सामुदायिक वनमा ब्यवसायीक खेती


मोतीराम तिमल्सिना,काभ्रे ।

मेहनतका साथ जोगाउँदै हरियालीले ढाकेको सामुदायिक बनमा उपभोक्ताहरुले ब्यवसायीक खेति शुरु गरेका छन् । टिमुर र दाँते ओखर खेतिबाट उपभोक्ताहरुले आयआर्जनको कार्य शुरु गरेका हुन् । हरियो रुख मात्र हेरेर, बनबाट समृद्यिको सम्भावना छैन भन्ने यर्थाथतालाइ मध्यनजर गर्दै जिल्लाका सामुदायिक वन समुहहरुले बिभिन्न किसिमका आयआर्जन दिने जातका विरुवाहरुको बृक्षारोपणको कार्यलाई तिब्र बनाएका हुन् ।

झाँडीदार र खाली जग्गा रहेको स्थानलाइ सदुपयोग गरी आयआर्जन गर्ने हेतुले बन क्षेत्रमा टिमुर, दाँते ओखर, बोधिचित्त, तेजपात लगायतका बिरुवा रोपणको सुरुवात गर्न समुहलाइ उत्प्रेरीत गरी सोको लागी सहजिकरण गरिएको सामुदायिक वन उपभोक्ता महासंघ बागमती प्रदेशका अध्यक्ष बिनोद सापकोटाले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७५/२०७६ देखि शुरुवात गरिएको ब्यवसायीक खेति बेलापाखा सामुदायिक बन उपभोक्ता समुहमा ६ हजार ५ सय बोट लगाईएको छ । त्यस्तै इन्द्रेश्वरी सामुदायिक वनमा ७ हजार वटा, सल्मीटार सामुदायिक बन उपभोक्ता समहुमा ६ हजार ५ सय टिमुरका बिरुवा लगाइएको छ ।

बालकुमारी सामुदायिक वन उपभोक्ता समुहमा ४ हजार ५ सय बोट, पालेको सामुदायिक बन उपभोक्ता समुहमा २ हजार ५ सय दाँतेओखर र तेजपातका बिरुवा लगाइएको छ र त्यसै गरी लेकपाखा सामुदायिक वन उपभोक्ता समुहमा ४ हजार ५ सय बोधिचित्तको बिरुवा रोपण गरिएको छ ।

त्यसैगरी गोशाईकुण्ड सामुदायिक बन उपभोक्ता समहुमा ३ हजार ५ सय रुद्राक्षको बिरुवा रोपण गरिएको सामुदायिक वन उपभोक्ता महासंघ बागमती प्रदेशका अध्यक्ष बिनोद सापकोटाले जानकारी दिनुभयो । बृक्षारोपण लगत्तै उक्त विरुवाबाट हुने आम्दानीले समुहका सदस्यहरुको आयआर्जन बढ्ने छ ।

नेपाल सरकार वन तथा भु.संरक्षण बिभाग बनजन्य उद्यम प्रबद्धन बिकास कार्यक्रमको अनुदान र समुहको आधा आधा लगानीमा उक्त कार्यक्रम जिल्लाका विभिन्न सामुदायिक बन उपभोक्ता समुहमा शुरु गरिएको अध्यक्ष सापकोटाले बताउनु भयो । उक्त कार्यक्रमबाट बन क्षेत्रमा आम्दानीको बिकल्पको राम्रो सम्भावना रहेको बेलापाखा सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष नारायण प्रसाद आर्चायले जानकारी दिनुभयो ।