संसद्को चालू अधिवेशन अन्त्य, अधिवेशन अन्त्य गर्ने सभामुखसँग छलफल नै भएन

कांग्रेस पनि असन्तुष्ट


नेपाल समाचारपत्र, काठमाडौं

सरकारले चालू अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ ५ बजेदेखि लागू हुने गरी संसद् अधिवेशन अन्त्य गरेको जानकारी संसद् सचिवालयलाई गराउनुभएको छ ।

प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटासँग परामर्शसमेत नगरी सरकारले सदनको अधिवेशन अन्त्य गरेको हो । संसद् सचिवालयले पनि चालू अधिवेशन कम्तीमा असार महिनासम्म लम्बिने बताउँदै आएको थियो । नागरिकता विधेयक, निजामती कर्मचारीको सेवा सर्तसम्बन्धी विधेयक यही अधिवेशनबाट पारित गर्ने तयारी थियो ।

मन्त्रिपरिषद् बैठकपूर्व प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्तासमेत गर्नुभएको थियो । कोरोना महामारीकै बीच संसद् अधिवेशन वैशाख २६ गते शुरू भएको थियो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले चालू अधिवेशन अन्त्यको सिफारिस गर्दा सरकारले सामान्य जानकारीसम्म नदिएको भन्दै असन्तुष्टि जनाएको छ ।