– डा. प्रकाशराज रेग्मी
मुटुरोग विशेषज्ञ ।
पानी जीवनका लागि अनिवार्य वस्तु हो । पृथ्वीका सबै वनस्पति र जीवजन्तुलाई बाँच्नका लागि पानीको आवश्यकता पर्छ । पृथ्वीको सतहको ७५ प्रतिशत भाग पानीले छोपिएको छ । पृथ्वीमा पानी नभएको भए जीवन पनि हुने थिएन होला । मानिस जन्मदा शरीरमा धेरै पानी हुन्छ । जीवनकालमा यो पानी घट्दै जान्छ र बूढो हुँदा पानी धेरै घटेर शरीर सुकेको हुन्छ । वयष्क व्यक्तिको शारीरिक तौलको ६०, बच्चाको तौलको ७५ र वृद्धको तौलको ५० प्रतिशत भाग पानीले बनेको हुन्छ ।
मान्छेको दिमाग (गिदी) र मुटुमा ७३ प्रतिशत पानी हुन्छ । यस्तै प्रकारले फोक्सोमा ८३, छालामा ६३, मांसपेशी र मिर्गौलामा ७९, रगतमा ९० र हड्डीहरुमा ३१ प्रतिशत पानीको मात्रा हुन्छ । बोसोमा पानी कम हुन्छ । यसकारण मोटो मान्छेको शरीरमा दुब्लोको भन्दा कम पानी हुन्छ ।
मानिसले प्रत्येक दिन पानी पिउनै पर्छ । किनकि शरीर सञ्चालन हुँदा पसिना, सास, पिसाब, दिसा, आँसु, सिँगान, खकार आदिका रुपमा शरीरबाट पानी बाहिर निस्किन्छ । केही नगरीकन सुतिरह्यो भने पनि २४ घण्टामा पिसाबबाट १ लिटर, पसिनाबाट आधा लिटर, सासबाट ३ सय मि।लि।, दिसाबाट २ सय मि।लि। गरी जम्मा दुई लिटर पानी शरीरबाट बाहिर निस्किन्छ । शरीर सञ्चालनका क्रममा शरीरबाट घटेको पानी पूर्ति गरिएन भने शरीर कमजोर हुँदै जान्छ र एउटा विन्दुमा पुगेपछि शरीरको मेसिन बन्द हुन्छ अर्थात् शरीर मर्छ । यो मोटरको इन्जिनजस्तै हो । पेट्रोल हाले चल्छ, सकिएपछि बन्द हुन्छ । शरीरमा पानीको सन्तुलन कायम गर्न सक्यो भने स्वस्थ र फूर्तिलो रहन सकिन्छ । थोरै पानी पिउने शरीर चाँडै बूढो हुन्छ ।
शरीरमा भएको पानी ४ प्रतिशतभन्दा बढीले घट्यो भने ‘डिहाइड्रेसन’ हुन्छ र १५ प्रतिशतभन्दा बढी घट्यो भने मृत्यु हुन सक्छ । खानाविना मानिस २–३ महिनासम्म बाँच्न सक्छ तर पानीविना १ हप्ताभन्दा बढी बाँच्न सक्दैन । पानी हाम्रो शरीरका लागि स्वासजत्तिकै महत्वपूर्ण छ । बच्चा जन्मिनेबित्तिकै पहिले स्वास लिन्छ, त्यसपछि पानी पिउँछ । मान्छे मर्दा पनि अन्त्यमा उसले स्वास फाल्छ र उसको मुखमा एक चम्चा जति पानी हालिदिने चलन छ ।
पानीको स्वाद, गन्ध, रंग, आकार केही हुँदैन, न त यसको कुनै ‘इनर्जी भ्यालु’ हुन्छ । आखिर मान्छेको शरीरलाई पानी किन चाहिन्छ रु भिटामिन, खनिज, चिल्लो, प्रोटिन, कार्बोहाइड्रेट आदि कुनै पनि पौष्टिक तत्व नभएको पानीले शरीरभित्र के त्यस्तो महत्वपूर्ण काम गर्छ रु यसै बारे चर्चा गर्न चाहन्छु ।
पानीले शरीरको तापक्रम नियन्त्रण गर्दछ । यो पानीले गर्ने मुख्यमध्येको एउटा काम हो । सामान्य अवस्थामा हाम्रो शरीरको तापक्रम सधैँ स्थिर हुनु आवश्यक छ । हाम्रो शरीरको तापक्रम ९६ देखि ९८ डिग्री फरेनहाइटसम्म हुन्छ । यो भन्दा धेरै तल–माथि भयो भने शरीरमा रोग लाग्छ । रोग नलागोस् भनी शरीरले आफ्नो तापक्रम आफैँ मिलाउँछ । यसलाई ‘अटोथर्मोरेगुलेसन’ भनिन्छ । शरीर धेरै नतातोस् र नचिसियोस् भनी शरीरभित्रको पानीले काम गर्छ । तापक्रम बढ्यो अर्थात् गर्मी भयो भने शरीरबाट पसिना निस्किन्छ । पसिनाले शरीरलाई चिसो पार्छ । धेरै गर्मी हुँदा धेरै पसिना आउँछ । यो हामी सबैले अनुभव गरेको कुरा हो । यस्तै प्रकारले चिसो भयो भने छाला चाउरी पर्छ, नसाहरु खुम्चिन्छन् र पानी शरीरबाट बाहिर निस्किँदैन । गर्मी मौसममा धेरै पानी पिउनुपर्ने र जाडोमा थोरै पिए पनि पुग्ने कारण यही हो । यस प्रकार शरीरको तापक्रम सन्तुलित राख्न पानीको ठूलो महत्व छ ।
