खोटाङमा सामूहिक भोजमा सहभागी ३० जना बिरामी


खोटाङ ।

पास्नी कार्यक्रमको सामूहिक भोज खाएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङक स्थानीय बासिन्दा बिरामी परेका छन् । लफ्याङस्थित तित्रीबोटेका सुजन राईकी छोरीको आज अपराह्न् आयोजित पास्नीको भोजमा सहभागी ३० स्थानीय बासिन्दा भोज खाएको केही समयपछि बिरामी भएका हुन् ।

बिरामीलाई ट्रयाक्टर रिजर्भ गरेर उपचारका लागि जिल्ला अस्पताल खोटाङ पठाइएको वडाध्यक्ष निर्मल राईले बताउनुभयो । “भोज खाएको केही समयपछि बान्ता हुने, पेट दुख्ने, रिँगटा लाग्ने र ढल्ने लक्षण देखिएको छ”, उहाँले भन्नुभयो, “गम्भीर किसिमका २५ जनालाई उपचारका लागि अस्पताल पठाइएको हो ।”

भोज खाएर घर फर्किएका व्यक्तिसमेत बिरामी रहेको स्थानीय बासिन्दाले बताएका छन् । उनीहरुको पनि खोजी भइरहेको जनाइएको छ । स्थानीयवासीका अनुसार बिरामी हुनेमा अधिकांश बालबालिका छन् । उनीहरुले सामूहिक भोजमा पकाइएको मासुभातसँगै ट्याङ जुस ९पानीमा घोलेर० प्रयोग गरिने पेय पदार्थ सेवन गरेका थिए ।

भोजमा मादक पदार्थ ९जाँडरक्सी० सेवन गर्ने व्यक्तिलाई केही नभएको स्थानीयबासीले बताएका छन् । उपचारका लागि नगरपालिकाको स्वास्थ्य शाखाबाट आवश्यक औषधिसहित स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको नगर प्रमुख दीपनारायण रिजालले बताउनुभयो । भोजमा सहभागी स्थानीय बासिन्दा बिरामी हुनाको कारण पत्ता लाग्न बाँकी रहेको नगरप्रमुख रिजालको भनाइ छ ।