सरकारी अनुदानको मलखाद व्यापारीको हातमा

0
Shares

सुभेन्द्र दास, लहान ।

लकडाउनका साथसाथै मलखादमा भइरहेको कालोबजारीका कारण किसान दोहोरो मारमा परेका छन् । गत वैशाख र जेठ महिनामा ठूलो परिमाणमा कृषि सामाग्रि संस्था र साल्टट्रेडिङ्गद्वारा मलखाद वितरण गरिएको भएता पनि किसानले भने मलखाद पाउन सकेका छैनन् । सरकारी अनुदानमा आएको सो मलखाद व्यापारीको हातमा परेको किसानको गुनासो छ ।

नियमनकारी निकायले लकडाउनमा अनुगमन गर्न नसकेका कारण सम्बन्धित निकाय र व्यापारीको मिलोमतोका कारण किसानले मलखाद पाउन नसकेर बढी मूल्यमा खरिद गर्न बाध्य भएका छन् । सिरहामा गत वैशाखदेखि मलखादको अभाव छ । व्यापारिक स्रोतका अनुसार संस्थान प्रमुख र व्यापारीको सेटिङ्गमा मलखाद वितरणमा अनियमितता बढेको हो । अनुदानको मलखाद खरिद गरेर उनीहरुले किसानलाई मनपरी मूल्यमा बिक्री वितरण गर्ने गरेको बिष्णुपुर गाउँपालिकाका किसान सुरेश कुमारले बताए । ‘लकडाउनका कारण मल आउन नसकेको भन्दै अभाव देखाएर उनीहरुले चर्को मूल्यमा बेच्न थालेका छन्,’ उनले भने ।

उचित मुनाफासहित प्रतिबोरा ८ सय रुपैयाँमा पाउने युरिया मल १२ सयदेखि १३ सय र २२ सयमा पाउने अनुदानको डिएपी मल २५ देखि २७ सय रुपैयाँसम्ममा किन्नुपर्ने बाध्यता रहेको किसानको गुनासो छ । वैशाखदेखि नै बजारमा सुपथ मूल्यमा मलखाद नपाएर किसानहरु चर्को मूल्यमा खरिद गर्न बाध्य भएको सिरहा नगरपालिका–११ का किसान अन्तशरण कामतीले बताए । स्रोतका अनुसार संस्थानबाट सहकारीमार्फत प्राप्त हुने मलखाद किसानसम्म पुग्यो कि पुगेन भनेर विश्वस्त हुन मलखाद लिने किसानको नामावली र हस्ताक्षरसहितको भर्पाइ पेस गर्नु पर्दछ ।

सिरहाका अधिकांश सहकारी संचालकहरुले अनुदानमा आएको मलखाद मनपरी भाउमा बिक्री गर्ने र पछि नक्कली किसानको नाम लेखेर संस्थानमा पेस गर्ने गरेको किसानको गुनासो छ । सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज कुमार गुरागाईले जिल्लामा मलखादमा कालोबजारी भईरहेको बारे आफुलाई जानकारी नभएको र त्यस्तो कही कतैबाट गुनासो नआएको, प्रमाणसहित गुनासो आएमा त्यस्ता व्यापारीलाई कारवाही गरिने बताए ।