सुदूर पहाडका ३ नाका खोलिए


बैतडी, (नेस) ।

भारतीय पेन्सनधारी नेपालीका सुदूरपश्चिमका पहाडी जिल्लाका ३ नाका बुधबारदेखि खोलिएका छन् । बैतडीको झुलाघाट र दार्चुलाको धार्चुला (पुलघाट) र जौलजीवी नाका ३ दिनका लागि खोलिएको हो ।

लकडाउनका कारण लामो समयदेखि भारतीय पेन्सनधारीले पेन्सन बुझ्न नपाएको गुनासो आएपछि नाका खोलिएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो । झुलाघाट नाका बुधबारदेखि शुक्रबार बिहान १० बजेदेखि ५ बजेसम्म खुला रहने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

कोरोना भाइरसको जोखिमका कारण अन्तर्राष्ट्रिय सीमानाका बन्द भएकाले दुवै देशका स्थानीय प्रशासनको समन्वयमा आजदेखि तीन दिनका लागि सीमानाका खुला गर्ने सहमति भएको हो ।

यस्तै दार्चुलाको धार्चुला (पुलघाट) र जौलजीवी नाका पनि ३ दिनका खुला गरिएको छ । दार्चुलाका यी नाका भने दुई सिफ्टमा खुल्ने प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिनुभयो ।

बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म र दिउँसो ३ बजेदेखि बेलुका ६ बजेसम्म नाका खुला रहने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

सीमामा भारत प्रवेश गर्दा परिचयपत्र अनिवार्य, स्वास्थ्यसम्बन्धी पालना अनिवार्य गर्नुपर्ने भारतीय स्थानीय जनाएको छ ।
बैतडीका २ हजार बढी र दार्चुलामा ५ सय जना भारतीय पेन्सनधारी नागरिक रहेका छन् । ३ महिनादेखि सीमानाका बन्द हुँदा भारतीय पेन्सनधारी नेपाली नागरिकलाई समस्या भएको थियो ।

भारतीय सेनाबाट सेवानिवृत्त भएका, अन्य भारतीय सरकारी कार्यालयबाट निवृत्त भएका नेपाली नागरिकलाई पेन्सनको रकम प्राप्त गर्न समस्या भएको थियो ।

भारतीय पेन्सनधारीको पेन्सनबापतको पैसा भारतीय बैंकमै आउने गर्दछ । जारी लकडाउनका कारण सीमानाका बन्द भएपछि गएको तीन महिनायता पेन्सन नपाएका हुन् ।

नाका खुला रहेका बेला भारतमा पेन्सन बुझ्ने नागरिकलाई पेन्सन बुझ्न सक्ने, सीमामा फसेका दुवै देशका नागरिकलाई उद्धार गरिनेछ । उद्धार गरिएका नागरिकलाई सीमामा सामान्य चेकजाँच गरी अनिवार्यरूपमा क्वारेन्टाइनमा राखिने जनाइएको छ ।