कालीगण्डकी नदीमा पानीको बहाव २७ वर्ष यताकै उच्च, सेतीबेणी जोखिममा

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत ।

चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको उच्च हिमालय क्षेत्रबाट सुरु भएर बग्ने कालीगण्डकी नदीमा पानीको सतहले २७ वर्ष यताकै उच्च बिन्दु पार गरेको छ ।

नदीको माथिल्लो बहाव क्षेत्र मुस्ताङको जोमसोम देखि म्याग्दीको उत्तरी क्षेत्रमा गए रातिदेखि नै भारी बर्षा भएका कारण नदीमा पानीको बहावले उच्च विन्दु पार गरेको हो।

२०५० साल साउन महिनामा कालीगण्डकी नदीले ९ गेज मिटरको उचाइ छोएको थियो , त्यसको ठिक २७ वर्ष पछि उक्त विन्दु पार गरेको कालीगण्डकीमा गेज मिटर मापन (पानीको वहाव माप) गर्ने गेज रिडर कृष्णबहादुर सुवेदीले बताउनुभयो । प्रत्येक वर्ष कालीगण्डकी नदीले वर्षा याममा पानीको बहाव बढ्दा सरदर ७ देखि ८ गेज मिटरको उचाइ छुने गरेको भए पनि यो वर्ष ती विगतका सबै रेकर्ड तोडेर उच्च विन्दु पार गरेको सुबेदीले जानकारी दिनुभयो । सुवेदीले विगत २९ वर्षदेखि आँफुले कालीगण्डकी नदीमा गेज मिटर रिडिङको काम गर्दै आउनुभएको छ ।

सेतीबेणी जोखिममा, कालीगण्डकी ए का सबै ढोका खोलिए

कालीगण्डकी नदीमा आएको बाढीका कारण पर्वत, गुल्मी र स्याङजाको सिमानामा पर्ने सेतीबेणीबजार सबैभन्दा बढी खतरामा परेको छ ।

कालीगण्डकी ए जलबिद्युत आयोजनाले बनाएको जलासयको सतह बढ्दै जाँदा बाढीको समयमा बजार र बिश्वकै सबैभन्दा ठुलो शालिग्राम शिला पनि डुबानमा पर्दै आएको छ । सेतीबेणी बजारलाई डुबानबाट बचाउन कालीगण्डकी ए जलबिद्युत केन्द्रको बाँधका सबै ढोका खोलिएका छन । पर्वत र स्याङनजा प्रशासनले ढोका खोल्न आग्रह गरेको छ । जलबिद्युत केन्द्रमा ४२ ढोका रहेका छन । बाढीको खतरा भएपछि सबैढोका खोल्न निर्देशन दिइएको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताउनुभयो ।

कालीगण्डकी नदीका दुबै किनारमा कालीगण्डकी करिडोर लोकमार्ग निर्माण भैरहेको छ । कालीगण्डकी र सहायक नदी तथा खोलाहरुमा पनि सडकमा खनिएको ढुंगा, बालुवा र माटो यही जलासयमा आएर भरिने थुप्रिने भएकाले थप जोखिम भएको बढेको छ । स्याङजा तर्फ आँधीखोलामा बालुवाको टापु नै बनेको स्याङजाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताउनुभयो । सेतीबेणी डुबानमा पर्दा सबैभन्दा पहिले स्याङजा तर्फको भूभाग होचो भएका कारण बढी खतरामा रहने गरेको छ । जलासयबाट बालुवा निकाल्नु पर्ने माग स्थानियले गर्दै आएपनि वातावरणीय कारण देखाएर निकाल्ने गरिएको छैन । यसले गर्दा बर्षेनी डुवानको खतरा बढेको सेतीबेणीका स्थानियबासी रबि भट्टराईले बताउनुभयो ।