बुहारी हत्या प्रकरण : आर्थिक प्रलोभन र यौन दुर्व्यवहार कारक

0
Shares

न्युज अफ नेपाल,हेटौँडा ।

सूर्यचोककी करिब २६ वर्र्षीया सुष्मिता केसी (थापा) को हत्या प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका चार अभियुक्तलाई मकवानपुर प्रहरीले सोमबार सार्वजनिक गरेको छ । हत्यामा उनकै परिवारका सदस्यको संलग्नता रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुशीलसिंह राठौरले सोमबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिनुभएको होे ।

सुष्मितालाई ससुरा ५८ वर्षीय प्रकाश थापा, कान्छी नन्द २३ वर्षकी सीता थापा, जेठी नन्द २७ वर्षकी दुर्गा थापा र सासु ५० वर्षकी तुलसा थापा मिलेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।आर्थिक प्रलोभनका कारण परिवारकै सदस्यले सुष्मिताको हत्या गरेको अनुसन्धानबाट खुलेको हो ।
‘घटना घटेको दिन जेठी नन्द दुर्गा काठमाडौं गए पनि घटनामा उनी पनि संलग्न भएको देखिन्छ,’ प्रहरी उपरीक्षक राठौरले भन्नुभयो ।
मृतकका ससुरा र नन्द सीतालाई असार ४ गते पक्राउ गरी ज्यानसम्बन्धी कसुर मुद्धामा अनुसन्धान प्रक्रिया सुरु गरेको प्रहरीले दुर्गालाई काठमाडौंबाट र सासुलाई केही दिनपछि पक्राउ गरेको थियो ।

प्रहरीले आर्थिक, मानसिक र यौनजन्य हिंसापश्चात् सुनियोजितरुपमा परिवारबाटै हत्या भएको निष्कर्ष निकालेको छ । प्रहरीले १३ दिनको अनुसन्धानपश्चात् घटनाको टुंगो लगाएको प्रहरी उपरीक्षक राठौरले बताउनुभयो ।

घटना विवरण

असार १ गते राति करिब साढे ९ बजे मृतकका परिवारका सदस्यहरु ससुरा प्रकाश, सासु तुलसा खाना खाएर भान्छाबाट आफ्नो सुत्ने कोठातर्फ गए । खाना खानुअघि ससुराले रक्सी खाएका थिए ।मृतक सुष्मिता र नन्द सीता भने भान्छामा खाना खाइरहेका थिए । सुष्मिता महिनावारि भएकी कारण भान्छाको भुईंमा बसेर खाना खाँदै थिइन् ।

सोही समय ससुराले लौरो लिएर भान्छामा प्रवेश गरी बुहारीको टाउकोमा पछाडिबाट प्रहार गरे ।सुष्मिता भुईंमा लडिन् । त्यही मौकामा नन्द सीताले नजिकै रहेको लोहोरो प्रहार गरी उनलाई थप घाइते बनाइन् । सुष्मिताले ‘बचाऊ, बचाऊ’ भनेपछि सासु तुलासा भान्छामा पुगिन् ।

सासुलाई नन्द र ससुरा मिलेर बाहिर पठाएपछि प्रकाश र सीताले घाइते सुष्मितालाई लौरो र लोहोरोले प्रहार गरी हत्या गरे ।
सुष्मिताको मृत्युपछि प्रकाश र सीता मिलेर कोठमा फुटेका सिसाहरु, यत्रतत्र छरिएका भाँडाकुँडा मिलाए, भुईंमा लागेको रगत सफा गरे र भित्रबाट चुकुल लगाएर आफूहरु स्लाइडिङ झ्यालबाट निस्केर आत्महत्या जस्तो बनाउने प्रयास गरे ।

प्रकाशले बरण्डामा रहेको सिसाका टुक्राहरु राखेको प्लाष्टिकको झोला र काठको लौरो घर पछाडिको मकैबारीमा फ्याँके । प्रकाश र छोरी सीताले शरीरमा लागेको रगत पखाल्न नुहाएर बुबाछोरी सुते । भोलिपल्ट प्रकाश आफैंले ‘मेरी बुहारीले आत्महत्या गरिन्’ भन्दै प्रकाशले गाउँलेलाई बोलाए ।

