२३ प्रतिशत रोपाईं सकियो, मलसँगै थपियो सलहको चिन्ता

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

मनसुन शुरु भएसँगै बागमती प्रदेशमा धान रोपाईं २३ दशमलव ५ प्रतिशत सकिएको छ । रोपाईं तीव्रगतिमा भए पनि धानखेतीका लागि आबश्यक मलको भने अभाव देखिएको छ ।

बागमती प्रदेशको कृषि तथा सहकारी मन्त्रालयको तथ्यांकअनुसार प्रदेशमा एक लाख ३४ हजार दुई सय २८ हेक्टर जमिनमा धानखेती हुनेगर्छ । त्यसमध्ये हालसम्म ३१ हजार पाँच सय ६३ हेक्टरमा रोपाईं सकिएको छ । १३ जिल्लामा नै रोपाईं धमाधम भइरहेको छ ।
मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीका अनुसार रोपाईंको क्रम जारी रहे पनि कतिपय जिल्लामा मलको अभाव रहेको जानकारी आएकोले त्यसलाई पूर्ति गर्न मन्त्रालयले पहल गरिरहेको छ ।

भारतबाट ल्याइने रासायनिक मल यस वर्ष लकडाउनका कारण समयमै नआउँदा अभाव भएको अधिकारीले जानकारी गराउनुभयो । ‘हाल किसानका लागि सबभन्दा ठूलो समस्या भनेकै मल हो,’ उहाँले भन्नुभयो ।

‘नेपालमा भर्खर देखिएको सलह कीराले धानको बिरुवा नष्ट गर्छ कि भन्ने चुनौती थपिएको छ । किसानका लागि यो अर्को चिन्ताको विषय छ,’ उहाँले विश्वास दिलाउनुभयो–यसका लागि मन्त्रालयले तत्काल छलफल गरी सलह नियन्त्रणमा लागिपर्नेछ । यसका लागि समिति निर्माण हुने क्रममा रहेको अधिकारीले बताउनुभयो ।

यस वर्ष मलको माग बढेको छ । बाँझो खेतमा खेती गर्ने क्रम बढेकोले मलको माग बढेको हुनसक्ने भन्दे यसका कारण यस वर्ष धान उत्पादनमा वृद्धि हुनसक्ने सम्भावना रहेको अधिकारीले बताउनुभयो ।

प्रदेशका चितवन, सिन्धुपाल्चोक, सिन्धुली र काभ्रेमा सामूहिक खेती भइरहेका कारण यस वर्ष धान उत्पादन बढ्ने अनुमान छ । ती जिल्लामा विशेषतः राम, साबित्री, मन्सुली आदि धानको खेती हुने गरेको पाइन्छ ।

मकवानपुरमा आर्थिक वर्ष २०७६/०७७ मा वर्षे धान उत्पादनमा वृद्धि भएको थियो । अन्य वर्षको तुलनामा गत वर्र्ष धान रोप्ने बेलामा राम्रोे वर्षा हुनुका साथै रासायनिक मल पर्याप्तरुपमा उपलब्ध भएपछि धान उत्पादन वृद्धि भएको प्रदेशकी कृषि तथा सहकारी मन्त्रालय बालीविकास अधिकृत रचना देवले जानकारी गराउनुभयो ।

मकवानपुरमा आर्थिक वर्ष २०७४/०७५ मा ११ हजार चार सय क्षेत्रफल हेक्टरमा धान लगाइएकोमा ४२ हजार आठ सय ८४ मेट्रिकटन धान उत्पादन भएको देवले बताउनुभयो ।

आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस । यसलाई उल्लासमय रुपमा मनाइँदै आएको छ । यस वर्ष कोरोना महामारीको असरलाई ध्यानमा राख्दै सांकेतिकरुपमा दिवस मनाउन लागिएको सूचना अधिकारी अधिकारीले जानकारी गराउनुभयो ।

उहाँका अनुसार मन्त्रालय, कृषि ज्ञानकेन्द्र चितवन, माडी नगरपालिकाको आयोजनामा माडी नगरपालिकाको सामूहिक खेती भइरहेको एकसय बिगाहामा धान दिवस मनाउन लागिएको हो । ‘धेरै मानिस उपस्थित नभएर, स्वास्थ्यका मापदण्ड पालना गरी भौतिक दुरीलाई समेत ख्याल गरेर रोपाईं दिवस मनाउने तयारी गरिएको छ,’ उहाँले भन्नुभयो । यस वर्षको धान रोपार्इं साउन पहिलो साता सकिने मन्त्रालयको अनु्मान छ ।