‘नेपाल भारत सीमा क्षेत्रमा ५ मिटर अग्लो पर्खाल लगाऔं’


काठमाडौं, (नेस)

नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले नेपाल–भारत खुला सिमानाका कारण नेपालको भूमि अतिक्रमण हुने क्रम बढ्दै गएकाले सिमानामा पाँच मिटर अग्लो पर्खाल लगाउनुपर्ने बताउनुभएको छ ।

उहाँले भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नयाँ नक्सा जारी गर्नु ऐतिहासिक कदम भएको बताउँदै अब सिमानामा पर्खाल लगाउनुपर्ने बताउनुभएको हो ।

उपाध्यक्ष गौतमले सिंगो राष्ट्रलाई एकताबद्ध गरी अतिक्रमित भूमिसहितको नेपालको नयाँ नक्सा जारी गरेर यो संघर्षमा ९९ प्रतिशत विजय हासिल भएको र भारतीय सेना नेपाली भूमिबाट हट्नासाथ नेपालले शतप्रतिशत विजय हासिल गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘महाकाली नदीको एकीकृत विकाससम्बन्धी सन्धि राष्ट्रघाती छ भनेर संयोजकों ह्विप उल्लंघन गरेको आरोपमा ‘म सहितका १६ जना एमालेका शीर्षस्थ नेताहरूलाई पार्टीबाट अन्यायपूर्वक निष्कासन गरिएको थियो ।’

पार्टीविरोधी भनेर हामीलाई लगाइएको आरोपसहित पार्टीबाट निस्कासन गर्ने त्यस बेलाको एमालेले गरेको निर्णय गलत थियो भनेर अहिले निर्णय गर्नुपर्ने गौतमले बताउनुभयो ।