नेकपामा राजीनामा विवाद: दुई अध्यक्षलाई दिइयो सहमति जुटाउने जिम्मेवारी

आज ओली–प्रचण्डबीच निर्णायक वार्ता हुने


नेपाल समाचारपत्र, काठमाडौं

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक विवादको कारण जारी स्थायी कमिटीको बैठक दुई दिन स्थगित भएको छ । पार्टीभित्र बढ्दो विवादका कारण अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा सहभागी नै नहुने अवस्था सिर्जना भएपछि बैठक शनिबारसम्मका लागि स्थगित गरिएको हो । बिहीबार अध्यक्ष ओलीबिना नै प्रधानमन्त्री निवास बालुवाटारमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षमा केहीबेर स्थायी कमिटीको बैठक बसेको थियो ।

कार्यकारी अध्यक्ष प्रचण्डले राष्ट्रपतिलाई भेटेर फर्किएपछि ओलीबिनै बसेको स्थायी समिति बैठकले ओलीसँग वार्ता गरेर सहमति जुटाउने निष्कर्ष निकालेको छ । त्यसका लागि शुक्रबार दिनभर ओली र प्रचण्डबीच छलफल गरेर सहमति जुटाउने जिम्मेवारी बैठकले दिएको छ । बैठकले ओली र प्रचण्डलाई सहमति जुटाउन एक दिनको समय प्रदान गरेको हो ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले एकता गम्भीर संकटमा परेकाले त्यसबाट जोगउन भोलि सहमति जुटाउन समय दिइएको र पर्सी बिहान ११ बजे बैठक बस्ने जानकारी दिनुभयो । गत आइतबार प्रधानमन्त्रीले आफ्नो सरकार ढाल्न भारत र पार्टीबाट चलखेल भएको अभिव्यक्ति दिएपछि नेकपाभित्र विवाद चर्किएको हो । विवादकै क्रममा ओलीले बिनापरामर्श संघीय संसद् अधिवेशन अन्य गर्ने निर्णय लिएपछि विवाद थप उग्र बनेको छ ।