वर्षेनी घट्नुको साटो बढ्दै बालविवाह

0
Shares

नेपाल समाचारपत्र, डोटी । 

डोटीमा वर्षेनी बालविवाह बढ्दै गइरहेको पाइएको छ । बालविवाह रोक्नका लागि यहाँका स्थानीय तहले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आए पनि जिल्लामा पछिल्लो समय बालविवाह घट्नुको साटो बढ्दै गएको पाइएको हो ।

‘बालविवाह र बालश्रम अन्त्यका लागि हामीले विभिन्न काम गर्दै आएका छौं, बालश्रम राख्ने र बालविवाह गर्नेलाई कानुनी दायरामा ल्याएरै छोड्छौं ।’ –दिपायल सिलगढी नगरपालिकाका नगर उपप्रमुख शिवराज खड्काले भन्नुभयो ।

स्थानीय तहले बालविवाह न्यूनीकरणका लागि स्थानीय तहले वर्षेनी लाखौं रकम खर्च गरे पनि बालविवाह रोक्न सकेको छैन । बालविवाह गरेकै कारण कयौं डोटेली चेलीले अकालमै ज्यान गुमाइसकेका छन् । पछिल्लो समय बालविवाहले जिल्लामा वर्षेनी विकराल रूप लिन थालेको छ । पुण्य कमाउने नाममा जिल्लामा वर्षेनी बालविवाह हुने गरेको पाइन्छ ।

दिपायल सिलगढी नगरपालिका–८ लडागडामा मात्रै गएको तीन वर्षको अवधिमा १ सय ६३ वटा बालविवाह भएको एक संस्थाको तथ्यांकले देखाएको छ ।

लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको सामुदायिक विकास केन्द्र (सीडीसी) डोटी नामक गैरसरकारी संस्थाले तीन वर्षदेखि गरेको सर्वेक्षणअनुसार यति ठूलो सङ्ख्यामा बालविवाह भएको पाइएको हो ।

उक्त संस्थाले सार्वजनिक गरेको तथ्यांकमा २०७३ मा ३८, २०७४ मा ५६ र २०७५ सालमा ६९ जनाको बालविवाह भएको छ । त्यस्तै २०७३ वैशाखदेखि हालसम्म १ सय ३३ जना बालिका र २७ जना बालकको बालविवाह भएको सो संस्थाका सामुदायिक विकास परियोजना जिल्ला संयोजक एकराज बडुले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘विवाह गर्ने १४ देखि १९ वर्षका धेरै छन्, केहीले लहैलहैमा लागेर त केहीले पुण्य कमाउने नाममा बालविवाह गरेको देखिन्छ । बालविवाह समाज क्षेत्र वा जाति विशेषभन्दा पनि सबैमा समान रहेको पाइएको छ । यसरी पुण्यका नाममा बालविवाह गर्नेमा जनजाति ५, दलित ६०, क्षेत्री समुदायमा ९८ जना रहेको उक्त संस्थाले गरेको अनुसन्धानमा देखिएको छ । ’

मुख्यतया बालविवाह परिवारको दबाब, मोबाइल तथा इन्टरनेटको प्रयोग, लहैलहैमा, गरिबी, राम्रो घर–परिवार पाउँदा, चाँडो बिहे गर्ने मान्यता, मेला पर्वबाट भागेर जाने, भविष्य राम्रो हुने आशामा हुने गरेको पाइएको छ ।

उक्त वडामा हालसम्म परिवारको दबाबले ३१ जना, मोबाइल तथा इन्टरनेटको प्रयोगले ३३, गरिब १ जना, राम्रो घर–परिवार पाउँदा ७ जना, चाँडो बिहे गर्ने मान्यतामा ५ जना, मेला पर्वबाट भागेर १ जना, भविष्य राम्रो हुने आशामा १ जना तथा अन्य ८० गरी १ सय ६३ जनाको बालविवाह भएको पाइएको जिल्ला संयोजक बडुले जानकारी दिनुभयो ।