पानीले शरीरबाट विषाक्त पदार्थलाई बाहिर निकाल्छ र शरीरलाई शुद्धीकरण गर्छ । शरीर सञ्चालनका क्रममा विषाक्त पदार्थहरु उत्पादन हुन्छन्, जुन कलेजो, मिर्गौला, आन्द्रा, छाला र फोक्सोको मद्दतबाट बाहिर निकालिन्छ । यी प्रक्रियाहरु नियमित गतिमा हुन्छन् । धेरै पानी पिएर धेरै विषाक्त पदार्थहरु बाहिर निस्कने तथ्य सही होइन । धेरै पानी पिएर मिर्गौला धेरै सफा बन्ने पनि होइन । धेरै पानी पिउँदा पिसाब धेरै सङ्लो आउँछ । यत्ति मात्र हो ।
यस्तै प्रकारले पानी धेरै पिएर आन्द्रा सफा हुने, कब्जियत नहुने भन्ने पनि होइन । शरीरलाई निश्चित मात्रामा पानी चाहिन्छ । मुटु, मिर्गौला स्वस्थ छन् भने पानी धेरै पिउँदा खासै हानि छैन तर फाइदा पनि खासै छैन । शरीरलाई जति पानी चाहिने हो त्यति नै पिए पुग्छ ।
पानीको अर्को महत्वपूर्ण काम भनेको शरीरभित्रका कोषिकाहरुमा भिटामिन र पौष्टिक तत्वहरु पुर्याउने हो । सबै थरी भिटामिन ‘बी’ र ‘सी’ पानीमा घुलिन्छन् । यी भिटामिनहरु शरीरमा पुग्न पानी नभइहुँदैन । अरु भिटामिनहरु (ए, डी, ई, के आदि) चिल्लोमा मात्र घुलिन्छन् । यिनीहरुलाई शरीरमा पुग्न चिल्लो चाहिन्छ । पानीको कमी हुँदा भिटामिन ‘बी’ र ‘सी’ को पनि कमी भई विभिन्न खतरनाक रोगहरु उत्पन्न हुन सक्छन् । यस प्रकार यो देखिन्छ कि पानी शरीर सञ्चालनको एक माध्यम हो ।
पानीको अर्को काम मुखभित्र र्याल र थुक बनाउने हो । मुखको र्यालमा रसायनहरु हुन्छन्, जसले हामीले खाएको खाना पचाउने काम गर्छ । मुखमा टुक्रिने खाना भनेको ‘कार्बोहाइड्रेट्स’ हो । पानी कम भएमा र्याल बन्दैन अनि मुख सुख्खा हुन्छ, प्यास लाग्छ । पानी धेरै पिउँदा पनि मुख सुकिराख्यो भने यो कुनै रोगको लक्षण हुन सक्छ । कुनै–कुनै औषधिको ‘साइड इफेक्ट’ ले पनि यस्तो गराउन सक्छ ।
रगत र दिमागको सञ्चालनमा पानीको धेरै ठूलो भूमिका छ । यी दुवै अङ्गमा धेरै पानी छ । शरीरमा अलिकता पानी कम या बेसी हुनेबित्तिकै रक्तसञ्चार प्रणाली र स्नायु प्रणालीले असर देखाइहाल्छ । टाउको दुख्ने, चक्कर लाग्ने, रक्तचाप घट्ने, बेहोस हुनेदेखि लिएर मृत्युसमेत हुन सक्छ । शरीरलाई ठिक्क मात्रामा पानी चाहिन्छ । थोरैले पनि हानि गर्छ र ज्यादै धेरैले पनि हानि गर्छ । ठिक्क भनेको कति हो रु अब यसबारे चर्चा गरौं ।
