स्टार अस्पतालमा मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि


काठमाडौं, (नेस)

रौतहटमा उच्च ज्वरो आएपछि उपचारका लागि काठमाडौं ल्याएका बिरामीको शनिबार स्टार अस्पतालमा मृत्यु भएको छ । मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

रौतहटका २९ वर्षीय पुरुषलाई उपचारका लागि काठमाडौंका थुप्रै अस्पताल पु¥याई उपचार नपाएपछि शुक्रबार स्टार अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा शनिबार मृत्यु भएको र उनको स्वाब परीक्षण गरिएकोमा आइतबार राति रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

अस्पतालका प्रबन्ध निर्देशक डा. शैल रुपाखेतीका अनुसार गम्भीर अवस्थामा अस्पताल भर्ना भएका बिरामीप्रति शंका लागेर कोरोना उपचारका लागि छुट्याइएको आईसीयूमा राखेर उपचार गरिएको थियो ।

उपचारकै क्रममा शनिबार मृत्यु भयो । बिरामीको स्वाब भने अस्पताल भर्ना गर्नासाथै संकलन गरी परीक्षणका लागि पाटन अस्पताल पठाइएकामा आइतबार राति मात्र रिपोर्ट पोजेटिभ आएको हो ।

हालसम्म अस्पतालमै रहेको शव व्यवस्थापनको तयारी नेपाली सेनाले गर्दै गरेको अस्पतालले जनाएको छ । अस्पतालले कोरोना युनिट छुट्टै बनाएको र बिरामीलाई सोही युनिटमा कोरोना उपचारको मापदण्डअनुरुप नै सावधानी अपनाई उपचार गरिएकाले अस्पताल, अन्य बिरामी, बिरामी कुरुवा र स्वास्थ्यकर्मीमा कुनै समस्या नहुने पनि अस्पतालले जनाएको छ ।