सविता चौधरी, वर्ष ३५ की विवाहित महिला, तीन छोराछोरीकी आमा, अनि एउटा प्राथमिक विद्यालयकी शिक्षिका !
एकदिन, मोटो फाइल बोकेर हाम्रो ओपीडीमा आइपुगिन् । उनको अनुहारमा पीडा झल्किरहेथ्यो । खुइय्य ! गर्दै सामुन्नेको कुर्सीमा बस्नासाथ तिनले केही पनि कुरा नगरीकनै आफूले बोकिरहेको फाइल मेरो अगाडि तेस्र्याइन् । मैले फाइल हेर्नुअगाडि आफ्ना समस्या बताउन आग्रह गरेपछि भने उनी भक्कानिन थालिन् ।
३ वर्ष भइसकेछ उनको समस्या । समस्याका चाङ नै थिए । पेट दुख्ने, टाउको दुख्ने, दिसा–पिसाबमा खराबी, महिनावारीमा गडबडी, चिसो सहन नसक्ने, शरीर सुन्निने, भोक नलाग्ने, हातगोडा झमझम गर्ने आदि । उनले अहिलेसम्म वीरगन्जका दुई, काठमाडौंका चार, अनि नयाँ दिल्लीका दुई गरी करिब १० वटा अस्पतालरक्लिनिक धाइसकेकी रहिछन् । एमआरआई, अल्ट्रासाउन्ड, एक्सरे, रगत, दिसा–पिसाब आदि जाँच गरेका रिपोर्टहरुको फेहरिस्त नै थिए, उनलाई मुखाग्र पनि । करिब पाँच झोला औषधि खाइसक्दा पनि आफ्नो व्यथा निको नभएको कुरा सुनाउँदा झनै चिन्तित देखन्थिन् उनी ।
मनका समस्या पनि नजानिदो तवरले शारीरिक लक्षणहरुद्वारा अभिव्यक्त हुन सक्छन् भनेर उदाहरणद्वारा व्याख्या गरी मन र शरीरको सामञ्जस्यता या मन–शरीरको सम्बन्ध स्थापित गराउन सके तिनका सबै समस्या बिस्तारै निराकरण हुँदै जाने गर्छन् ।
मैले उनको शारीरिक जाँच गरेँ, सबै ठीकठाक नै थियो । उनको फाइल सरसर्ती हेर्दा सबै रिपोर्ट दुरुस्त थिए, पुनः जाँच गराउन पनि आवश्यकता थिएन । नयाँ दिल्लीका फिजिसियनले शारीरिक तवरमा सब ठीक भएको बताई मनोचिकित्सकसँग भेट्न सुझाएकाले मन नलागी–नलागी उनी मलाई भेट्न एक्लै आएकी थिइन् ।
उनीसँग अनुमति लिएर उनको पारिवारिक तथा व्यक्तिगत जीवनका बारेमा सोध्न थालेँ । उनी संयुक्त परिवारमा बस्दै आएकी रहिछिन् । सात वर्षको उमेरमै आमा गुमाएकी । दुःख गरेर पढ्दै ९ कक्षासम्म पुग्दा उनको विवाह भएको रहेछ । माइतपट्टी उनका बुबा, दाजु सबैको मृत्यु भइसकेको रहेछ । घरमा नै संघर्ष गरेर पढ्दै एस.एल.सी. उत्तीर्ण गरी अहिले गाउँकै विद्यालयमा पढाउने काम रहेछ । श्रीमान् अझै बेरोजगार अनि रक्सी, जुवातासमा मग्न । घरको ख्याल नगर्ने भएकाले दुःखजिलो गरेर आफ्ना बालबच्चा, घर–परिवारको हेरचाह गर्दै आएकी रहिछिन् । विद्यालयका शिक्षक सहकर्मीहरुले मद्दत गरी ऋण जुटाइदिएकाले आफ्नो उपचार सम्भव भएको उनले बताइन् । यी सबमा परिवारको कुनै साथ–सहयोग नभएको र सबै उपचार प्रक्रियामा उनी एक्लै नै सक्रिय भइरहेको उनले अश्रुपूर्णरुपमा व्यक्त गरिन् । उपचारको लागि करिब ५ लाख जति खर्च भइसकेको उनले सुनाइन् । अहिले मनोचिकित्सकलाई भेटेको परिवारले थाहा पाए भने आफ्नो नराम्रो हबिगत हुने कुरा पनि लुकाइनन् ।
