चौतर्फि आलोचना भएपछि जी न्युजका प्रधान सम्पादक चौधरीले माफी माग्दै ट्वीट हटाए


न्युज अफ नेपाल, काठमाडौँ ।

चौतर्फि आलोचना भएपछि भारतीय जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले नेपालसम्बन्धी गरेको ट्वीट हटाएका छन् ।

जी न्युजले प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूतबारे भ्रमपूर्ण समाचार सम्प्रेषण गरेपछि बिहीबार नेपालका केबल अपरेटरहरूले भारतीय समाचार च्यानलहरू बन्द गरेका थिए । भारतीय समाचार च्यानलहरू बन्द गरेपछि जी न्युजका प्रधान सम्पादक चौधरीले नेपालीहरू भारतीय समाचारवाचकहरूसँग नै डराएको र सेनाको जरूरी नपरेको भन्दै ट्वीट गरेका थिए । चौधरीको यो ट्वीटलाई नेपालीलगाएत भारतीयहरूले पनि विरोध गरेपछि उनले ट्वीट डिलिट गरेका छन् ।

‘मेरो यो ट्वीटले नेपालमा रहेका हाम्रा दर्शक आहत भएका छन्। यहाँ भारतमै पनि धेरैजसो मान्छेहरूले यो विचार ठिक नभएको भनेर लेखेका छन्। हुन सक्छ की मैले समाचारहरू आएपछि आवेशमा आएर प्रतिकृया दिएँ होला। यो मञ्च अभिव्यक्तिको लागि हो, आहत हुन होइन। त्यसैले खेद जनाउँदै मैले यो ट्वीट हटाएको छु,’ उनले ट्वीटरमा लेखेका छन्।