सुनसान ठमेल ग्राहक बोलाउदै

0
Shares

काठमाडौ । कोरोना संक्रमणबाट थला परेको मुख्य पर्यटकीय क्षेत्र ठमेलका घर धनी र ब्यवसायीबीच घरभाडाको बिषयमा सहमति भएको छ ।
घरधनीका कारण ब्यवसायी घर छोडेर जानुपर्ने अवस्था आएको समाचार सार्वजनिक भएपछि बिहीबार ठमेल क्षेत्रका घरधनी र ब्यवसायीले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर समस्याको समाधान खोज्नेक्रम अझै जारी रहेको र ९५ प्रतिशत ब्यसायी र घरधनीबीच घरभाडा र ब्यवसाय संचालनकालागि सहमति भएको ब्यवसायी समेत रहनु भएका घरधनी योगराज राजभण्डारीले जानकारी दिनुभयो ।
१ दशमलव ५ किलोमिटर भित्र रहेका १हजार २ सय घरधनी र ब्यवसायीबीच जुन सहमति हुदै गएको छ यसले मुलुकभर ब्यवसाय गर्नेहरुलाई एउटा नमुना प्रदान गरेको ब्यवसायी तेजेन्द्रनाथ श्रेष्ठले जानकारी दिनुभयो ।
अहिले घरभाडा तीर्न नसकेर ७० भन्दा बढी ब्यवसायी पलायन भएको र ब्यवसायी र केही घर धनीबीच अझै समस्या देखा परेकाले उनीहरुबीच पनि सहमति खोज्ने प्रयास भइरहेको जानकारी पनि श्रेष्ठले दिनुभयो ।
नेपाल आउने बिदेशी पर्यटकको पहिलो रोजाइमा परेको ठमेलमा अहिले ब्यवसायी र घरधनीले ४ अर्व भन्दा बढी लगानी गरेको यो क्षेत्रको समस्या समाधान गर्न सरकारले पनि चासो देखाउनुपर्ने ब्यवसायी श्रेष्ठले बताउनुभयो ।
अहिले ठमेल क्षेत्रमा २ सय होटल, २सयको हाराहारीमा रेष्टुरेन्ट, २सयको हाराहारीमा रहेका ट्रेकिङ ब्यवसायी, ट्राभल ब्यवसायी, लगायतका अन्य ब्यवसायीलाई सम्वोधन गर्न घरधनी पनि तयार भएको र ब्यवसायीपनि आफ्नो ब्यवसायलाई संचालन गर्न तयार भएको राजभण्डारीले जानकारी दिनुभयो ।
घरधनी र ब्यवसायीले संयुक्त रुपमा बैकको ब्याजमा पुर्नबिचार गर्न, बिद्युत, टेलिफोन, इन्टरनेटमा छुट दिने ब्यवस्था मिलाई दिन पनि सरकारलाई आग्रह गरेका छन ।
ठमेलका ब्यवसायी र घरधनीबीच भिन्न खाले समस्या भएकाले समस्यापनि भिन्न खालका भएकाले समस्याको समाधान घरधनी र ब्यवसायीले मिलाउनु पर्ने पनि घरधनी र ब्यवसायीले गरेका छन ।
ठमेलका कतिपय ब्यवसायीले घरभाडामा दिंदा सरकारलाई कर कम तिर्न दोहोरो कागज गरेको फेला परेकाले त्यो समस्या समाधान गर्नपनि अहिले हामी खटिएका छौ राजभण्डारीले भन्नुभयो ।
घरबहाल महंगो भएको कारण कतिपय ब्यापारीहरु भने घरधनीले जति नै छुट भएपनि त्यसले आफुहरुलाई सम्वोधन गर्न नसक्ने बताएका छन ।
घरधनी र ब्यवसायीबीच भएको सहमतिमा ३५ प्रतिशत देखि ७० प्रतिशत सम्म घरभाडा छुट दिएको पाइएको छ । हुने खाने घरबेटीले ७० प्रतिशत सम्म घरभाडा छुट दिएका छन भने अन्यले ३५ प्रतिशत सम्म छुट दिएको राजभण्डारीले जानकारी दिनुभएको छ ।
सुनसान अवस्थामा रहेको ठमेललाई बचाउनकालागि नेपालीहरु आएर खान र सामान खरिद गर्न पनि आग्रह गरेको उहांहरुले बताउनु भएको छ ।