घुस लिएको अभियोगमा इञ्जीनियर रंगेहात पक्राउ

0
Shares

बलेवा, । बागलुङको ढोरपाटन नगरपालिकाका इञ्जीनियर मिलन अधिकारी एक लाख घुस लिएको अभियोगमा पक्राउ परेका छन् ।
उनलाई अख्यितार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले पोखराको जिरो किलोमिटरबाट बुधबार साँझ रङ्गेहात पक्राउ गरेको जनाएको छ ।

ढोरपाटन नगरपालिकाको एक विकासे आयोजनाका उपभोक्ता समितिका पदाधिकारीसँग घुस लिँदै गरेको अवस्थामा उनी पक्राउ परेको अख्तियार पोखरा कार्यालयका प्रवक्ता मेघनाथ रिजालले बताउनुभयो ।

अधिकारी लामो समयदेखि पोखरामा बस्दै आएका थिए । घुस रकम लिएर सेवाग्राहीलाई अधिकारीले असार मसान्तको बहानामा पोखरा बोलाएको आयोगले जानकारी दिएको छ । आफूले गरेका काममा तलदेखि माथिसम्म सबैको चित्त बुझाउनुपर्ने भन्दै उनले एक लाख घुस मागेका थिए ।
सुराकीका आधारमा जिरो किलोमिटर पुगेको अख्तियारको टोलीले उनलाई रङ्गेहात पक्राउ गरेको रिजालले बताउनुभयो ।