हत्याको कारण

गत असोज २३ गते ससुरालीबाट फर्कने क्रममा मृतक सुष्मिताका पति रुपेन्द्रको नवलपरासीको दाउन्नेमा भएको मोटरसाइकल दुर्घटनामा मृत्यु भएपछि बुहारीलाई उनकै कारण मृत्यु भएको भन्दै आरोप लगाउने काम भएको थियो । २०७६ बैशाख १८ गते रुपेन्द्र र सुष्मिताबीच विवाह भएको थियो ।

मृतकका पतिको सवारीदुर्घटनाको मृत्युपश्चात् पाउने क्षतिपूर्तिबापत् रकम पाँच लाख सुष्मिताले प्राप्त गरेको र घरपक्षले हामीले पाउनुपर्छ भनेर विवाद सिर्जना गरेका थिए । रुपेन्द्रको मृत्युपश्चात् उनको बीमाबापत् आउने करिब ४० लाख, उनी कार्यरत् सीएसआई इन्टरनेसनलबाट आउने तलबभत्ता तथा बोनस ससुरा प्रकाश आफूले पाउनुपर्ने दाबी गर्दै आएका थिए ।

मृतक केसीलाई परिवारका सदस्यहरुले पति मर्नुमा उनकै दोष हो भनी पटकपटक मानसिक तनाव दिँदै आएको प्रहरीले खुलाएको छ ।

रुपेन्द्रको नाममा उनी कार्यरत् कम्पनीबाट पाउने बिमा, बोनस र तलबबापत् ३८ लाख २८ हजार रकम हकवालाको विवादका कारण हालसम्म प्राप्त नगरेको अबस्था रहेको प्रहरीले जनाएको छ ।

सामाजिक सुरक्षा कोषबाट २०७६ कार्तिकबाट २०७७ बैशाखसम्म मासिक १७ हजार १ सयका दरले सुष्मितालाई पैसा आएको थियो । तर, उक्त रकममा पनि परिवारको दाबी थियोे ।

नेसनल लाइफ इन्सुरेन्सबाट प्राप्त रकम प्रकाशले नै लिएका थिए ।प्रहरी अनुसन्धानबाट सामाजिक सुरक्षा कोषबाट १ लाख ७७ हजार ९ सय ४८ रुपियाँ मृतक सुष्मिताको खातामा अनलाइन पेमेन्ट भएको देखिन्छ ।

नेसनल लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडबाट रुपेन्द्रको बचत अमृत सावधिक जीवन बिमालेख दाबी भुक्तानीबापत् दस लाख त्रिसठ्ठी हजार नौ सय चौध रुपियाँ इच्छाइएको व्यक्ति निजकै बुबा प्रकाशले लिइसकेका थिए । सबै रकम निकालेर घरमा ससुरालाई दिनुपर्छ भन्दै घरपरिवारबाट सुष्मितालाई बारम्बार दबाब दिइँदै आएको प्रहरीले जनाएको छ ।

मृतककी पतिको निधनपश्चात् दुर्घटना बिमा, सामाजिक सुरक्षा कोष तथा कार्यरत् संस्था क्लोजर सिस्टम इन्टरनेसनलबाट करिब ५५ लाख ६० हजार तीन सय २४ रुपियाँ प्राप्त भएको रकमको विषयलाई लिएर परिवारमा कलहको अबस्था सिर्जना भएको थियो ।
मृतक सुष्मितालाई ससुराले घरको बाथरुमा यौन दुव्र्यवहारको प्रयास गरेको प्रहरीले जानकारी दिएको छ ।

परिवारका सदस्यले आर्थिक प्रलोभन र यौन दुव्र्यवहार लुकाउन सुष्मिताको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको एसपी राठौरले बताउनुभयो ।‘आफूले गरेको करणी प्रयास बाहिर आउँदा आफ्नो सामाजिक प्रतिष्ठा खेर जाने र छोराको निधनपश्चात् प्राप्त रकमको विषयलाई लिएर हत्या गरिएको देखिन्छ,’ प्रउ राठौरले भन्नुभयो ।