उनी ‘सोमाटोफर्म डिस्अर्डर’ भन्ने एक किसिमको मानसिक रोगद्वारा पीडित महिला हुन् । लामो समयसम्म शारीरिक समस्याद्वारा ग्रस्त हुने व्यक्ति, जसका शारीरिक लक्षणहरु शारीरिक कारक तत्व या जाँचपड्तालले व्याख्या गर्न सकिँदैन र परीक्षणहरु गराउँदा पनि रिपोर्टहरुमा असामान्य देखिँदैन, यस्ता समस्या प्रायः नजानिदो किसिमले कुनै न कुनै तनावहरुसँग सम्बन्धित हुने गर्दछन् । साथै ती समस्याको समाधान नभएका कारण पीडित व्यक्ति एउटा डाक्टरबाट अर्को, एउटा अस्पतालबाट अर्कोमा धाइरहने गर्दछन् । तिनको मुख्य चाहना भने ‘ती लक्षणहरुबाट मुक्ति’ नै रहने गर्दछ । यस्तो हुन्छ ‘सोमाटोफर्म डिस्अर्डर’ ।
त्यस्ता बिरामीलाई चिकित्सकहरुले ‘तपाईंलाई केही पनि भएको छैन’, ‘ल ! यो औषधि खानुस्, ठीक भइहाल्छ’, ‘यो त मनको रोग हो, हामी ठीक पार्न सक्दैनौं तपाईंलाई’, ‘धेरै नसोच्नुस्, सब ठीक हुन्छ’, या ‘तपाईं त साइको भइसक्नु भो’ आदि भनेर केहीबेर पनि कुराकानी नै नगरी पठाइदिने गर्छन्, जसका कारण तिनको तनावमा अझै बढोत्तरी हुन गई लक्षणहरु झनै वृद्धि हुने गर्दछ, तर कमी हुँदैन ।
यस्ता बिरामीको उपचारका लागि तिनको समस्यालाई गम्भीररुपमा नै पहिचान गर्न सक्नुपर्छ । ‘केही पनि भएको छैन’ भनेर भन्नुभन्दा ‘तपाईंको समस्या शारीरिक नभईकन मनोवैज्ञानिक हो’ भनेर उपचार शुरु गर्न सके धेरै राम्रो हुने गर्छ । मनका समस्या पनि नजानिदो तवरले शारीरिक लक्षणहरुद्वारा अभिव्यक्त हुन सक्छन् भनेर उदाहरणद्वारा व्याख्या गरी मन र शरीरको सामञ्जस्यता या मन–शरीरको सम्बन्ध स्थापित गराउन सके तिनका सबै समस्या बिस्तारै निराकरण हुँदै जाने गर्छन् ।
म प्रायजसो यस्ता बिरामीलाई ‘परीक्षा भवनमा पस्न लाग्दा तपाईंको मनस्थिति कस्तो हुन्छ अनि शारीरिक लक्षणहरु के–कस्ता हुने गर्छन् ?’ भनी सोध्ने गर्छु । यो प्राश्निक उदाहरण बुझ्नासाथ मनमा भएको तनाव कसरी ‘मुटुको ढुकढुकी, चिटचिट पसिना, हातको कम्पन’ जस्ता शारीरिक लक्षणहरुका रुपमा आउन सक्छन् भन्ने बिरामीलाई स्पष्ट हुन्छ । अनि पूरक प्रश्नका रुपमा ‘परीक्षा राम्रो भएपछि ती शारीरिक लक्षणहरु के हुन्छन् त, रहिरहन्छन् त ?’ भनी सोध्दा जोसुकै या कुनै पनि बिरामीले तनाव, मन, एवं शरीरको सम्बन्ध खुलस्तरुपमा नै सम्झन सक्छन् ।
आवश्यक पर्दा यी बिरामीलाई छोटो समयका लागि तनाव घटाउने, छटपटी कम गराउने औषधि पनि दिन सकिन्छ । त्यस्तै श्वासप्रश्वाससँग सम्बन्धित योग एवं तनाव कम गराउने शारीरिक अभ्यासहरु पनि सिकाउन सकिन्छ ।
अतः डाक्टरकोमा धाइरहने एवं थुप्रै शारीरिक समस्या लिएर आउने तनावग्रस्त ‘सोमाटोफर्म डिस्अर्डर’का बिरामीलाई ‘केही पनि भएको छैन’ भनी तिरस्कार गरेर अझै अरु डाक्टरकोमा वा अस्पतालमा धाइरहने बनाउनुको सट्टा तिनका समस्याको स्पष्टरुपमा गम्भीर पहिचान गरी, सम्भावित तनावका कारणहरुलाई राम्ररी नै बुझेर मन र शरीरको सम्बन्ध स्थापित गरी स्पष्ट बुझाउन सकेमा तिनको तनावसँगै शारीरिक लक्षणहरुको पनि यथोचित उपचार हुन पुग्छ ।
(साधना मासिकबाट साभार )
https://sadhana.newsofnepal.com/
प्रतिक्रिया