पहिरोले झन्डै ३ सय घर विस्थापित


अनिल खत्री, गुल्मी

गुल्मीको इस्मा गाउँपालिकामा गएको पहिरोबाट झन्डै ३ सय घर–परिवार विस्थापित भएका छन् ।
असार १८ गते जिल्लाका विभिन्न स्थानमा गएको पहिरोमा २ सय ४८ घर–परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिनुभयो । अविरल वर्षासँगै गएको पहिरोले इस्मा गाउँपालिकामा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

पहिरोले गाउँपालिकाको वडा नम्बर १ मा १ सय ३६ घर–परिवार, वडा नम्बर ४ मा ५० घर–परिवार र वडा नम्बर ६ मा ८ घर परिवार विस्थापित भएका पन्थीले जानकारी दिनुभयो ।

पहिरोबाट मुसिकोट नगरपालिकामा ५४ घर–परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । बाढी–पहिरोबाट हुन सक्ने क्षतिलाई मध्यनजर राखेर प्रत्येक स्थानीय तहले विपद् व्यवस्थापन कोषमा थप बजेट छुट्याउने भएका छन् ।

जिल्लाभित्र जुनसुकै पालिकामा हुने हरेक विपद्को सामना गर्न प्रभावित पालिकालाई सबै पालिकाले आर्थिक भौतिक, तथा मानवीय सहयोग गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताउनुभयो । प्रभावित क्षेत्रमा राहत वितरणका लागि सरोकारवाला सबै संघ–संस्था कार्यालयले पालिकासँग समन्वय गरी एकद्वार प्रणालीबाट मात्र सहयोग गर्ने भएका छन् ।

मनसुनको समयमा नदीजन्य पदार्थ उत्खनन हुन नदिने, उत्खनन गरेको पाइएमा तत्कालै ढुवानीका साधनहरूलाई जिल्ला प्रहरी कार्यालय, गुल्मीले नियन्त्रणमा लिई कारबाहीका लागि सम्बन्धित पालिकामा पठाउने निर्णय गरिएको प्रशासकीय अधिकृत पन्थीले जानकारी दिनुभयो ।

अवरुद्ध संरचना निर्माण गरिने
पहिरोबाट इस्मा गाउँपालिका र मुसिकोट नगरपालिकामा गएको पहिरोले मूल सडक नै अवरुद्ध हुँदा खोज तथा उद्धार कार्यमा प्रत्यक्ष असर परेको छ । विस्थापित घर–परिवारलाई खानेपानी, विद्युत् आपूर्ति, सिँचाइ, टेलिफोन, राहत वितरणलगायत अन्य व्यवस्थापन कार्यमा समस्या परेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लाका अन्य इलाकामा पनि पहिरोबाट सडक अवरुद्ध भएकाले पूर्वाधार विकास कार्यालय, मदन भण्डारी राजमार्ग आयोजना कार्यालय, कालीगण्डकी कोरिडोर सडक निर्माण कार्यालय हर्मिचौर, सडक डिभिजन कार्यालय पाल्पा, शहरी विकास तथा भवन कार्यालय पाल्पा, सडक डिभिजन कार्यालय शिवपुर, संघीय आयोजना कार्यान्वयन इकाइ रूपन्देहीले आफ्नो क्षेत्राधिकारभित्रका सडक तत्काल सुचारु गर्ने÷गराउने निर्णय गरेको छ ।

क्षतिग्रस्त भएका सडक पूर्वाधार, गोठ, विद्यालय, उद्योग व्यवसाय, सिँचाइ कुलो नहर, खानेपानीका संरचना, खेतवारी, बाली, पशु चौपाया नोक्सानीको पूर्ण विवरण सम्बन्धित कार्यालयले संकलन गरी यशासक्य चाँडो जिल्ला विपद् व्यवस्थापन समितिलाई पेस गर्ने निर्णय भएको बताइएको छ ।

भत्किएका विद्यालयका संरचनाहरूको पुनर्निर्माणको कार्य शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीले गर्ने निर्णय भएको छ । करिब २ सय ५० जोखिमपूर्ण घरको संरक्षणका लागि आवश्यक पर्ने ५ हजार थान तारजाली लगाउने कार्य जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय गुल्मी र भू तथा जलाधार संरक्षण कार्यालय पाल्पाले गर्ने निर्णय गरिएको प्रशासकीय अधिकृत पन्थीले जानकारी दिनुभयो ।