सरिता हत्या प्रकरण : श्रीमानलाई जन्म कैद, अन्य चारलाई सफाई

376
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

परिवार नै मिलेर बुहारीको हत्या गरेको अभियोगमा पक्राउ परेका एकै परिवारका पाँच जनालाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको १४ महिनापछि अन्तिम फैसला सुनाएको छ । अन्तिम फैसलामा श्रीमानलाई जन्म कैद सुनाउँदै अन्य चार जनालाई सफाई दिएको छ । उच्च अदालतले जिल्ला अदालतको आदेशलाई उल्छाउँदै सासु र ससुरालाई धरौटीमा छाड्न आदेश दिएको थियो ।

मण्डनदेउपुर नगरपालिका वडा नम्वर ४ घर भएकी २५ बर्षिया सरिता दुलाललाई मण्डनदेउपुर नगरपालिका वडा नम्वर ६ बस्ने पिताम्बर दुलालको छोरा २५ बर्षिय सुदिप दुलाल, ६३ बर्षिय पिताम्बर दुलाल, पिताम्बर दुलालको श्रीमती ६५ बर्षिया रोमकुमारी दुलाल, पिताम्बर दुलालको छोरा ३६ बर्षिया केशबप्रसाद दुलाल, केशबप्रसाद दुलालको श्रीमती ३५ बर्षिया संगिता दंगाल (दुलाल) सहितलाई ज्यान सम्वन्धी कसुर (कर्तव्य ज्यान) अभियोगमा मुद्दा दर्ता गरिएको थियो । सरिताको श्रीमान सुदिप दुलाललाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले २०७६ असार २१ गते न्यायाधीश दुर्गा खड्काको इजलाशले जन्म कैदको सजायँ सुनाउँदै अन्य चारजनालाई सफाई दिने निर्णय गरेको छ ।

बहिनीको हत्यापछि दाजु कृष्णप्रसाद दाहालले जिल्ला प्रहरी कार्यालय काभ्रेमा किटानी जाहेरी दिएका थिए । अदालत पुगे पछि श्रीमान सुदिपले आफु एक्लैले श्रीमती सरिताको हत्या गरेकाले परिवारका अन्य सदस्यहरुको सहयोग नभएको बयान दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेले घटनास्थल तथा लाशजाँच मुचुल्का, प्रहरी प्रतिवेदन, जाहेरी दरखास्त, खानतलासी तथा वरामदी मुचुल्का, शव परिक्षण प्रतिवेदन, प्रतिवादीहरु सुदिप दुलाल, केशव दुलाल, संगिता दुलाल र पिताम्वर दुलाल र रोम कुमारी दुलालले गरेको बयानका आधारमा मृतक सरिता दाहाल (दुलाल) को फोटाहरु लगायतका प्रमाणका आधारमा मण्डन देउपुर नगरपालिका वडा नं.६ स्थित प्रतिवादीहरुको आफ्नै घरमा प्रतिवादीहरु सुदिप दुलाल, पिताम्वर दुलाल, केशव दुलाल, संगिता दुलाल र रोमकुमारी दुलाल समेतको आपसी योजना, सल्लाह, संलग्नता र सहमतिमा मृतक सरिता दाहाल (दुलाल) को हातखुट्टा समाई घाँटी थिची वाँधी कर्तव्य गरी मारेको निश्कर्ष निकालेको थियो । पीडितले पाउने क्षतिपूर्ति फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ४८ र अपराध पिडीत संरक्षण ऐन,२०७५ वमोजिमको पीडित राहत कोषमा जम्मा हुन मुलुकी अपराध संहिता, २०७४ को दफा १८६ वमोजिम माग गरिएको थियो ।

प्रहरीको माग अनुसार अदालतले सजायँ सुनाएन । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १२ ज्यान सम्वन्धी कसुरमा भएको व्यवस्थामा दफा १७७ ज्यान मार्ने नियतले कुनै काम गर्न नहुने ((१) कसैले कसैको नियतपूर्वक ज्यान मार्न वा ज्यान मार्न कुनै काम गर्न वा गराउन हुँदैन भन्ने उल्लेख छ । उपदफा (१) वमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई जन्मकैदको सजाय हुनेछ ।