आत्महत्या बनाउन खोजियो

मकवानपुर प्रहरीले दिएको जानकारीअनुसार सुष्मितालाई असार १ गते बेलुका नै लठ्ठी र लोहोरोले हानेर मारिएको अनुसन्धानबाट खुलेको छ । भान्छामा बसिरहेकी सुष्मितालाई ससुरा प्रकाशले पछाडिबाट लौरोले हानेर घाइते बताएपछि कान्छी नन्द सीताले लोहोरोले हानेर मारेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सासु तुलसा थापा पनि घटनास्थलमै थिइन् । नन्द सीताले आमालाई सुत्ने कोठामा लगेर ‘घटनाका विषयमा हल्ला नगर्न’ भनिन् ।
घटनाअघि कपिलवस्तुस्थित माइती बस्दै आएकी सुष्मितालाई पतिको ६ महिनाको कामका लागि भन्दै हेटौंडा बोलाइएको थियो । सुसुरा, सासु र नन्दसँगै मृतक सुष्मिता घरमा बस्दै आएकी थिइन् ।

घटनापछि प्रहरी पुग्दा

घटनाबारे असार २ गते विहान ६ः३० बजे ‘मेरी बुहारीले आत्महत्या गरिन्’ भन्दै ससुराले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेपछि प्रहरीले माइती पक्षको समेत रोहबरमा दिउँसो करिब २ बजे घरको मुलढोका खोलेर घटनाबारे अनुसन्धान सुरु गरेको थियो ।

घटनाका विषयमा अनुसन्धान गर्न प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाको नेतृत्वमा अनुसन्धान टोली गठन गरिएको थियो । घटना अनुसन्धानमा प्रहरीले प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट तालिमप्राप्त कुकुरको पनि प्रयोग गरेको थियो । असार ४ गते हेटौंडा अस्पतालको पत्रसाथ पोष्टमार्टम रिपोर्ट प्राप्त भएपछि सुष्मिताको शव ससुरा प्रकाशले नै बुझेका थिए ।

कानुनी प्रावधान

मुलकको फौजदारी अपराधसंहिता २०७४ को दफा ४१ (क) बमोजिम क्रुरयातना दिएर ज्यान मारेको आरोपमा कसुर जीवित रहेसम्म कैद अर्थात् जन्मकैद हुने व्यबस्था रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुख एपी राठौरले बताउनुभयो ।

न्याय माग्दै हेटौंडामा

कपिलबस्तु माइती भएकी सुष्मिताको हेटौंडामा हत्या भएकोमा न्याय माग्दै कपिलबस्तु उद्योग वाणिज्य संघ अध्यक्ष उमानाथ पौडेलसहित आफन्त हेटौंडा आउनुभएको छ ।अकालमा ज्यान गुमाएकी सुष्मिताको हत्याको कारण र दोषीउपर कारबाही मागसहित बाँणगंगा नगरपालिका–८, बोडगाउँबाट आफूहरु आएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

हेटौंडामा आफ्नी चेली गुमाउँदा पीडामा परेर न्याय पाइन्छ वा पाइँदैन भन्दै हेटौंडा आइपुग्दा मकवानपुरे बुहारीका लागि न्याय माग्न उठेको आवाजका कारण पीडा सहन केही सहज भएको उहाँले बताउनुभयो ।

हत्यारालाई फाँसी माग

सुष्मिताको हत्या प्रकरणको निष्पक्ष छानबिन माग गर्दै हेटौंडाका सडकमा नागरिकले नाराबाजी गरेका छन् । हेटौंडाको मुख्य बजार बुद्धचोकबाट सुरु भएको ¥याली हेटौंडा बजार परिक्रमा गरी पुनः बुद्धचोकमै पुगेर मृतक केसीको आत्माको चिरशान्तिको कामनासहित दीप प्रज्ज्वन गरेको हो । ¥यालीमा हत्यारालाई फाँसी, सुष्मितालाई न्याय र बुहारी मार्न नपाइने नारा लगाइएको थियो ।