कतारबाट २० नेपालीको शव ल्याइयो

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका एक जना मकवानपुरेसहित २० जनाको शव लिएर शुक्रबार कतार एयरलाइन्सको जहाज नेपाल आएको छ ।

कतारको दोहास्थित हमाल अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालको त्रिभुवन विमानस्थल काठमाडौं नेपालीको शव लिएर कतार एयरलाइन्स आएको हो । वैदेशिक रोजगार बोर्डले दिएको जानकारीअनुसार मकवानपुरको भीमफेदी गाउँपालिकाका जितेन्द्र थापामगरसहित २० जनाको शव नेपाल ल्याइएको छ ।

बोर्डका अनुसार कतार एयरलाइन्समा कपिलबस्तुको दोहनीका महमुद अलमान मुसलमान, सर्लाहीको हरिवनका मुस्ताक साइक, सिराहाको परासीका रुपेशकुमार मण्डल, लमजुङको धोदेनीका कुम्बा तामाङ, बाँकेको रझेनाका भक्तबहादुर थापामगर, सप्तरीको लोहताराका राजेन्द्रप्रसाद भण्डलको शव नेपाल ल्याइएको त्यहाँबाट मकवानपुरे सञ्चारकर्मी अनिल पराजुलीले बताएका छन् ।

मोरङको कोशी हरैंचाका युवराज अधिकारी, भोजपुरको देउरालीका मीनबहादुर थापा, सुर्खेतको सहारेका नरबहादुर कामी, भोजपुरको टुंगेचाका मंगलबहादुर तामाङ, बर्दियाको मोतीपुरका सुकराम थारु, सर्लाहीको ईश्वरपुरका अरुणकुमार पजीयार, महोत्तरीको दम्हीका शिवशंकर राउत, धनुषाको भरतपुरका चुतर्वा मण्डल, रुपन्देहीको देवदहका यामबहादुर थापा, सिराहाको सुखचैनाका काशीदेव यादब, सर्लाहीको सधोवाका पासवान र महोत्तरीको औरहीका अनिल चौधरीको शव पनि कतार एयरलाइन्सले शुक्रबार नेपाल ल्याएको हो ।

शवहरु लिएर कतार एयरलाइन्सको जहाज शुक्रवार विहान ५ः३० बजे नेपालका लागि उडेको थियो । कतार एयरलाइन्सले ४३ नेपाली पनि लिएर आएको छ । उनीहरुलाई कतार सरकार आफैंले पठाएको हो ।

कतार एयरलाइन्सले अन्य १ सय २० यात्रु पनि लैजाने सहमति भए पनि स्वास्थ्य परीक्षणका कारण उनीहरु रोकिएका छन् । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका नेपालीको शव यति ठूलो संख्यामा एकैपटक नेपाल आएको सम्भवतः पहिलो हुनसक्ने कतारबाट प्रकाशित हुने क्युएन खबरले जनाएको छ । हाल कतारमा करिब ३ लाख ५१ हजार नेपाली कार्यरत् रहेको सञ्चारकर्मी पराजुलीले बताएका छन् ।

चैत पहिलो हप्तापछि अन्तर्राष्ट्रिय उडान रोकिँदा पनि धेरै शव नेपाल ल्याउन सकिएको थिएन । त्रिभुवन विमानस्थलमा ल्याइएको शव आफन्तको जिम्मा लगाइएको छ ।