पार्टीभित्रको बेमेलमा अल्मलियो सरकार : नेता पौडेल

0
Shares

मिला दरै, तनहुँ ।

कोरोनाको व्यवस्थापन गर्न सशक्त हुनुपर्नेमा सत्ताधारी दलका नेताहरु बीचको बेमेल तथा विद्रोहले गर्दा सरकार अलमलिएको नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताउनुभएको छ । तनहुँमा विभिन्न स्थानीय तह तथा पत्रकार महासंघलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै वरिष्ठ नेता पौडेलले सरकारलाई कोरोना भन्दा पार्टी भित्रको बेमेल व्यवस्थापन गर्न चुनौती बनेको बताउनुभएको हो ।

‘प्रधानमन्त्रीलाई महामारी रोगबाट कसरी बच्ने र नागरिकलाई कसरी बचाउनु भन्दा पनि पद कसरी जोगाउने भन्ने चिन्ता छ,’ वरिष्ठ नेता पौडेलले भन्नुभयो, ‘आमनागरिकलाई बचाउनेतर्फ सोच्न समय पुगेको छैन नेकपा सरकारसँग ।’ विदेशबाट स्वदेश फर्किएका युवाहरुलाई गाउँमै रोजगारी दिन सक्ने गरी सरकारले तत्कालै योजना ल्याउनु जरुरी रहेको उहाँले बताउनुभयो ।

‘युवाहरुले काम नपाए विद्रोह हुन्छ तर त्यसतर्पm सरकारको ध्यान जान नसकेको आरोप लगाउँदै उनले रोजगारी र आम्दानी कसरी दिलाउन सकिन्छ भन्ने विषयमा ठोस परिणाम देखिएको छैन,’ पौडेलले भन्नुभयो ।

उत्पादनशील र रोजगारी दिने क्षेत्रमा सरकारले लगानी गर्न ध्यान दिनुपर्ने उहाँको सुझाव छ । संघीयता कार्यान्वयनसँगै स्थानीय तहले बजेट अधिकार धेरै पाएकोले कोभिड–१९ संकटको सामना गर्न सहज भएको उहाँले बताउनुभयो । शुक्रबार दमौलीमा तनहुँका आइसोलेसन रहेका ठाउँहरुका लागि स्वास्थ्य सामग्री स्थानीय तहका प्रमुखहरुलाई हस्तान्तरण गर्दै कोरोना भाईरसका विरामीको लागि कोरोनाको संक्रमणबाट जोगिनमा प्रेरित गर्नुपर्ने उहाँले बताउनुभयो ।

पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद अन्त्य गरेर मुलुकलाई दुर्घटनातर्फ धकेल्न खोजेको बताउनुभयो । संसद अन्त्य हुँदै गर्दा महत्वपूर्ण विधेयकहरुको विषयमा छलफल हुन नपाएको उहाँको भनाई छ । ‘एमसीसी राष्ट्रघाती हो या मुलुकका लागि हितकर हो भनेर संसदमा छलफल हुनुपथ्र्याे । तर संसद स्थगित भएसगै छलफल हुनै पाएन,’ उहाँले भन्नुभयो । वरिष्ठ नेता पौडेलले गृह जिल्लाका विभिन्न स्थानीय तहमा रहेका आइसोलेसन र क्वारेन्टाइनका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने क्रममा सत्ताधारी पार्टीको विद्रोहले देशको विकासमा अवरोध सिर्जना हुन पुगेको समेत वरिष्ठ नेता पौडेलको भनाई थियो ।

यो संक्रमणको घडीमा पनि सरकार भ्रष्टचारमा लिप्त हुनु अत्यन्त दुरभाग्यपूर्ण भएको र सरकारले गरेका भ्रष्टचारका विषयमा खबरदारी गर्नुपर्ने बेला आएको समेत उहाँले बताउनुभयो । कोरोना र सलहले मुलुकको अर्थतन्त्र धरासायी बन्दै गइरहेको वर्तमान प्ररिप्रेक्ष्यमा मुलुकको आर्थिक स्तर उकास्नका लागि कृषि, पर्यटन र ऊर्जामा विशेष ध्यान दिन समेत नेता पौडेलले सुझाव दिनुभएको छ ।

त्यस्तै सिङगो मुलुकमा कोरोनाको नियन्त्रण र उपचारको विषयमा केन्द्र सरकार असफल भएपनि स्थानीय तहहरुले निर्वाह गरेको भूमिका उदाहरणीय रहेको उहाँको भनाई छ । वरिष्ठ नेता पौडेलले जिपि कोइराला श्वासप्रश्वास केन्द्र, आदिकवि भानुभक्त क्याम्पस, बन्दीपुर अस्पताल, दमौली अस्पताल, भिमाद, देवघाट, लमजुङको मध्यनेपाल नगरपालिकाको आइसोलेसन र क्वारेन्टाइनका लागि पिपिई, मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने र प्रमुख जिल्ला अधिकारी वद्रीनाथ अधिकारी लगायतले जिल्लाको कोरोना सम्बन्धी प्रष्ट्याउनुभएको थियो ।

टावेल, सर्जिकल माक्स, सेनिटाइजर र पिपिइ सेट गरी करीव १० लाख रुपैयाँ बराबरको सामग्री सहयोग गरेको वरिष्ठ नेता पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले जानकारी दिनुभयो । नेता पौडेलले नेपाल पत्रकार महासङ्घलाई पनि स्वास्थ्य सामग्री हस्तान्तरण उपलब्ध गराउनु भएको छ ।