पाल्पामा शव व्यवस्थापनमा संलग्न २ सुरक्षाकर्मीसहित ४ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल, पाल्पा ।

पाल्पामा शव व्यवस्थापन कार्यमा संलग्न र आरडिटि परिक्षणमा नेगेटिभ रिपोर्ट आएपछि घर गएका व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमणले ज्यान गुमाएका ब्यक्तिको शव ब्यवस्थापनमा खटिएका २ जना सुरक्षाकर्मी र १४ दिन क्वारेन्टिनमा बसेर आरडिटि परिक्षणमा नेगेटिभ रिपोर्ट आएपछि घर गएका ४ जनामा कोरोना कोरोना संक्रमणको पुष्टि भएको हो ।

प्रदेश प्रयोगशाला भैरहवामा शुक्रबार कोेरोना संक्रमणको पुष्टि भएका पाल्पाका ७७ जना मध्ये शब ब्यवस्थापनमा खटिएका नेपाली सेनाका ३३ र ३४ वर्षका २ सुरक्षा कर्मी समेत रहेको स्वास्थ्य कार्यालय, पाल्पाले जनाएको छ । भारतबाट घर फकिएका पूर्बखोला गाउँपालिका, सिलुवाका ३६ बर्षिय एक पुरुषको गत जेठ २० गते उपचारका क्रममा तानसेन स्थित युनाइटेड मिशन अस्पतालमा ज्यान गएको थियो ।

ज्यान गुमाएका ति पुरुषमा कोरोना संक्रमणको पुष्टि भएपछि २२ गते पाल्पा बुटवल सडक खण्डको डुम्रेखोलामा शब ब्यवस्थापन गरिएको थियो ।

सोही शव व्यवस्थापनको क्रियाकलापहरुमा प्रत्यक्ष रुपमा संलग्न भएका सुरक्षाकर्मीमा कोरोना संक्रमणको पुष्टी भएको हो । यद्यपि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको शव व्यवस्थापन कार्यविधि अनुसार नै नेपाली सेनाले शब ब्यवस्थापन गरेको थियो । सडक देखि शव ब्यवस्थापन स्थलमा पुर्याउने क्रममा अत्यधिक पानी परेको, मृतकको र्‍याल चुहिएको जस्ता कारणले समस्या आएको हुन सक्ने स्वास्थ्य कार्यालय, पाल्पाले आशंका गरेको छ ।

शव व्यवस्थापन देखि नै ब्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई आइशोलेशनमा राखिएकाले सबै सुरक्षित रहेको तानसेन स्थित गोरखदल गणका गणपति मेजर मनोज डंगोलको भनाइ छ ।

त्यसैगरी जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी ओमप्रकाश पन्थीले पनि शव व्यवस्थापन पछि नै उनीहरुलाई आइसोलेशनमा राखिएकोले समुदाय सुरक्षित रहेको र चिन्ता लिनुपर्ने अवस्था नभएको वताउनु भयो । मिशन अस्पतालका डाक्टरकै निगरानीमा उनीहरुलाइ आइसोलेशनमा सुरक्षित राखिएको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको गणले जनाएको छ ।

त्यसैगरी चिदीपानीका चार जना १४ दिन क्वारेन्टिनमा बसेर आरडिटि परिक्षणमा नेगेटिभ रिपोर्ट आएपछि घर गएकामा कोरोना संक्रमणको पुष्टि भएको छ । उनीहरुमा कोरोना पुष्टि ३ दिन अघि भएको हो । माथागढी गाउँपालिका १ चिदिपानीको क्वारेन्टिनमा बसेर आरडिटि परिक्षणमा नेगेटिभ रिपोर्ट आएपछि घर पठाइएका पुरुष, वडा नम्बर २ रुप्सेका एक पुरुष र वडा नम्बर ७ रहवासका २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य संयोजक केशव जिसिले जानकारी दिनुभयो । क्वारेन्टिनको अवधी पुरा गरि आरडिटि परिक्षणमा समेत नेगेटिभ रिपोर्ट आएको भन्दै उनीहरु घाँसपात र मेलापातमा समेत गएको स्थानीयले जनाएका छन् ।

भारतबाट आएका सबैको पिसिआर परिक्षण गर्ने पालिकाको निर्णय अनुसार गरिएको परिक्षणमा ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । घर पठाएकामा समेत संक्रमण पुष्टि भएपछि सक्र्रमितसँग सम्पर्कमा आएका व्यक्तिहरूको खोजी गर्ने कार्य भईरहेको स्वास्थ्य संयोजक जिसीले जानकारी दिनुभयो । सो गाउपालिका भित्रका २३६ जना भारतबाट आएका थिए भने पहिले आरडिटी गरि नेगेटिभ आएमा घर पठाउने गरिएकोमा त्यसपछाडि भने भारतबाट आएका सवैको पिसिआर परिक्षण गरिएको माथागढी गाउँपालिकाले जनाएको छ ।

त्यसेैगरी पाल्पामा शुक्रबार ७७ जना थपिएका छन । यो संगै पाल्पामा कोरोना संक्रमितको संख्या ४ सय ४६ पुगेको छ । दुइ नगरपालिका र आठ गाउपालिका रहेको पाल्पामा यहाका सवै १० वटा स्थानिय तहमै कोरोना संक्रमित देखिएका छन । जस मध्ये १६ जना निको भएर अस्पतालबाट घर फर्किएका छन् ।