वालिङ नगरपालिकाद्वारा अनुदानमा ह्याचरी मेशिन प्रदान

0
Shares

भूूपराज बस्याल, स्याङ्जा ।

वालिङ नगरपालिका पशु विकास शाखाले अनुदानमा ह्याचरी मेशिन उपलब्ध गराएको छ ।

तीन वटा फर्म तथा सहकारीलाई ५० प्रतिशत अनुदानमा मेशिन उपलब्ध गराईएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । चल्ला उत्पादनका लागि जिल्ला बाहिर जानुपर्ने अवस्थालाई मध्यनजर गर्दै कुखुरा ब्यवसायीको मागलाई ध्यानमा राख्दै ५० प्रतिशत अनुदानमा ३ वटा फर्म तथा सहकारीलाई मेशिन उपलब्ध गराईएको नगर प्रमुख खाँणले बताउनुभयो ।

कुखरापालनलाई ब्यवसायिकरुपमा अगाडि बढाउने उद्देश्यले अनुदानमा ह्याचरी मेशिन उपलब्ध गराईएको बताउनुहुँदै नगर प्रमुख खाँणले भन्नुभयो, प्राप्त सामानको सही सदुपयोग गरी अगाडि बढ्नुहोस् । पशु सेवा शाखाको वार्षिक कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा ह्याचरी मेशिन वितरण गरिएको पशु विकास शाखा प्रमुख देबकुमारी श्रेष्ठले बताउनुभयो । ह्याचरी मेशिनको अभावक कारण अण्डा लिएर पाल्पा जानुपर्ने र त्यहाँबाट चल्ला निकालेर ल्याउनुपर्ने बाध्यता हटेर जाने विश्वास शाखा प्रमुख श्रेष्ठको छ ।

मेशिनले २२ दिनमा कुखुरा, बट्टाई, लौकात, कालिज लगायतका पंक्षीका अण्डाबाट चल्ला निकाल्न सकिने छ । ३ वटा फरक फरक क्षमताका मेशिनले २२ दिनका दिनमा एक हजार ५६, ३ सय ५२ र २ सय ६४ चल्ला निकाल्न सक्ने छ । पशु विकास शाखामार्फत वालिङ ६ को गोविन्दज सन पंक्षी फर्म, वालिङ ३ मा रहेको महिला सहकारी र वडा नं. १४ को कृषि सहकारी संस्थाबाट माग भएसँगै अनुगमन गरी वितरण गरिएको शाखा प्रमुख श्रेष्ठले बताउनुभयो ।