बालकको शव अझै भेटिएन


विमल विष्ट, डोटी ।

डोटीको सेतीनदीमा नुहाउन गएका बेला बेपत्ता भएका जिल्लाको केआई सिंह गाउँपालिका–४ का ९ वर्षीय बालक राहुल भुलको शव अझै भेटिएको छैन । मंगलबार दिउँसो भैंसी चराउन गएका बेला सेतीनदीमा नुहाउने क्रममा उनी बगेर एकाएक बेपत्ता भएका थिए ।

बेपत्ता बालकको खोजीकार्यका लागि मंगलबारदेखि प्रहरी टोली परिचालन गरिए पनि वर्षात्का कारण नदीमा पानीको बहाव बढ्नुका साथै पानी धमिलो भएका कारण खोजी कार्यमा समस्या भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा एसपी दिलीपसिंह देउवाले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘बालक बेपत्ता भएको खबर पाएदेखि खोजबिनका लागि प्रहरी चौकी वायलबाट प्रहरी टोली खटाएका छौं, नदीमा पानी धमिलो र पानीको बहाव पनि बढेकाले खोजी कार्यमा समस्या भएको छ ।’

बेपत्ता भएका बालकको सेतीनदी किनारमा लुगाकपडासहित अन्य सर–सामानहरू भेटिएको प्रहरीसँग खोजीकार्यका गएका स्थानीयबासी मीनबहादुर मलासीले जानकारी दिनुभयो । सेतीनदीमा नुहाउन जाने क्रममा वर्षेनी दर्जनौं स्थानीयले अकालमै ज्यान गुमाउने गरेका छन् ।