हामीले पिएको पानी धेरैजसो मिर्गौलाले पिसाबको रुपमा बाहिर फाल्छ । स्वस्थ मिर्गौलाको पानी छान्ने (फिल्टर गर्ने) क्षमता भनेको १ लिटर प्रतिघण्टा अर्थात् १ दिनमा २४ लिटर हो । यदि कसैले १ घण्टामा २ लिटर पानी पियो र पानी पिउँदै गयो भने शरीरमा पानीको मात्रा बढी हुन जान्छ, नूनको मात्रा समानुपातिकरुपमा घट्छ, दिमाग सुन्निन्छ र ‘वाटर इन्टोक्सिकेसन’ भई मृत्युसमेत हुन सक्छ । मिर्गौलाको क्षमताभन्दा बढी पानी पिउँदाको नतिजा ज्यादै खतरनाक हुन सक्छ । १ दिनमा २४ लिटर पानी प्रतिघण्टा १ लिटरका हिसाबले पिउँदा शरीरले धान्छ तर २४ लिटर पानी पिएर कुनै फाइदा छैन । मुटु कमजोर रहेछ भने बढी पानीले ‘हार्ट फेलिएर’ गराउन सक्छ ।
कसले कति पानी पिउने भन्ने प्रश्नको यति नै पिउने भन्ने उत्तर छैन । दैनिक आवश्यक पानीको मात्रा मान्छेको उमेर, वातावरणको तापक्रम, शारीरिक गतिविधि आदिमा निर्भर गर्छ । पानीको मात्रा सबैका लागि एकैनास हुँदैन । दैनिक ८ गिलास अथवा २ लिटर पानी पिउनुपर्छ भन्ने आमधारणा रहेको पाइन्छ । यस धारणाको पछाडि यो कारण छ कि मानिसले पसिना, पिसाब आदिबाट दैनिक २ लिटर पानी निष्कासन गर्छ । यसकारण यसको पूर्ति गर्न दैनिक २ लिटर पानी पिउनुपर्छ ।
सामान्य तापक्रम, सामान्य शारीरिक गतिविधि र वयष्कका लागि यो हिसाब ठीक छ । अर्थात् सामान्य अवस्थामा वयष्क मान्छेले दैनिक कम्तीमा २ लिटर पानी पिउनुपर्छ । अत्यधिक गर्मी मौसममा एसी, पंखा नचलाई बस्ने हो भने ५ देखि १० लिटरसम्म पनि पसिना निस्किन सक्छ, जसको पूर्ति गर्न त्यति नै मात्रामा पानी पिउनुपर्छ । यसको ८० प्रतिशत पानीका रुपमा र २० प्रतिशत फलफूल, चिया, कफी, दाल, सुप, दूध तथा अन्य खानाबाट लिँदा हुन्छ । स्वस्थ रहन कति पानी पिउने र कुन बेला पिउने भन्ने सम्बन्धमा वैज्ञानिक धारणा यस प्रकार रहेको छ :
वयष्क व्यक्तिले कम्तीमा दैनिक २ लिटर (आठ गिलास) पानी पिउनुपर्छ तर प्रतिघण्टा १ लिटरभन्दा बढीका दरले पिउनुहुँदैन । गर्मी मौसममा र धेरै शारीरिक गतिविधि गरेको बेला पसिना धेरै बग्ने हुँदा धेरै पानी पिउनुपर्छ । शरीरमा पानी कम भयो भने मुख सुक्छ, प्यास लाग्छ । यो शरीरले पानी पिऊ भनेको हो । यसकारण प्यास लाग्नेबित्तिकै प्यास मेटिने गरी पानी पिउनुपर्छ ।
मिर्गौला र मुटुरोगीहरुले धेरै पानी पिउनुहुँदैन । डाक्टरको सल्लाहअनुसार पिउने पानीको मात्रा निर्धारण गर्नुपर्छ । आफूलाई इच्छा लागेको जुनसुकै बेलामा पानी पिउँदा हुन्छ तर बिहान उठ्नेबित्तिकै आधादेखि १ लिटर, खाना खानुभन्दा आधा घण्टाअगाडि र सुत्नुभन्दा १ घण्टाअगाडि पानी पिएको राम्रो मानिन्छ । खाना खाँदा पानी धेरै नपिएको बेस हो तर थोरै पानी खानासँग पिउँदा खाना पचाउन कुनै अप्ठेरो पर्दैन । सुत्ने बेलामा पानी पिउँदा राति पिसाब फेर्न उठ्नुपर्ने हुन सक्छ र निद्रा बिग्रिन्छ । सुत्ने बेलामा खाने औषधिलाई थोरै पानीसँग सुत्नुभन्दा आधादेखि १ घण्टा अगाडि नै खाए बेस हुन्छ ।
अन्त्यमा दैनिक कति पानी पिउने भन्ने प्रश्नको उत्तर धेरैले खोज्छन् । यसको सही उत्तर दिने एउटा राम्रो फर्मुला छ– ‘पानी त्यति मात्रामा पिउनुपर्छ जति मात्रा पिउँदा पिसाब पानीजस्तै सङ्लो आउँछ । पिसाब पहेँलो छ भने पानी पुगेन भनी बुझ्नुपर्छ ।’
(साधना मासिकको २७० औँ अंकबाट साभार)
https://sadhana.newsofnepal.com/
प्रतिक्रिया