नेपाल समाचारपत्र, काठमाडौं
माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सम्पन्न हुने चरणमा पुगेको छ । आयोजनाकै सबैभन्दा जोखिम तथा चुनौतीपूर्ण मानिएको माथिल्लो पेनस्टक स्याफ्टको अन्तिम पाइप राख्ने कार्य सम्पन्न भएसँगै आयोजना सम्पन्न हुने चरणमा पुगेको हो ।
करिब १ हजार फिट (३०५ मिटर) अग्लो माथिल्लो पेनस्टक स्याफ्टमा पाइप राख्ने कामलाई आयोजनाले खुड्किलाका रूपमा लिएको थियो । यसअघि गत जेठ महिनामा करिब १ हजार २ सय फिट (३६७ मिटर) अग्लो तल्लो पेनस्टक स्याफ्टको अन्तिम पाइप जडान सम्पन्न भइसकेको छ । ती स्याफ्टहरू २७ टनसम्मका ५ मिटर लम्बाइका पाइप एक/एक गर्दै झार्नु आफैमा अत्यन्त जोखिम रहेको थियो ।
वेल्डिङ गर्दा धुवाँको मुस्लो हटाउन कठिनाइ हुँदा कामदारलाई काम गर्नु समस्या आउनु, पानी तर्काउने कार्यमा समस्या आउनु अनि ढुंगा माथिबाट झर्ने डर भइरहँदा चुनौतीपूर्ण र खतरायुक्त थिए । दुवै स्याफ्टमा सानातिनाबाहेक कुनै पनि प्रकारको दुर्घटना नभएको आयोजनाले जनाएको छ ।
पेनस्टक पाइपको कार्य सम्पन्न गर्ने भारतीय कम्पनी टेक्स्म्याको तथा खन्ने र ब्याक्फिल कंक्रिट गर्ने चिनियाँ कम्पनी सिनोहाइड्रोले गर्दै आएका छन् । साथै तल्लो पेनस्टक स्याफ्ट एन्द्रिज हाइड्रो कम्पनीले सम्पन्न गरेको थियो ।
अब आयोजनाको काममा स्याफ्टहरूजस्तो जोखिमपूर्ण कार्य नभए पनि केही महत्वपूर्ण कार्यजस्तो तेर्सो सुरुङमा पेनस्टक पाइप जडान, ग्राउटिङ र लाइनिङका कार्य, अन्य फिनिसिङका कार्य तथा त्यसपछि प्रेसर टेस्टिङका कार्य बाँकी छन्, जसलाई लकडाउनले गर्दा केही असर पर्ने अवस्था अझै रहेको छ ।
आयोजनाका अनुसार सहज ढंगले काम अगाडि बढेमा बाँकी काम आगामी तीन महिनाभित्र सम्पन्न गरी आउँदो असोज–कात्तिकभित्र माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट बत्ती बाल्न सकिनेछ ।
प्रतिक्रिया