करको काम गर्न तुलसिपुर जाने बाध्यता टर्‍यो, प्यूठानमा सेवा सुरु


सलिम अन्सारी, प्यूठान।

कर सम्बन्धी सेवा लिन अब तुलसिपुर जानु पर्ने बाध्यता टरेको छ । आन्तरिक राजश्व कार्यालय दाङ तुलसीपुरले दुई जिल्लाका करदातालाई पायक पर्ने गरी प्यूठानमा करदाता सेवा कार्यालय स्थापना गरेसँगै यो बाध्यता टरेको हो ।

त्यसको लागि आर्थिक वर्ष २०७७।७८ को पहिलो दिन (साउन १ गते) देखि नै करदाता सेवा सम्बन्धी सेवा प्रवाह गर्ने गरी माण्डवी गाउँपालिका–३ जस्पुरमा कार्यालय स्थापना गरिएको कार्यालय प्रमुख कर अधिकृत रामहरी मरासिनीले बताए ।

अब प्यूठान र रोल्पाका सेवाग्राहीले प्यूठानबाटै कर सम्बन्धी सेवा लिन पाउने छन् । प्यान दर्ता, नविकरण, खारेजी, आय व्यय विवरण, कर दाखिला लगायतका सेवाहरू लिन पाउने गरी व्यवस्था मिलाइएको सेवा कार्यालयका प्रमुख मरासिनीले जानकारी दिए । ‘तुल्सीपुरमा गरिने काममध्ये ९० प्रतिशत काम सेवा कार्यालयबाट हुन्छ’ उनले भने ।

तर कर सम्बन्धी न्यायिक अधिकार (दण्ड, जरिवाना, अनुसन्धान) लगायतका कामहरू तुलसिपुरबाटै हुने बताइएको छ । कार्यालय स्थापनापछि धेरै जना करमा आबद्ध हुने कार्यालयले विश्वास लिएको छ ।यता सेवाग्राहीले पनि यो सुविधासँगै सहज हुने बताएका छन् । कार्यालयबाट रोल्पा र प्यूठानका दस हजार बढि सेवाग्राही लाभान्वित हुने बताईएको छ।

रोल्पा र प्यूठानका करदाता सामान्य काम गर्दा पनि तुलसिपुर जानु पर्ने बाध्यताले दुख पाइरहेका थिए । यसअघि सेवाग्राहीहरुलाई कम्तिमा पनि दुई दिन तुलसिपुरमै वस्नुपर्ने बाध्यता थियो।प्यूठान उद्योग वाणिज्य संघका लेखापाल निराजन श्रेष्ठले प्यूठानको माण्डबीमा कार्यालय खुलेपछि धेरै सहज हुने बताए ।