शव व्यवस्थापनमा संलग्न सुरक्षाकर्मीमा कोरोना पुष्टि

0
Shares

पाल्पा, (नेस) ।

पाल्पामा शव व्यवस्थापन कार्यमा संलग्न र आरडीटी परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि घर गएका व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमणले ज्यान गुमाएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका २ जना सुरक्षाकर्मी र १४ दिन क्वारेन्टाइनमा बसेर आरडीटी परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि घर गएका ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

प्रदेश प्रयोगशाला भैरहवामा शुक्रबार कोेरोना संक्रमणको पुष्टि भएका पाल्पाका ७७ जनामध्ये शव व्यवस्थापनमा खटिएका नेपाली सेनाका ३३ र ३४ वर्षका २ सुरक्षाकर्मीसमेत रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

भारतबाट घर फर्किएका पूर्वखोला गाउँपालिकाको सिलुवाका ३६ वर्षीय एक पुरुषको गत जेठ २० गते उपचारका क्रममा तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा ज्यान गएको थियो । ज्यान गुमाएका ती पुरुषमा कोरोना संक्रमणको पुष्टि भएपछि २२ गते पाल्पा–बुटवल सडक खण्डको डुम्रेखोलामा शव व्यवस्थापन गरिएको थियो ।

सोही शव व्यवस्थापनको क्रियाकलापमा प्रत्यक्षरूपमा संलग्न भएका सुरक्षाकर्मीमा कोरोना संक्रमणको पुष्टि भएको हो । यद्यपि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको शव व्यवस्थापन कार्यविधिअनुसार नै नेपाली सेनाले शव व्यवस्थापन गरेको थियो ।
सडकदेखि शव व्यवस्थापनस्थलमा पु¥याउने क्रममा अत्यधिक पानी परेको, मृतकको र्‍याल चुहिएको जस्ता कारणले समस्या आएको हुन सक्ने स्वास्थ्य कार्यालय पाल्पाले आशंका गरेको छ ।

शव व्यवस्थापनदेखि नै व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई आइसोलेसनमा राखिएकाले सबै सुरक्षित रहेको तानसेनस्थित गोरखदल गणका गणपति मेजर मनोज डंगोलको भनाइ छ ।

त्यसै गरी जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले पनि शव व्यवस्थापनलगत्तै उनीहरूलाई आइसोलेसनमा राखिएकाले समुदाय सुरक्षित रहेको र चिन्ता लिनुपर्ने अवस्था नभएको बताउनुभयो ।

मिसन अस्पतालका डाक्टरकै निगरानीमा उनीहरूलाई आइसोलेसनमा सुरक्षित राखिएको र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको गणले जनाएको छ ।