चल्दै नचलेको आईटी पार्कमा सुरक्षण मुद्रण केन्द्र


मोतीराम तिमल्सिना, काभ्रे

चल्दै नचलेको आईटी पार्कमा नेपाल सरकारले सञ्चालन गर्न लागेको सुरक्षण मुद्रण केन्द्रको निर्माण कार्य शुरु भएको छ । काभ्रे निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित गोकुल बास्कोटा सञ्चारमन्त्री भएलगत्तै उक्त स्थानमा मन्त्रालय मातहत रहने गरी सुरक्षण मुद्रण केन्द्र स्थापनाको कार्य शुरु भएको थियो ।

पूर्वमन्त्री बास्कोटाले मुलुककै हितका लागि पाँच वर्षभित्र नेपाललाई आत्मनिर्भर बनाउने योजना बनाउनुभएको थियो । ‘मन्त्रालय एक्लैको मुद्रण प्रेसको लागत साढे १८ अर्ब हो, मन्त्रालयले परराष्ट्रमार्फत छापिने राहदानी, अर्थ मन्त्रालयमार्फत छापिने राजस्व स्टिकर तथा यातायात व्यवस्था मन्त्रालयमार्फत छापिने डिजिटल लाइसेन्स समेतको एक वर्षको खर्च जोडेर २३ अर्ब पुगेको थियो’, समितिका एक सदस्यले भने– ‘मन्त्रीको हुर्मत लिने गरी प्रविधिको दुरुपयोग गर्दै लागत खर्च बढाएर अनियमितता गर्न खोज्यो भन्ने हल्ला निराधार हो ।’

आईटी पार्कमा शुरु हुन लागेको उक्त केन्द्रले पुरानो आईटी पार्कका भवनहरुको पुनर्निर्माण गरिसकेको थियो । ‘लकडाउन अघि आईटी पार्क खुमलटारमा सरिसकेको छ’, सुरक्षा गार्ड सानुबाबु थापाले भन्नुभयो–‘आईटीपार्क सरेलगत्तै सुरक्षण मुद्रण विकास समितिले केन्द्रको कार्य शुरु गरेको छ ।’ अहिले धमाधम केन्द्रको कार्य भइरहेको छ ।

आईटी पार्कमा रहेको भवनको मर्मत गरिएको छ । भवनमा जलेका बत्तीहरु फेरिएका छन् भने भत्किएका स्थानहरु मर्मत भएको छ । खानेपानीका लागि पानी ट्यांकी निर्माण शुरु गरिएको छ । आईटी पार्कका पुरानो मुख्य भवनमा काठमाडौं विश्वविद्यालयको कम्प्युटर शाखा रहेको थियो । केही सामानहरु सारिसकिएको छ । धाराहरु मर्मत गर्दै, भवनहरुमा रङ्ग लगाउँदै मुद्रण केन्द्रका बोर्डहरु राखिएका छन् ।

चालू आर्थिक वर्षभित्र सुरक्षण मुद्रणसम्बन्धी मेसिन तथा उपकरण खरिदका लागि उपयुक्त प्रविधिकहरुको सहयोगमा बोलपत्र कागजात तयार गरी प्रचलित नियमानुसार खरिद प्रक्रिया अगाडि बढाइने योजना रहेको थियो । त्यसका लागि सरकारले मन्त्रालयमार्फत सरकार टु सरकार खरिद गरी अनियमितता हुन नदिने योजना अनुसार प्रस्ताव माग गरी अध्ययन गरिरहेको थियो ।

सुरक्षण मुद्रण केन्द्रको प्रारम्भिक चरणमा अनुमानित ५ सय जनशक्तिले प्रत्यक्ष रोजगारी पाउनेछन् । २५ हजार जनशक्तिले अप्रत्यक्ष रुपमा सुरक्षण मुद्रणसम्बन्धी सेवा प्रवाह गर्ने कार्यमा संलग्न भई सरोकारवाला संस्थामा रोजगारी पाउने सम्भावना छ ।

सुरक्षण मुद्रण केन्द्रले कार्य सञ्चालन गरेपश्चात सुरक्षण मुद्रणको कार्यमा विदेशी कम्पनीमा खर्च व्यहोरेको अनुमानित १० अर्ब स्वदेशमा लगानी हुने थियो । सुुरक्षण मुद्रणसम्बन्धी सेवा र वस्तु विदेशी बजारमा उपलब्ध गराएबापत थप १० अर्ब रुपियाँ राष्ट्रिय ढुकुटीमा संकलन हुने थियो ।

सुरक्षण मुद्रण केन्द्रको सफलताले राष्ट्रिय अर्थतन्त्रमा आत्मविश्वास जागृत गर्ने, सुरक्षण मुद्रणको कार्य सञ्चालनले अप्रत्यक्ष रुपमा पर्यटन क्षेत्रमा योगदान पुग्थ्यो तर मन्त्रीले राजीनामा दिएपछि सुरक्षण मुद्रण केन्द्रको कार्य अलपत्र परेको छ ।

राजनीतिक शिकार भएका बास्कोटाले जिल्लाका लागि अन्य थुप्रै परियोजना अगाडि बढाउनुभउको थियो । विमानस्थल, प्रतिरक्षा विश्वविद्यालय, खानेपानी, सिँचाइ, मदन भण्डारी विश्वविद्यालयलगायतका संरचना निर्माणको कार्य शुरु भएको छ ।