निजी प्रयोगशालाले पाए पीसीआर परीक्षणको अनुमति


नेपाल समाचारपत्र, बुटवल
प्रदेश–५ का २ वटा निजी प्रयोगशालाले कोभिड–१९ पीसीआर परीक्षणको अनुमति पाएका छन् । काठमाडांै उपत्यकाकाबाहिर नेसनल प्याथल्याब बुटवल र बागेश्वरी प्रयोगशाला कोहलपुर बाँकेले पीसीआर परीक्षणको अनुमति पाएका छन् ।

सरकारले ४ वटा काठमाडांै उपत्यकाका, २ वटा उपत्यका बाहिरका गरी ६ वटा निजी प्रयोगशालालाई कोभिड–१९ को पीसीआर परीक्षणको अनुमति दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मापदण्ड पुगेका ६ निजी प्रयोगशालालाई पीसीआर परीक्षण गर्न अनुमति दिएको प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले बताउनुभयो ।

परीक्षण अनुमति पाउनेमा उपत्यकाभित्रका स्टार अस्पताल, काठमाडौं मेडिकल कलेज, सेन्ट्रल डाइग्नोस्टिक ल्याब्रोटोरी र सूर्या हेल्थ केयर सेन्टर रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पीसीआरको परीक्षणको दायरा बढाउनका लागि गत जेठ २२ गते इच्छुक निजी प्रयोगशालालाई प्रस्ताव आह्वान गरेको थियो । उक्त प्रस्तावमा १९ वटा प्रयोगशालाले आफूले पीसीआरको परीक्षण गर्न प्रस्ताव दर्ता गराएका थिए । हामीले प्रस्ताव दर्ता गराएका प्रयोगशालाको मापदण्ड हेरेर पहिलो चरणमा ६ वटा प्रयोगशालालाई परीक्षण गर्न दिएका छौं । अन्य प्रयोशालालाई मापदण्ड पुगेपछि अनुगमन गरेर परीक्षणका लागि अनुमति दिन्छौं ।

ती १९ मध्ये ९ वटा प्रयोगशालाको भने आफ्नै पीसीआर परीक्षण गर्ने मेसिन रहेको थियो । ती ६ प्रयोगशालाले आफैं नमुना संकलन गर्ने नभई मन्त्रालयले उपलब्ध गराएको नमुना परीक्षण गर्नेछन् । यसरी परीक्षण गरेबापत ती प्रयोगशालाले एक वटा नमुना परीक्षणको रु. ५ हजार ५ सय शुल्क लिन पाउनेछन् । यसअघि सरकारले सातै प्रदेशका सरकारी एक÷एक प्रयोगशालामा ५ हजार ५ सय रुपियाँ शुल्कमा पीसीआर विधि परीक्षण गर्न पाउने व्यवस्था गरेको छ ।

ती प्रयोगशालामा प्रदेश नं १ मा कोशी अस्पताल, प्रदेश नं २ मा नारायणी अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश नं ५ मा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, कर्णाली प्रदेशमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेत र सुदूरपश्चिम प्रदेशमा प्रादेशिक प्रयोगशाला धनगढीको प्रयोगशाला रहेका छन् ।