पाल्पामा कोरोना परीक्षण मेशीन राख्न ठाउँ अभाव, उपयुक्त स्थानको खोजी सुरु

0
Shares

न्युज अफ नेपाल, पाल्पा ।

विश्वव्यापि महामारीका रुपमा देखापरेको कोरोना भाइरसको परीक्षण गर्नका लागि पाल्पा जिल्लामा मेशिन आउने भएपछि सो मेशीन राख्नका लागि उपयुक्त स्थानको खोजी हुन थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत असार १२ गते पाल्पामा कोरोना भाइरस (कोभिड–१९)को पिसिआर नमूना परीक्षणको लागि अनुमति दिए सँगै पिसिआर मेसिन राख्ने विषयमा छलफल भएको हो । सरकारले पाल्पा अस्पताल मातहतमा रहने गरी परीक्षण गर्ने र मेशीन राख्ने स्विकृत दिए पनि त्यहा पर्याप्त जग्गा नभएकाले उपयुक्त जग्गाको विषयमा छलफल भएको हो । संघीय सांसद, प्रदेश सांसद, जिल्लाका राजनीतिक दल, जनप्रतिनिधि, स्वास्थ्य संस्थाका प्रमुखहरु बिच भएको छलफलबाट जग्गा छनोट समिति गठन गरिएको छ ।

पाल्पा जिल्ला अस्पताल व्यवस्थापन समितीका अध्यक्ष नेत्र प्रसाद पाण्डेको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिमा तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाही, बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल, रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण जिसी सदस्य र सदस्य सचिव जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपाने रहनु भएको छ ।

छलफलमा संघीय सांसद तथा पूर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डेले जिल्लामा संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै जाँदा परीक्षणका लागि पिसिआर मेसिन राख्न स्विकृत पाउनु जिल्लावासीका लागि खुसी र अवसर रहेको र सर्वपक्षीय छलफलबाट जग्गाको निक्यौल गरी प्राविधि टोलीमार्फत उपयुक्त स्थान छनोट गरिनु पर्ने वताउनु भयो ।

प्रदेश सांसद वीरबहादुर रानाले पिसिआर मेसिन सञ्चालनमा ल्याउने कुरा सबैको चासो र अवसरको विषय बनेको बताउनु भयो ।
समितीले सकेसम्म एक दुइ दिन भित्रै उपयुक्त जग्गा खोजि गरी केही दिन भित्र नै मेशीन जडान गरी परीक्षण सुरु गर्ने समितीका संयोजक नेत्रप्रसाद पाण्डेले वताउनु भयो । पाल्पामा पिसिआर मेसिन सञ्चालनमा ल्याइने भए पछि गुल्मी, पाल्पामा संकलन भएका स्वावहरु परीक्षणमा सहज हुने विश्वास लिइएको छ । अहिलेसम्म कोरोना पुष्टि र परीक्षणका लागि प्रदेश स्थित ल्याव वा अन्यत्र पठाउनु पर्ने वाध्यता रहि आएको छ ।