खर्च हुन नसकेको बजेटबाट रसुवामा पीसीआर मेसिन खरिद गरिदै

0
Shares

सरस्वती न्यौपाने, रसुवा ।

रसुवामा कोरोना संक्रमित भेटिएसँगै जिल्लाले परीक्षणका लागि पीसीआर मेसिन खरिद पक्रिया अगाडि बढाएको छ ।

बजेटबाट खर्च नभएको रकम उपयोग गरि पीसीआर मेसिन खरिद गरिने भएको हो । जिल्ला विपद व्यवस्थापन समितिले असार ११ गते निर्णय गरेर सबै गाउँपालिकाको साझेदारीमा पीसीआर मेसिन र आवश्यक स्वास्थ्य सामाग्री खरिद गर्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार संकट व्यवस्थापन केन्द्र (सिसिएमसि) रसुवाले निर्वाचन क्षेत्र विकास कोष अन्र्तगत रहेको स्थानिय पुर्वाधार विकास साझेदारी कार्यक्रमले खर्च गर्न नसकेको चालू आर्थिक बर्षको ४६ लाख रकम पीसीआर मेसिन खरिदमा खर्च गर्ने निर्णय गरेको थियो । चालू आर्थिक वर्षका लागि स्थानिय पुर्वाधार विकास साझेदारि कार्यक्रम अन्र्तगत विनियोजित रकममध्ये खर्च नभएको बजेट कोरोना रोकथाम तथा नियन्त्रणमा खर्च गर्ने सरकारको निर्णय अनुसार रसुवाले सो निति अवलम्बन गरेको हो।

स्थानिय पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत रसुवाको पाँचवटा गाउँपालिकामा ६ करोड विनियोजित रकममध्ये कालिका गाउँपालिकामा ४० लाख, गोसाईकुन्ड गाउँपालिकामा ६ लाख गरि ४६ लाख खर्च नभएको देखिएको छ । उक्त रकम स्थानिय पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत कोभिड(१९ रोकथाम, नियन्त्रण, निदान र उपचार खर्च गर्ने व्यवस्था भए वमोजिम गाउँपालिकाबाटै बचत रकमको लेखा व्यवस्था गर्ने गरि ४६ लाखको पीसीआर मेसिन लगाएत स्वास्थ्य सामग्री खरिद गरिने भएको हो । रसुवाको पाँचैवटा गाउँपालिकामा स्वाव संकलन गर्ने व्यवस्था गरि खरिद गरिने पीसीआर मेसिन सदरमुकाम धुन्चेमा राखिने जनाइएको छ । मेसिन सञ्चालन तथा व्यवस्थापनका लागि विपद व्यवस्थापन समिति, जिल्ला सङकट व्यवस्थापन केन्द्र र गाउँपालिकाले समन्यात्मक रूपमा गर्ने जनाइएको छ ।

स्वास्थ्य कार्यालय रसुवाका प्रमुख किरण श्रेष्ठका अनुसार गएको शनिबारदेखि रसुवा जिल्लामा कोरोना संक्रमित देखा परेका छन् । गएको सोमवार कुवेत र भारतबाट आएका १७ जनाको पीसीआर परीक्षणका लागि प्रयोगशालामा पठाइएकोमा शनिवार नौ जनामा पोजेटिभ देखिएपछि रसुवामा पनि कोरोना संक्रमित भेटिएको पुष्टि भएको हो । जिल्लामा हालसम्म पाँच सय ३७ जनाको आरडिटि परीक्षण गरिएको छ भने ३२ जनाको पीसीआर परीक्षणका लागि स्वाब सङकलन गरी ल्याबमा पठाइएको छ ।