श्रमजीवी पत्रकारको पेसा नै संकटमा !


नेपाल समाचारपत्र, बुटवल

प्रगतिशील पत्रकार संघ रूपन्देहीको आयोजनामा बुटवलमा वर्तमान परिस्थितिमा श्रमजीवी पत्रकारहरूको अवस्थाबारे गरिएको छलफलमा पत्रकार महासंघ प्रदेश, जिल्ला, पत्रकारहरूसँग सम्बन्धित विभिन्न संघ–संगठनका प्रतिनिधिले कोरोना महामारीका कारण श्रमजीवी पत्रकारको पेसागत असुरक्षा बढेको ठहर गरिएका छन् ।

उनीहरूले देशभरका पत्रकारहरूको पेसागत सुरक्षाको ग्यारेन्टी गर्न मिडिया सञ्चालक र सरोकारवाला निकायलाई आग्रहसमेत गरेका छन् । कोरोना भाइरसले निम्ताएको लकडाउनका कारण देखाउँदै कुनै पनि मिडिया हाउसले पत्रकारलाई जागिरबाट निकाल्न नपाइने र निकालिए त्यसको प्रतिवाद गरिने उनीहरूले चेतावनी दिएका छन् ।

मिडिया सञ्चालनका लागि सञ्चालक समस्या भए पनि पत्रकारलाई जागिरबाट निकाल्न नपाइने र पत्रकारका समस्या र मिडियाहाउसका समस्या समाधानका लागि छलफल गरी निकास निकाल्न सकिने वक्तहरूको भनाइ छ । पत्रकारहरूको पक्षमा सबै पक्षलाई एकताबद्व बनाउने उद्देश्यले अन्तरक्रियाको आयोजना गरिएको प्रगतिशील पत्रकार संघ नेपाल रूपन्देही अध्यक्ष श्यामलाल पोखरेलले जानकारी गराउनुभयो ।

कार्यक्रममा बोल्दै पत्रकार महासंघ प्रदेश पाँचका उपाध्यक्ष भरत केसीले श्रमजीवी पत्रकारहरूलाई काम गरेको पैसा दिन नसक्ने मिडिया हाउस बन्द भए केही फरक नपर्ने बताउँदै न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको तलब र नियुक्तिपत्र दिन मिडिया हाउसहरूलाई आग्रह गर्नुभयो । श्रमजीवी पत्रकार र मिडियाका समस्याबारे छलफल गरी निकास निकाल्नुपर्ने बताउँदै विज्ञापन नीति ल्याउन सरकारलाई दबाब दिनुपर्ने बताउनुभयो ।

प्रगतिशील पत्रकार संघ, नेपालका सल्लाहकार सुमन अधिकारीले श्रमजीवी पत्रकारको पेसागत असुरक्षा बढ्दै गएकाले पेसागत एकता आवश्यक रहेको बताउनुभयो । श्रमजीवी पत्रकारहरू पेसागत, आर्थिक र भौतिकरूपले असुरक्षित रहेको बताउँदै पेसागत सुरक्षाका लागि आधार खोज्न जरुरी रहेको बताउनुभयो ।

राज्य र राज्यका अंगहरूबाट पत्रकारको सुरक्षा तथा संरक्षण हुन नसकेकाले पेसागत असुरक्षा बढेको उहाले बताउनुभयो । पत्रकार महासंघ रूपन्देहीका संस्थापक अध्यक्ष बालकृष्ण चापागार्इंले पत्रकारका समस्या र मिडिया हाउसहरूका समस्या चुनौतीका रूपमा अगाडि आएको बताउनुभयो । संविधानसभा सदस्य तथा दलित पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विनोद श्रमजीवीले पत्रकारको मापदण्ड निर्धारण नभएकाले पत्रकारले संकट भोग्नुपरेको बताउनुभयो ।

उहाँले कोरोना भाइरस र अन्य कारण देशभरका श्रमजीवी पत्रकार चरम संकटमा परेका अवस्थामा पत्रकार महासंघ गम्भीर बन्न नसकेको र सरकार मुकदर्शक बनेको टिप्पणी गर्नुभयो । पत्रकार महासंघ रूपन्देही उपाध्यक्ष दिनेश पाण्डेले श्रमजीवी पत्रकारहरूलाई बिदा गरेर कुनै पनि मिडिया हाउस उम्कन नपाउने बताउनुभयो ।

चाँदनी नेपालका भवानीप्रसाद पाण्डेले पेसागत सुरक्षाको आधार खोज्नुपर्ने बताउँदै बिनानियुक्तिपत्र काम गर्दा श्रमजीवी पत्रकारहरू समस्यामा परेको तर्क गर्नुभयो ।

कार्यक्रममा डब्ल्यूडब्ल्यू जेकी भगवती पाण्डे, पे्रस सेन्टर रूपन्देही सदस्य लक्ष्मण पौडेल, फोनिज रूपन्देही अध्यक्ष सोनु थापा, सञ्चारिका समूह रूपन्देही अध्यक्ष निरू गौतम, नेपाल पर्यटन पत्रकार महासंघ प्रदेश पाँचका संयोजक भुवन कार्की, पत्रकार एनबी कँडेललगायतले श्रमजीवी पत्रकारहरूको पेसागत सुरक्षाका साथै अधिकार स्थापितका लागि देशभरका पत्रकारबीच एकता र सहकार्य आवश्यक पर्नेमा जोड दिनुभयो ।