मास्क : न मुखमा न त फोहरमा


न्युज अफ नेपाल, हेटौंडा ।

कोरोना संक्रमित पहिलो व्यक्ति भेटिएको खबरपछि हेटौँडा बजार अकस्मात् सुनसान बनेको थियो । लकडाउन सुरु भएसँगै मानिस सडकमा निस्किन छाडेका थिए ।

पसलका सटर बन्द भए, रेष्टुराँमा परिकार पाक्न छाड्यो, स्कुल/कलेजमा ताला लागे, सिनेमाहल, पार्टी प्यालेस सबै बन्द भए । लगभग तीन महिनापछि सरकारले लकडाउन केही खुकुलो पार्ने निर्णय गर्‍यो । लकडाउन खुकुलो भएसँगै बजार पनि क्रमशः खुल्दै गयो ।
कोरोनाको त्रासका कारण पोकाका पोका मास्क, बोतलका बोतल सेनिटाइजर, पञ्जा र हातधुन साबुन प्रशस्त बिके । त्यसको प्रयोग गर्नेहरु निकै देखिए । प्रयोग भइसकेका त्यस्ता सामग्री प्रयोगकर्ताले फोहरका रुपमा फाले ।

हेटौंडा बजारमा करिब एक महिनाअघिसम्म फोहरको थुप्रोमा मास्क खुब भेटिन्थ्यो । मास्क, सेनिटाइजरका बट्टा, पञ्जालगायत कोरोनाबाट बच्ने स्वास्थ्य सुरक्षा साबधानीका सामग्री हेटौंडाबासीले फोहर संकलन गर्ने गाडीमा हाल्ने गर्थे ।

हेटौंडा उपमहानगरपालिकामार्फत् हेटौंडामा फोहर संकलन गर्दै आएको ग्रीन एण्ड क्लिन सिटी सर्भिसेज कम्पनीका कर्मचारीले एक महिनाअघिसम्म प्रयोग गरिसकिएका मास्क घर र कार्यालयहरुबाट खुब संकलन गर्ने गरेका थिए । कुल फोहरमध्ये त्यस्ता फोहरको परिमाण करिब २० प्रतिशत हुन्थ्यो ।

लकडाउन सुरु भएको सातामा थुप्रै मास्क, सेनिटाइजरका बट्टाहरु फाल्ने गरिएको थियो । तर, हाल त्यस्ता बस्तु फोहरमा भेटिने क्रम निकै कम छ । कोरोनालाई अटेर गर्दै यहाँका मानिस मास्क लगाउनै छाडेका छन् कि भन्ने लाग्छ ।

काम विशेषले वा घुमघामका लागि हेटौंडा बजार पुगेकामध्ये मुस्किलले १० प्रतिशतले मात्र मास्क लगाएको देख्न सकिन्छ । मास्क कम प्रयोग भएसँगै फोहरको थुप्रोमा मास्क तथा सेनिटाइजरका बोतल कम देखिन थालेको फोहर संकलनका लागि घरघर जाने ग्रीन एण्ड क्लिन सिटी कम्पनीका कर्मचारी रामबहादुर सिन्तानले बताउनुभयो ।

उहाँका अनुसार कडा लकडाउनको समयमा फोहर उठाउँदा घरपिच्छेबाट मास्क संकलन हुने गरेको थियो, सेनिटाइजरका साना बट्टाको त चाङै लाग्थ्यो । तर, लकडाउन खुकुलो भएसँगै र त्यसअघिदेखि नै मास्क फोहरका रुपमा भेटिन छाडेको उहाँले अनुभव सुनाउनुभयो ।
सिन्तान पदमपोखरी, नेवारपानी, बस्तीपुर, बसामाडी, चौघडा, थानाभर्‍याङलगायत ठाउँमा पुगेर फोहोर संकलन गर्दै आउनुभएको छ । उहाँ करिब ७ दिनमा फोहर संकलनका लागि गाडी लिएर घरघर पुग्ने गर्नुभएको छ ।

हेटौंडा–४ र ५ वडाका फोहर संकलक दीपक बिक भन्नुहुन्छ– ‘बैशाख/जेठसम्म मास्क निकै भेटिथ्यो । तर, हाल निकै कम छ । ‘धेरै नै कम छ,’ बिक भन्नुहुन्छ—’कर्रा, कमलडाँडा, शान्तिनगरलगायत ठाउँमा फोहर संकलन गर्ने क्रममा स्थानीयले प्लाष्टिकको झोलामा पोको पारेर मास्क र सेनिटाइजरलगायत फाल्ने गरेका थिए ।’

ग्रीन एण्ड क्लिन सिटी कम्पनी सञ्चालक नवराज खतिवडाका अनुसार सुरुमा कोरोनाको डरले होला सबैले मास्क लगाउँथे । लगाइएको मास्क प्रयोगपछि फाल्दा फोहर संकलन गर्ने गाडीमा अधिक देखिन्थ्यो ।

आजभोलि कोरोनाको डर हराउँदै गएर मास्कको कम प्रयोग हुन थालेपछि फोहरको थुप्रोमा कम भेटिएको उहाँले आंकलन गर्नुभयो । कम्पनीका कर्मचारीका अनुसार प्रयोग गरिएका मास्क फोहरको थुप्रोमा भेटिन छाड्नु मास्कको कम प्रयोग गरिएको भन्ने बुझिन्छ ।

हाल हेटौंडा बजारमा निस्कँदा मानिसले कोरोना बिर्सिसके कि भन्ने प्रतीत हुन्छ । धेरैको मुखमा मास्क छुटिसकेको देखिन्छ । सामाजिक र भौतिक दुरी भन्ने कुरा त उनीहरुको दिमागबाट हटिसकेझैं लाग्छ ।

लकडाउन जारी रहेका बेला सडकमा भिडभाड बढ्न थालेपछि गृह मन्त्रालयले घरबाहिर निस्कँदा मास्क प्रयोग अनिवार्य गरेको छ । सोमबार गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय र देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिँदै सडकमा हिँड्दा मास्क प्रयोग अनिवार्य गराउन भनेको हो । यहीअनुसार हेटौंडा नगरपालिकाले पनि स्थानीयलाई आग्रह गरेको छ । स्थानीय प्रहरीले मास्क प्रयोग नगर्ने करिब १ सय जनालाई कारबाही गरिएको बताएको छ ।

लकडाउन जारी रहेका बेला आमसर्वसाधारणलाई काम नपरी घर बाहिर ननिस्कन नगरपालिकाले भनेको छ । मास्क नलगाई अटेर गरी जथाभावीरुपमा सडकमा निस्किए कारबाहीको चेतावनी दिइएको छ ।

हेटौंडा कोरोना संक्रमणको खतरामुक्त छैन । लकडाउनसमेत जारी छ । यस्तो अबस्थामा काम नपरी घरबाट बाहिर ननिस्कन र निस्कनै परे मास्क प्रयोग गर्न भनिएका हो ।