म्याग्दी बाढीपहिरो : बेपत्ता भएका ३४ जनामध्ये तीनको शव भेटियो, हेलिकप्टर फिर्ता (फोटोसहित)

0
Shares

न्युज अफ नेपाल, म्याग्दी ।

गए रातीदेखि परेको अविरल वर्षाका कारण म्याग्दीमा बाढी र पहिरोमा पुरिएर ३१ जना बेपत्ता भएका छन्भने अहिलेसम्म तीन जनाको मात्रै शव भेटिएको छ । बाढी तथा पहिरोमा परेर सबैभन्दा धेरै धवलागिरी गाउँपालिका–६, मराङको विभिन्न स्थानमा गरी २१ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

बाढी तथा पहिरोमा परेर मालिका–७ बिमका ९ जना, धवलागिरी–७ ताकमका ३ जना र मालिका–६, दरबाङस्थित दुखुखोलाले बगाउँदा १ जना बेपत्ता भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक किरणजंग कुँबरले बताउनुभयो । बेपत्तामध्ये धवलागिरी गाउँपालिकाका दुईजना तथा रघुगंगा–६, पाखापानीको ठाडाखानीमा खोलाले बगाउँदा ५० वर्षीय नलीमान छन्त्यालको शव भेटिएको उहाँले जानकारी दिनुभयो ।

धवलागिरीको मराङमा बाढीपहिरोमा परेर बेपत्ता भएकाहरुको खोजीकार्य जारीरहेको छ भने हालसम्म ९० जनाको उद्धार गरिएको प्रनाउ कुँबरले बताउनुभयो । पहिरोमा परेर मराङमा ६ जना घाइते भएका छन् । बाढीपहिरोका कारण अलपत्र भएकाको ताकम प्रहरी चौकीबाट गएको प्रहरीको टोली, स्थानीयवासी, वडाका जनप्रतिनिधि र स्वयंसेवकले उद्धार गरिरहेका छन् ।

बाढीपहिरोमा फसेका र पुरिएकाहरुको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर गएको भए पनि मौसम खराबीका कारण घटनास्थलसम्म पुग्न नसकेपछि फर्किएको छ । सदरमुकाम बेनीबाट उद्धारका लागि गएको नेपाल प्रहरी र नेपाली सेनाको टोली पनि अहिलेसम्म घटनास्थल पुग्न सकेको छैन । बाढीपहिरोले बेनी–दरबाङ सडकखण्डको विभिन्न स्थानमा क्षति पुर्‍याएको हुँदा पहिरो पन्छाउँदै जानुपर्ने भएकाले उद्धारको टोली घटनास्थल पुग्न ढिलाई भएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो ।

बाढी तथा पहिरोले मराङमा २० घरधुरी, बिममा १० घरधुरी र ताकमका ५ घरधुरीमा भौतिक क्षति पुर्‍याएको छ । त्यस्तै रघुगंगा नदीमा आएको बाढीले बेनी–जोमसोम सडकखण्ड अन्तर्गत गलेश्वरको रघुगंगा नदीमाथिको पक्की बेलिब्रिजलाई पूर्ण रुपमा क्षति पु¥याउँदा मुस्ताङसँगको सीधा यातायात सम्पर्कबिच्छेद भएको छ । उक्त बाढीले गलेश्वरका २१ घर परिवार उच्च जोखिममा परेपछि ८५ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।