असारमै बन्यो तम्घासको ह्वाक्ने छहरा

0
Shares

अनिल खत्री, गुल्मी ।

अविरल वर्षासँगै गुल्मीको तम्घासनजिकै रहेको ह्वाक्ने छहरामा पानीको सतह बढेपछि सुन्दर दृश्य बनेको छ । यस वर्ष लगातारको पानीले मूलहरू फुटेसँगै असारको पहिलो साताबाटै छहराले स्वारूप परिर्वतन गरेको हो ।

अघिल्ला वर्षामा भदौ/असोजमा मात्रै ठूलो पानी परे छहरा बग्न शुरू गर्दथ्यो । सदरमुकाम तम्घासनजिकै रेसुङ्गा नगरपालिका–१० मा पर्ने छहरामा पर्याप्त मात्रामा पानी नपर्दा सुख्खा थियो ।

२०७२ सालमा गएको भूकम्पपछि सुकेका कुवा–पधेराहरू पनि रसाउन थालेका छन् । पछिल्ला केही वर्षयता बर्खामा पनि औषत पानी नपर्नाले पनि मूलहरू सुक्दै जाने गरेका थिए ।

मूल सुक्न थालेपछि तम्घासमै कतिपय स्थानमा खानेपानीको समस्या भएपछि बोरिङ गरेर पानीसमेत निकालिएको थियो । तर, यस वर्ष धेरैजसो स्थानमा असारमै मूल बग्न थालेका छन् ।

लामो दूरीबाट बग्ने ह्वाक्ने छहरा तम्घास–रिडी सडकनजिकै रहेकाले पनि धेरैको नजरमा पर्दछ । छहरामा पानी बढेपछि सुन्दर दृश्य बनेको छ । छहरामा फोटो खिचाउन तथा दृश्य हेर्न तम्घासबाट स्थानीय पुग्ने गरेका छन् । छहरामा पानी बग्न थालेपछि रामाइलो र सुन्दर दृश्य बनेको त्यहाँ पुग्नेहरू बताउँछन् ।