पाथीभरा मन्दिर पदमार्गमा ट्रस्ट मार्ग


दिलकुमार लिम्बु, ताप्लेजुङ । 

ताप्लेजुङको प्रसिद्ध धर्मिकस्थल पाथीभरा मन्दिर मुख्य प्रवेशद्वारबाट मन्दिरसम्म करिब १ सय ७५ मिटर लामो पदमार्गमा ट्रस्ट लगाइएपछि हिउँ र पानीको प्रभाव अन्त्य हुने भएको छ । लकडाउनका कारण तीर्थालुको चाप नभएको अवस्थामा पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा पदमार्गमा ट्रस्ट निर्माण गरेको हो ।

उपभोक्ता समितिमार्फत बनेका संरचनाको निर्माण कार्य लगभग पूरा भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिनुभयो । पाथीभरा मन्दिरको मुख्य प्रवेशद्वारबाट शुरू भएको ट्रस्ट मन्दिर प्रवेशको अन्तिम द्वारसम्म पुगेको छ । यो संरचना बनेपछि पानी र हिउँका कारण तीर्थालुले विगतमा खेप्दै आएका समस्या हट्ने भएको छ ।

तीर्थालुको चाप बढी भएको दिन मन्दिर प्रबेशको मुख्यद्वार क्षेत्रबाटै तीर्थालु दर्शनका लागि लाइन लाग्ने गर्छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक काफ्लेका अनुसार समितिको समन्वयमा पाथीभरा क्षेत्रमा चालू आर्थिक वर्षमा ट्रस्टसहितका पाँचवटा संरचना निर्माण भएका छन् । मन्दिर प्रवेशद्वार भन्दा उत्तरपश्चिमतर्फ तीर्थालु बस्ने घर बनेको छ । फोहोर व्यवस्थापनमा कठिनाइ भइरहेको अवस्था अन्त्य गर्न उपयुक्त प्रविधिसहितको फोहोर विसर्जन केन्द्र बनाइएको छ ।

हिउँ र पानीको अधिक प्रभावका कारण फोहोरमैलाको उपयुक्त विसर्जनमा देखिएको समस्या हल गर्न माथिबाट चिसो फोहोर सुकाउने र तल डढाउन मिल्ने संरचना बनाइएको छ । ठाडै उकालो पदमार्गका कारण तीर्थालुलाई पदयात्राका क्रममा हुने कठिनाइलाई क्रमशः हल गर्ने उद्देश्यले पाथीभरा क्षेत्रको माथिल्लो फेदीदेखि माथिका अधिक उकालो भागलाई केही तेर्सो र सहज बनाइएको छ । माथिल्लो फेदीभन्दा

केही तल गुराँसे क्षेत्र र सोभन्दा तलका उपभोक्तालाई खानेपानी उपभोग हुन सहज हुने गरी पानी ट्याङ्की बनाइएको छ ।
पाथीभरा क्षेत्रमा जनस्तरबाट गठित पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिले विगत लामो समयदेखि भौतिक पूर्वाधार तथा मन्दिर क्षेत्र व्यवस्थापनसहितका कार्य गर्दै आइरहेको छ । पाथीभरा क्षेत्रको भेटीपाती व्यवस्थापनका लागि दुवै समितिका प्रतिनिधित्व हुने गरी जिल्ला समन्वय समितिका प्रमुख घनेन्द्र मादेनको संयोजकत्वमा भेटीपाती व्यवस्थापन समिति रहेको छ । यो समितिको कोष खर्च गरी सडक तथा पदमार्ग व्यवस्थापन पनि भइरहेको छ ।