पर्वतमा पनि मास्क अनिवार्य


नेपाल समाचारपत्र, पर्वत ।

पर्वतमा मास्क नलगाई घरबाहिर निस्कनेलाई कारबाही गरिने भएको छ ।

मास्क नलगाई घरबाहिर निस्कनेहरूलाई पक्राउ गर्न गृह मन्त्रालयले निर्देशन जारी गरेसँगै जिल्ला प्रशासन कार्यालय पर्वतले सूचना जारी गर्दै कारबाही गर्ने चेतावनी दिएको हो । जिल्ला प्रशासन कार्यालय पर्वतले मंगलबार सूचना जारी गर्दै माक्स नलगाई हिँड्नेलाई संक्रमण रोग ऐन–२०२० अनुसार कारबाही गरिने उल्लेख गरेको छ । कोरोनाको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले यसलाई प्रभावकारी बनाउन लागिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताउनुभयो ।

उहाँले गृहको निर्णय कार्यान्वयन गराउन जिल्ला मातहतका सम्पूर्ण सुरक्षा निकायलाई निर्देशन दिइसकेको र सञ्चारमाध्यममार्फत जानकारी गराउने कामसमेत भएको प्रजिअ रेग्मीले जानकारी दिनुभयो । ‘मास्क लगाएर र भौतिक दूरी कायम गराउँदा पनि नियन्त्रण गर्न धेरै सहयोग पुग्छ ।’ –उहाँले भन्नुभयो ।

गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्कनेलाई नियन्त्रणमा लिन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो । गृह र जिल्ला प्रशासनको निर्देशनसँगै प्रहरीले पनि सक्रियता देखाउन थालेको छ ।

बुधबारदेखि प्रहरीले सम्झाउने र अटेर गर्नेलाई पक्राउ गरेर कारबाही गर्ने तयारी गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी विश्वराज अधिकारीले जानकारी दिनुभयो । ‘पहिलो दिन भएकाले सम्झाउने तथा मास्क लगाउन अनुरोध गरिन्छ’, उहाँले भन्नुभयो– ‘अटेर गरेर मास्क नलाई घरबाहिर निस्किएको पाए जो–कोहीलाई पनि कारबाही हुन्छ ।’ जिल्ला प्रशासन कार्यालय पर्वतले न्यूनतम २ मिटरको दूरी कायम गर्न, भीडभाड नगर्न, साबुनपानी तथा स्यानिटाइजरले पटक–पटक हात धुन अनुरोध गरेको छ ।

पर्वत भित्रिने र जिल्लाबाट बाहिर जाने सवारीसाधनले अनिवार्यरूपमा पास लिन र पासमा उल्लेख भएका व्यक्तिबाहेक अन्यलाई यात्रा नगराउनसमेत अनुरोध गरेको छ । कार्यालयको अनुरोध अवज्ञा गर्ने सबैलाई संक्रमण रोग ऐन–२०२० अनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।