डर्बी भिडन्तमा बार्सिलोनाको कठिन जित

0
Shares

लन्डन, एजेन्सी ।

सिजनको दोस्रो क्याटलान डर्बी भिडन्तमा बार्सिलोनाले कठिन जित निकालेको छ ।

लिगको दोस्रो स्थानको बार्सिलोनाले ३५औं चरणको खेलमा अंक तालिकाको सबैभन्दा पुछार २०औं स्थानको एउटै सहरी प्रतिद्वन्द्वी इस्पानयोलविरुद्ध १–० को स्पष्ट जित निकाल्न सफल भयो । बिहिबार बिहान बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा दुवै टोली दोस्रो हाफ सुरु हुनासाथ १० खेलाडीमा सीमित भएका थिए ।

बार्सिलोना र इस्पानयोलका एक–एक जना खेलाडीले खराब फउल गरेपछि रेफ्रीले भिएआरमार्फत् उनीहरूलाई सोझै रातो कार्ड दिएका थिए । जसमा दोस्रो हाफमा नेल्सन सेमेडोको स्थानमा मैदान छिरेका बार्सिलोनाका युवा फरवार्ड अन्सु फातीले ५०औं मिनेटमै रातो कार्ड पाएर मैदान छाड्नु परेको थियो । ४७औं मिनेटमा मैदान छिरेका उनले मैदानमा ३ मिनेट मात्रै बिताए ।

त्यसपछि लगत्तै इस्पानयोलका पोल लोजानोले पनि सोझै रातो कार्ड पाए । बार्सिलोनाका जेरार्ड पिकेमाथि खराब ट्याकल गरेपछि उनलाई भिएआरमार्फत् सोझै रातो कार्ड दिइएपछि त्यसपछि बाँकी समयमा दुवै टोलीले १०–१० खेलाडीमा खेले ।

इस्पानयोल १० खेलाडीमा झरेको ३ मिनेटमै बार्सिलोनाले गोल गर्‍यो । लिओनल मेसीको पासमा एन्टोनी ग्रीजम्यानले प्रहार गरेको बल गोलकिपर डिएगो लोपेजको हातबाट फुत्किएपछि नजिकै रहेका लुइस स्वारेजले सजिलै जाली चुमाएका थिए ।त्यसपछि बाँकी समयमा दुवै टोलीबाट थप गोल नभएपछि खेल बार्सिलोनाले १–० ले जित्यो ।

जितपछि बार्सिलोनाले ३५ खेलबाट ७६ अंक जोडेको छ । बार्सिलोना अब रियलभन्दा मात्रै १ अंकले पछि छ । तर, रियलले एक खेल कम खेलेको छ । भोलि रियलले आफ्नो खेल जिते बार्सिलोना पुनः ४ अंकले नै पछि पर्नेछ । यता, बार्सिलोनासँग हारेको इस्पानयोल २४ अंकसहित २०औं स्थानमा रहेको छ । इस्पानयोल लिगका अन्तिम ३ खेल बाँकी छँदै रेलिगेसनमा परिसकेको छ ।