नदी कटानले स्थानीयमा त्रास


घनश्याम बगाले, नवलपरासी । 

पूर्वी नवलपरासीको मध्यविन्दु ३ रतनपुरमा नारायणी नदीले कटान गर्न थाले पछि स्थानीयमा त्राश सिर्जना भएको छ ।

लगातारको वर्षाका कारण नारायणी नदीमा बाढी आउदा रतनपुरको दक्षिणी भाग कटानमा परेको हो । नदीको बाढीले कटान गरी आवादी जमिन पानीको भेलमा झार्न थाले पछि यहांको ग्रिनरिभर कटेजको नदी किनारका ब्लक बाढीले बगाउने अवस्थामा पुगेकाछन् ।

यसै वीच रतनपुरमा बाढीले कटान गर्न थालेको सूचना पाए लगतै प्रदेश सभासदहरु, मध्यविन्दु नगरपालिका जन प्रतिनिधिहरुको टोलीले स्थलगत अनुगमन गरेको छ ।

अवलोकनका क्रममा गण्डकी प्रदेश सांसद विष्णु लामिछानेले जनताको जीवन रक्षा नै अहिलेको मुख्य काम भएकोले तत्काल सिंचाई मार्फत रकम ब्यवस्थापन गरी स्थानीय तहबाट कटान रोकथाम तथा नियन्त्रणको काम गरिने बताउनु भयो । स्थलगत अवलोकन गर्दै सभासदहरु कृष्णचन्द्र नेपाली, जनकलाल श्रेष्ठ, रोशन बहादुर गाहा र ओमकला गौतमले नदी नियन्त्रणमा प्रभावकारी कदम चाल्नु पर्ने औल्याए ।

सांसदहरुले नारायणी नदीको कटान नियन्त्रणका लागि मुख्य मन्त्रीसंग कुरा गरी प्रदेश र संघ बीचको आपसी समन्वयबाट सह प्रयास थालिने बताएकाछन् ।

नदीको बाढीले जमिन कटानको साथसाथै बाढी नियन्त्रणका लागि लगाईको तारजाली सहितको ठोकर समेत भत्कउदा नन्दपुर गाउं र यहांको सयौं विगाहा जमिनको धानबाली खतरामा परेको हो ।

नारायणी नदीले रतनपुर क्षेत्रमा कटान गर्दै जांदा कोल्हुवा दक्षिणका नन्दपुर, सेहरी, धजाहा लगाएतका गाउंवस्ती नारायणीको बाढीको जोखिममा पर्ने अवस्था देखिएको छ ।

करिव २० वर्ष पहिला २०५७ सालमा नारायणी नदीमा आएको वाढीले रतनपुरको कयौं विगाहा उर्वर भूमी यसरी नै कटान गरेर यहांका स्थानीयलाई उठीबास लगाएको थियो ।

नारायणी नदीको बाढी यसै क्षेत्रबाट बस्तीमा पस्दा सेहरी, धजाहाका सयौं घर परिवार विस्थापित बन्नु परेको थियो भने यहांका कयौं गाउंघर र धानबाली डुवानमा परेका थिए ।

नदी किनारको बढ्दो प्राकृतिक दोहन र पारी चितवन राष्टिय निकुञ्ज क्षेत्रमा बढ्दै गरेको वन जंगलले नारायणी नदी क्रमशः मानव वस्ती तर्फ धकेलिदै आएको विज्ञहरु वताउछन् ।

विगतको महाबाढीले यो क्षेत्रमा जनधनको क्षति गरे पछि पूर्व अमलटारी देखि कोल्हुवा सम्म नारायणी किनारमा जनताको तटवन्धका नाउमा नदी नियन्त्रणको प्रयास भएको थियो ।

नदीकै ढुंगा प्रयोग गरेर तारजाली भरिएकोले दिगो नहुने स्थानीयको आरोप वीच बाधिएको जनताको तटवन्धले नारायणी नदीको बाढीलाई करिव २ दशक थेगेको बताईन्छ ।

विज्ञहरुका अनुसार नारायणी नदीको उत्तरी बेल्टलाई एउटा बृहद गुरु योजनाका साथ ड्याम बाधेर त्यसै माथि करिडोर वनाई नदी नियन्त्रण गर्नु अत्यावश्यक देखिन्छ ।

करिडोरको निर्माणले यहांको गैडाकोट नगरपालिका देखि देवचुली, कावासोती र मध्यविन्दु नगर सम्मका नदी किनारका गाउंवस्तीको संरक्षण र पर्यटकीय क्षेत्रको विकासमा सघाउ पुग्ने स्थानीय भगवती गौतम बताउनुहुन्छ ।

चितवन राष्टिय निकुञ्जको पश्चिम सेक्टर अन्र्तगत पर्ने यो क्षेत्र पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण रहेको छ । यहांको राष्टिय निकुन्ज, मध्यवर्ती वन र नारायणी नदी किनारमा विचरण गर्ने दूर्लभ एक सिंगे गैडा, पाटेबाघ, मगर र घडियाल गोही पर्यटकका लागि आकर्षणका केन्द्र हुन् ।

नारायणी नदीको किनारी भागका यी क्षेत्रमा रमाउने पर्यटकहरुलाई लक्षित गर्दै यहां दर्जनौं होटल, कटेज तथा होम स्टेहरु संचालनमा रहेकाछन् ।

बाढीले वर्षेनी क्षयीकरण गर्दै आएको यस्तो महत्वको पर्यटकीय भूमीलाई जोगाउन बृहद नदी नियन्त्रणको प्रयास सहित राज्य संयन्त्र लाग्नु पर्ने स्थानीयहरु बताउछन् ।