वर्ष २०७६/७७ को एघार महिनामा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जा १० दशमलव ७ प्रतिशतले वृद्धि भई ३१७२ अर्ब ९८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १८ दशमलव २ प्रतिशतले बढेर २८३६ अर्ब ७ करोड पुगेको थियो ।

२०७६ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये १५ लाखसम्मको कर्जा १५ प्रतिशत, १५ लाखदेखि रु. ५० लाखसम्मको कर्जा २४ दशमलव ९ प्रतिशत, ५० लाखदेखि१ करोडसम्मको कर्जा १० दशमलव २ प्रतिशत, १ करोडदेखि ५ करोडसम्मको कर्जा २२ दशमलव ३ प्रतिशत र ५ करोडमाथिको कर्जा २७ दशमलव ६ प्रतिशत रहेको छ ।

जेठ मसान्तमा बैंक तथा वित्तीय संस्था (लघुवित्त वित्तीय संस्थाहरु समेत) को चुक्ता पुँजीे २०७६ असारको तुलनामा ८ दशमलव २ प्रतिशतले वृद्धि भई ३४९ अर्ब ५९ करोड पुगेको छ । त्यसैगरी, यस अवधिमा पुँजीकोष ९दशमलव ८ प्रतिशतले बढेर ५१८ अर्ब ५ करोड कायम भएको छ ।जेठ मसान्तमा वाणिज्य बैंकहरुको पुँजी कोष पर्याप्तता अनुपात १३ दशमलव ४ प्रतिशत, विकास बैंकहरुको १३ दशमलव ४ प्रतिशत र वित्त कम्पनीहरुको १८ दशमलव ७ प्रतिशत रहेको छ । २०७६ असार मसान्तमा यी अनुपातहरु क्रमशः १४ प्रतिशत, १६ प्रतिशत र २० दशमलव ४ प्रतिशत रहेका थिए ।

बैंक तथा वित्तीय संस्थाहरुको निष्क्रिय कर्जा अनुपात २०७६ असार मसान्तमा १ दशमलव ५२ प्रतिशत रहेकोमा २०७६ चैत मसान्तमा १ दशमलव ८१ प्रतिशत पुगेको छ । २०७६ चैत मसान्तमा वाणिज्य बैंकहरुको निष्क्रिय कर्जा अनुपात १ दशमलव ७२ प्रतिशत, विकास बैंकहरुको १ दशमलव ४८ प्रतिशत र वित्त कम्पनीहरुको ६ दशमलव ७६ प्रतिशत रहेको छ ।

बैंक तथा वित्तीय संस्थालाई मर्जर तथा प्राप्तिमा जान प्रोत्साहित गर्न शुरु गरेपश्चात्को एक दशकमा १९६ बैंक तथा वित्तीय संस्थाहरु (२५ वाणिज्य बैंकसमेत) मर्जर तथा प्राप्ति प्रक्रियामा संलग्न भई ४६ संस्था कायम भएका छन् । यस अवधिमा ५ वाणिज्य बैंकसमेत गरी १५० संस्थाको इजाजत खारेज भएको छ । आर्थिक वर्ष २०७६/७७ मा ४ वाणिज्य बैंकसहित ३५ बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ति प्रक्रियामा संलग्न भई २० संस्थाको इजाजत खारेज भएको छ ।

बैंक तथा वित्तीय संस्थाका शाखा विस्तारसँगै वित्तीय पहुँच बढेको छ । बैंक तथा वित्तीय संस्थाको शाखा संख्या २०७६ असार मसान्तमा ८६८६ रहेकोमा २०७७ जेठ मसान्तमा ९७१६ पुगेको छ । उक्त अवधिमा प्रतिबैंक शाखा जनसंख्या ३३६३ बाट घटेर ३०७५ कायम भएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।